+

विस्तृतमा बुझौं, बाथरोग के हो ?

२०८१ जेठ  १६ गते १७:५९ २०८१ जेठ १६ गते १७:५९
विस्तृतमा बुझौं, बाथरोग के हो ?

बाथरोग एक प्रकारको अटोइम्युन डिजिज (रोग) हो । अटोइम्युनिटी भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ, जसकारण बाथरोग देखापर्छ । यसलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ ।

यसमा शरीरका जोर्नीहरू दुख्ने वा सुन्निनेजस्ता लक्षण देखापर्छ । साथै कम्मर दुख्ने, ढाड दुख्ने, हातका औंला दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हातखुट्टा अररो हुने, गोलीगाँठो दुख्ने वा सुनिने, ढाड दुख्ने वा अररो हुने, बिहान ढाड कडा हुने, पिंडौला दुख्ने वा करकर खाने, खुट्टाका बुढी औंला र औंला वरिपरि रातो भएर टेक्न असजिलो हुने, कुर्कुचा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने, हात, खुट्टा वा जीउ अररो हुने, घुँडा सुनिने वा दुख्नेजस्ता लक्षण देखापर्छ ।

यसले क्रमशः अन्य अंगमा पनि असर गर्छ । त्यसैले बाथ कुनै एक मात्रै रोग नभई विभिन्न प्रकारका रोगहरुको संकलन हो ।

बाथरोग के कारणले लाग्छ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेको छैन । तर वंशाणुगत, ब्याक्टेरिया, वातावरणीय प्रदूषण जस्ता कारणले बाथरोग लाग्ने गरेको पाइन्छ । बाथरोग लाग्ने विभिन्न कारणमध्ये शरीरमा रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा पनि लाग्छ, जुन शरीरमा विभिन्न प्रकारका संक्रमणको कारणले हुने गर्छ । बाथरोगको लक्षण बाथले असर गरेको अंग अनुसार फरक-फरक हुन्छ । लक्षण र कुन प्रकारको एन्टिबडी रगतमा देखिन्छ, त्यसका आधारमा यो रोगको वर्गीकरण गरिन्छ ।

बाथरोग २०० भन्दा बढी प्रकारका हुन्छन् । केही प्रमुख बाथरोग यसप्रकार छन् ।

ओस्टियो आर्थ्राइटिस (जोर्नी खिइने बाथ)

ओस्टियो आर्थ्राइटिस विशेषगरी उमेर बढ्दै जाँदा जोर्नी तथा हड्डी खिइँदा लाग्ने गर्छ । उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा ओस्टियो आर्थ्राइटिस हुन्छ । तर नवजात शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्मलाई यो रोग लाग्न सक्छ । यस किसिमको बाथले घुँडा, गर्दन, कम्मरको मेरुदण्ड, खुट्टाको बूढीऔंलाको फेद, हातका औंला तथा जोर्नीमा असर पार्छ । तर यसले शरीरका अन्य अंगमा कुनै किसिमको हानि नोक्सानी गर्दैन ।

यसमा मुख्यतया घुँडा, गर्दन तथा कम्मरको मेरुदण्ड, हात तथा गोडाका बूढीऔंलाका फेद, हातका औंला जोर्नी दुखाइ हुन्छ । हिंडडुल गर्दा घुँडा, औंला, घाँटी र ढाड दुख्नेजस्ता लक्षण देखापर्छ । उमेर, मोटोपन तथा क्याल्सियम, भिटामिन डी, थाइराइड आदिको कमीले पनि हड्डी खिइने बाथ गराउँछ ।

गाउट (युरिक एसिडजन्य बाथ)

रगतमा युरिक एसिडको मात्रा बढ्दा गाउट अर्थात् युरिक एसिडको बाथ हुन्छ । युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । प्रोटिनयुक्त खानेकुराको पाचनपछि युरिक एसिड उत्पादन हुन्छ । यसमा प्रायजसो खुट्टाको बूढीऔंला वरपर दुख्छ र जोर्नीहरु दुख्ने गर्छ । यसमा जोर्नीमा युरिक एसिड जम्दा अत्याधिक दुख्ने, सुनिने, रातो हुँदै जाने हुन्छ ।

युरिक एसिड बढ्दैमा सबैलाई यो बाथ हुँदैन । यो रोग छिप्पिंदै जाँदा जोर्नी बिग्रिने, बांगिने, युरिक एसिडका डल्लाहरू ठाउँठाउँमा जम्ने र मिर्गौला बिग्रने तथा मिर्गौलामा पत्थरीसमेत हुनसक्छ ।

र्‍युमाटाइड आर्थ्राइटिस (गठिया बाथ)

