+
+

किम्फ आजदेखि, दुई फिल्मको वर्ल्ड र दुईको एसिया प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १३:००

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करण आजदेखि सुरु हुँदैछ । अपरान्हदेखि राष्ट्रिय सभागृहमा सुरु हुने फेस्टिभलमा सहभागी हुन १५ भन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा छन् ।

विश्व सगरमाथा दिवसको अवसरमा सुरु हुन लागेको फेस्टिभलमा इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियर हुँदैछ ।

बुधबार नै देवेन्द्र खत्रीको ४३ मिनेट लामो फिल्म ‘नेपाली फिक्सन’को वर्ल्ड प्रिमियर हुनेछ । सचिन राना निर्देशित ३२ मिनेटको फिल्म ‘कुलैं तौल कुछ नि जमदु’को भारतीय फिल्मको एसिया प्रिमियर हुनेछ ।

आजै बेलुका नेपाल र नेदरल्यान्ड्सका निर्माताको संयुक्त लगानीको ९८ मिनेट लामो र एनिग्री बोसम्यान निर्देशित फिल्म ‘इन टु द हार्ट अफ द माउन्टेन’को वर्ल्ड प्रिमियर हुनेछ । फेस्टिभलमा स्क्रिनिङ हुने ६० फिल्ममध्ये ४० फिल्मको निर्माण महिलाले गरेका हुन् ।

यो संस्करणमा २२ देशका ६० भन्दा बढी फिल्म स्क्रिनिङ हुनेछन् । पहिलोपटक गर्मीयाममा किम्फ आयोजना गरिएको हो । दिन लामो हुने र दर्शकलाई सहज पनि हुने भएकाले गृष्मयाममा फेस्टिभल गरिएको आयोजक किम्फ फाउण्डेसनका सदस्य शेखर खरेलले जनाए ।

२० जेठसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फेस्टिभल आयोजना हुँदैछ । यस वर्षको किम्फको नारा ‘इकोज अफ चेन्ज’ राखिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् ।

फेस्टिभलको मुख्य आकर्षणको रुपमा ‘बाइ दोज हु व्हेयर देअर १९२१, १९२२, १९२२, १९२४’ शीर्षकमा फिल्मसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ फोटो तथा कथानकको प्रदर्शनी हुनेछ ।

नेपाल-कोरिया मित्रताको ५० औं वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्किने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्मको विशेष प्रदर्शन हुनेछ ।

निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र,  सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनोट गर्नेछ ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १५ सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

महोत्सवमा ‘माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ शीर्षकको छलफल र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफल आयोजना हुनेछ ।

तीन सदस्यीय जुरी प्यानलमा मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), बेलायती डकुमेन्ट्रीमेकर तथा फोटोग्राफर डिना मुफ्ती र दृश्य सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्याण्ड) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?