+
+

साङ्ला कसरी विश्वभर फैलियो ?

अध्ययनका लागि अनुसन्धानकर्ताहरूले ६ महादेशका १७ मुलुकबाट २८० साङ्ला जम्मा पारेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १३:३५

१६ जेठ, काठमाडौं । खाटको घर्रा होस् वा दराजको । भान्साको चेप होस् वा बाथरूमको, साङ्ला हामीले देखिरहेका हुन्छौँ । ६ खुट्टे यस किरालाई जति नै पिटे पनि हत्तपत्त मर्दैन ।

किटनाशक छर्किएर मारे पनि एक दुई दिनपछि फेरि उही संख्यामा देखिन थाल्छ । घरका कुनाकुना कब्जा गरेका साङ्लाको उत्पत्ति कहाँबाट भयो र विश्वभर कसरी फैलियो त ? अनुसन्धानकर्ताहरूले यसबारे रोचक तथ्य फेला पारेका छन् ।

हालै प्रकाशित भएको एक अध्ययनले साङ्लोको उत्पत्ति भारत र म्यानमारबाट भएको र यो बिस्तारै अन्यत्र विस्तार भएको देखाएको छ । साङ्लाको आनुवंशिकीको माध्यबाट यसको अध्ययन गरिएको हो ।

यसले दक्षिण पूर्वी एसिया हुँदै युरोप र अन्य महादेशमा साङ्लो कसरी पुग्यो भनेर हजार वर्षको इतिहास खोतलेको छ । अध्ययनका अनुसार अन्य कुनै प्रजाति वा मानिससँगै यात्रा गरेर साङ्लो विश्वभर फैलिएको हो ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरूले ६ महादेशका १७ मुलुकबाट २८० साङ्ला जम्मा पारेका थिए । उनीहरूका अनुसार हाल विश्वभर फैलिएको साङलो जर्मन प्रजातिको हो । यसको उत्पत्ति भने दक्षिणपूर्वी एसियामा २१०० वर्ष पहिले भएको अनुसन्धानकर्ताहरूको जिकिर छ ।

बेलोर कलेज अफ मेडिसिनमा किराको आनुवंशिकी अध्ययन गर्ने प्राध्यापक स्टेफन रिचर्डले एपीसँग भनेका छन्, ‘यो अनुसन्धान एक किरासँग मात्रै सम्बन्धित छैन । किरा र मानवसँग पनि सम्बन्धित छ ।’

साङ्ला दुई रूटबाट विश्वभर फैलिएको देखिएको छ । पश्चिम एसियाबाट पश्चिमा मुलुकमा १२ सय वर्षअघि साङ्लो पुगेको देखिन्छ । रोटीको टोकरीबाट पश्चिम मुलुकमा साङ्लो पुगेको अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसपछि २७० वर्षअघि युरोप पुग्ने ब्रिटिस इस्ट इन्डिया कम्पनीका सैनिकबाट साङ्लो युरोप छिरेको अुसन्धानकर्ताहरूको जिकिर छ ।

हाल विश्वभर पाइने साझा प्रजातिको जर्मन साङ्लोको उत्पत्ति म्यानमार वा भारतबाट भएको अुसन्धानकर्ताहरू बताउँछन् । त्यहीँबाट अन्यत्र सरेको उनीहरूको भनाइ छ ।

जर्मन प्रजातिका साङ्लो सबैभन्दा घातक मानिन्छ । यो बढी न्यानो वा सेपिलो स्थानमा पाइन्छ । बाथरूम र भान्सामा यो प्रजातिका साङ्ला बढी हुन्छन् । यसले मानिसलाई स्यालमोनेला वा इ-कोली जस्ता रोग संक्रमण गराउँछ । ‘जर्मन साङ्लोको उत्पत्ति अलि रहस्यमय छ,’ अनुसन्धानकर्ता भन्छन् ।

ऐतिहासिक तथ्य हेर्ने हो भने साङ्लो १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुवाततिर युरोपमा बढी फैलिएको थियो । त्यो साङ्लो अहिले अफ्रिका र एसियामा बढी देखिने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

जर्मन साङ्लो एसियासँग जोडिन्छ । बे अफ बेंगल क्षेत्रलाई यसको उत्पत्ति मानिएको छ । यो प्रजाति भारत र म्यानमारबाट पश्चिमा मुलुकतर्फ १२ सय वर्षअघि पुगेको देखिए पनि जर्मनीमा भने २५० वर्षअघि पुगेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

२०औँ शताब्दीबाट यसको फैलावट बढेको अध्ययनले देखाएको छ । सवारीसाधन र कोठामा प्रयोग गरिने हिटर तथा घरमा जडान गरिएका पाइपले यसको फैलावटमा थप सहयोग पुर्‍याएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?