+
+

बजेटले कस्तो प्रभाव पार्ला सेयर बजार ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १०:०३

१६ जेठ, काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछि सेयर बजारमा कस्तो प्रभाव देखिएला भन्ने खुल्दुली सम्बद्ध कारोबारी/लगानीकर्तामा  छ ।

बजेटले खासगरी धितोपत्र बजारका धेरै विषय नसमेटे पनि नकारात्मक प्रभाव पार्नेगरी करका दरहरु चलाएन । जसलाई सेयर लगानीकर्ताले सबैभन्दा सकारात्मक पक्षका रुपमा हेरेका छन् ।

गत आर्थिक वर्षको आर्थिक विधेयकको २९ नम्बर बुँदामा प्राकृतिक व्यक्तिले व्यवसायिक रुपमा धितोपत्र कारोबार गर्ने गरेको भएमा आयकर ऐनबमोजिम कर लाग्नेगरी व्यवस्था गरिएको थियो । जुन व्यवस्थाले बजेटपछि केही दिनसम्मै सेयर बजारलाई नकारात्मक असर पारेको थियो ।

पहिले नै पूँजीगत लाभकर तिरिसकेकालाई फेरि आयकर ऐनअनुरुप कर लिन खोजेको भन्दै लगानीकर्ताले तीव्र विरोध जनाए । विरोधपछि अर्थ मन्त्रालयले पूँजीगत लाभकर नै अन्तिम कर भनी प्रष्ट पार्‍यो र आर्थिक विधेयकको सो बुँदा कार्यान्वयन भएन ।

मन्त्रालयको त्यहीं प्रष्टिकरणलाई कानुनी व्यवस्थाकै रुपमा उल्लेख गर्नुपर्ने माग लगानीकर्ताको थियो । हाल पूँजीगत लाभकरलाई अग्रिम कर कट्टिका रुपमा व्याख्या गरिँदै आएको छ ।

सेयर कारोबारलाई व्यसाय बनाएका व्यक्तिलाई आयकर बमोजिम नै कर लाग्ने विषय आर्थिक विधेयकमा समेटिने हल्ला बजारमा चलेको थियो । यसले बजेटअघिका दुई दिनको बजार प्रभावित बनेको थियो ।

बजारलाई आयकरसँग जोड्ने विषय बजेटमा नसमेटिएपछि यसले बुधबार खुल्ने बजारलाई सकारात्मक टेवा पुग्ने लगानीकर्ताको अनुमान छ । ‘नराम्रो विषय नसमेटिनु नै बजारको लागि राम्रो हो’ लगानीकर्ता तिलक कोइरालाले भने । लगानीकर्ताका अनुसार पूँजीगत लाभकर नै अन्तिम करकट्टि भनेर बजेटमा ब्याख्या गरिदिएको भएमा त्यो सकारात्मक हुने थियो ।

धितोपत्र बोर्ड र लगानीकर्ताले हाल धितोपत्र कारोबारमा व्यक्तिले तिर्दै आएको पूँजीगत लाभकर घटाउन सुझाव दिएका थिए । यो व्यवस्थालाई पनि बजेटमा सम्बोधन गरिएन। अर्थात हाल कायम रहेकै पूँजीगत लाभकर यथावत राखियो ।

हाल दीर्घकालीन लगानीकर्ता (१ वर्षमाथि होल्ड गरेका)लाई सेयर बेचेपछि नाफामा ५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएकोमा त्यसलाई ३ प्रतिशतमा झार्न बोर्डले सुझाव दिएको थियो । अल्पकालीन लगानीकर्ता (१ वर्षभन्दा कम अवधि होल्ड गरेका)लाई हाल कायम रहेको साढे ७ प्रतिशतको सीमालाई ५ मा झार्न सुझाव दिइएको थियो ।

यो विषयलाई बजेटमा नचलाइए पनि बजारलाई सकारात्मक प्रभाव पार्ने आँकलन लगानीकर्ताको छ । धितोपत्र कारोबारमा नेपालमा लाग्ने गरेको पूँजीगत लाभकर भारतसहित अन्य मुलुकहरुको तुलनामा न्यून हो । जसले गर्दा लगानीकर्ताको हौसलालाई कायमै राख्ने छ ।

नेप्से र सीडीएससीको पुर्नसंरचना गर्ने विषय बजेटमा परेको छ । यो भाषाले बजारलाई अहिले नै खास प्रभाव नपर्ने अर्का लगानीकर्ता पिताम्बर खकुरेल बताउँछन् ।
वैदेशिक रणनीतिक साझेदार भित्र्याएर हालको बजारलाई अझ आधुनिक प्रविधियुक्त, थप औजारको कारोबार गर्न सक्ने व्यवस्था मिलाउनेगरी नेप्सेको पुनर्संरचना गरिनुपर्ने विषय पहिलेदेखि नै उठ्दै आएको हो ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने विषय बजेटमा उल्लेख छ । तर पूँजीको सीमा तोकिएको छैन । यो पनि तत्कालै कार्यान्वयन हुनेमा शंका छ । यसले पनि हाल बजारलाई त्यति धेरै प्रभाव नपार्ने खरेलको अनुमान छ । तर समग्रमा बढ्दो लयमा देखिएको बजारलाई बजेटले सकारात्मक नै बनाउने लगानीकर्ताको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?