+
+

मलेखुदेखि मनहरीसम्म सडक छिचोलियो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १३:३६

१६ जेठ, हेटौंडा । धादिङको मलेखुबाट मकवानपुरको पश्चिमी क्षेत्र मनहरी बजारसम्मको सडक ट्रयाक निर्माण पूरा भएको छ । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा मनहरीबाट मलेखु पुग्ने सडकको ट्रयाक खोलिएको हो ।

भर्खरै ट्र्याक खुलेको यो सडक मार्ग हुँदै मलेखुदेखि मनहरीसम्म साढे ३ घण्टामा पुगिने स्थानीय युवाहरुको भनाइ छ । हाल मलेखुबाट मुग्लिन–नारायणगढ हुँदै मनहरी आइपुग्न ५ घण्टा लाग्छ ।

राक्सिराङको दुङ्गु–गार्खा–रतुवा खण्ड छिचोलिएसँगै सडकको ट्रयाक निर्माण पूरा भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उनका अनुसार खोलाको अस्थायी बाटो हुँदै केही वर्षअघिदेखि नै मनहरी–मलेखु सडकमा साना सवारी साधन  आवतजावत गर्न थालिसकेका थिए । अब खोलाको बाटोबिनै मनहरीबाट मलेखु पुग्न सकिने उनी बताउँछन् ।

गार्खा-रतुवा खण्डको ट्रयाक पूरा गर्नको लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । यस क्षेत्रमा कडा चट्टान रहेका कारण निर्माण कम्पनीले काम गर्न नसकेको उनले बताए ।

निर्माण कम्पनीमार्फत् काम नभएपछि चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले दुंगुबाट गार्खा र गार्खाबाट रतुवासम्म २ खण्ड बनाएर उपभोक्ता समितिमार्फत् काम गराएको थियो ।

दुई खण्डमा ८० लाख रुपैयाँ खर्चिएर यसवर्ष ट्रयाक निर्माण पूरा गरिएको राक्सिराङका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । मनहरीदेखि मलेखुको दूरी ५२ किलोमिटर रहेको छ । पक्की पुल नहुँदा वर्षायाममा भने समस्या हुने चिन्ता रहेको उनको छ ।

गाउँपालिका अध्यक्ष मल्ल भन्छन्, ‘ वर्षातमा खोलामा पानीको सतह बढ्ने हुनाले यातायात अवरुद्ध हुन सक्छ । सडकको स्तरोन्नति र दुई ठाउँमा पक्की पुल निर्माण गर्नसके वर्षायाममा पनि मनहरी-मलेखु आवतजावत गर्न कुनै समय हुँदैन।’

दुङ्गु खोला र घोर्कोटेमा पुल बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । पक्की पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गरिएको उनले बताए ।

मनहरी–मलेखु सडक निर्माण भएर नियमित सञ्चालन भएमा राक्सिराङ र कैलाश गाउँपालिकाका नागरिकको जीवनस्तर माथि उठ्ने अपेक्षा गरिएको छ ।

संघीय संरचनामा जानुपूर्व सडक निर्माण शून्य अवस्थामा रहेको विकट राक्सिराङ गाउँपालिकाले बितेको ६ वर्षयता टोलटोलसम्म सडक विस्तार गरिसकेको छ । मनहरी बजारबाट गाउँपालिका केन्द्र चैनपुरसम्म ६ किलोमिटर सडक कालोपत्रे भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?