यो वंशाणुगत कारणले हुने कडा खालको बाथ हो । यस्तो अवस्थामा हातखुट्टाका सबै जोर्नीहरू विशेषगरी हातगोडाका औंलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा दुख्ने, सुनिने, कक्रक्क र अररो हुने गर्छ । यसमा बिहानपख शरीर अररो भएर सामान्य वा खुकुलो अवस्थामा फर्किन एक घण्टासम्म लाग्ने गर्छ । यो वयस्क तथा बढ्दो उमेरमा देखिने र लामो समयसम्म रहिरहने कडा बाथ हो । यो पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ । समयमा उपचार नभएको अवस्थामा हातखुट्टाका जोर्नीहरू जाम हुने, बांगिने, चलाउन नसकिने, काम नलाग्ने हुनसक्छ ।

ढाडको बाथ

ढाडको बाथ जसलाई मेडिकल भाषामा एन्काइलोजिङ स्पोनडाइलो आर्थ्राइटिस भनिन्छ । यसमा विशेषगरी गर्दन, ढाड, कम्मर र मेरुदण्डबीचको हड्डी दुख्ने, सुनिने जस्ता लक्षण देखापर्छ । यसमा बिहान उठ्दा गर्दन, कम्मर र मेरुदण्ड कक्रक्क भएर हलचल नै गर्न नसक्ने हुन्छ । यो समस्या २० देखि ४० वर्षबीचका कम उमेरको पुरुषमा बढी देखिन्छ । यो बाथ वंशाणुगत कारणले हुने गर्छ । युभियाइटिस (आँखा दुख्ने, रातो हुने, घाममा हेर्न गाह्रो हुने) गराउन सक्छ । यसमा गराउनमा एचएलए बी ट्वेन्टिसेभेन नामक वंशाणुको कारणले गर्दा सन्तानमा पनि यो रोग जान सक्छ ।

लुपस

लुपस कुनै पनि अंगमा असर गर्नसक्ने बाथ रोग हो । त्यसैले यसलाई सिस्टेमिक लुपस ईराइथेमाटोसस (एसएलई) पनि भनिन्छ । यो रोग युवा अवस्थामा तथा महिलामा बढी लाग्छ । यो लामो समयसम्म रहने एक दीर्घ बाथरोग हो । यो घामको विकिरणको कारण बढी हुने गर्छ । यसमा हातजोर्नी तथा मांसपेशीहरू दुख्ने, सुनिने र अररो हुने हुनुका साथै अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ आउने, कपाल झर्ने, ज्वरो आउने हुन्छ । रोग कडा भएको अवस्था मिर्गौला, मुटु, फोक्सो, रगत तथा स्नायुजस्ता महत्वपूर्ण अंगमा असर पार्छ । समयमा औषधिउपचार गर्न सकेन भने बिरामीको मृत्युसमेत हुनसक्छ । यसलाई निको पार्ने निश्चित औषधि उपचार छैन । यद्यपि यस अवस्थालाई अन्य औषधिले नियन्त्रण गर्न सकिन्छ ।

भास्कुलाइटिस

रगतको नलीको बाथ हुन्छ, जसलाई भास्कुलाइटिस भनिन्छ । जसमा रक्तनली सुन्निने, रक्तप्रवाहका अवरोध हुने गर्छ, जसकारण भोक नलाग्न, थकान महसुस हुने, ज्वरो आउने हुक्छ । यसको समयमा उपचार गरिएन भने नसासम्बन्धी समस्या, मुटुको समस्या तथा पक्षघात समेत हुनसक्छ । तर यो एकदम कमै मानिसलाई हुने गर्छ ।

स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ)

स्क्लेरोडर्मामा हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निने लगायत चिसो पानी छुँदा हातगोडाका औंला सेतो, निलो र रातो हुने समस्या हुन्छ । बढ्दो उमेरमा देखिने यो बाथ महिलामा बढी भएको पाइन्छ । स्क्लेरोडर्माले छालामा मात्र नभई रगतका नसाहरू, फोक्सो, मिर्गौलामा पनि असर गरी औंलामा घाउ आउने, छाती पोल्ने, दम बढ्ने र मिर्गौला फेलसमेत गराउन सक्छ । यसले चिसोमा बढी सताउने गर्छ ।

जुभेनाइल आर्थ्राइटिस

जुभेनाइल आर्थ्राइटिस अर्थात् केटाकेटीमा हुने बाथ हुन्छ । बालबालिकामा धेरै किसिमको बाथ हुने गर्छ, जसलाई छुट्याउन गाह्रो हुन्छ । त्यसैले बालबालिकामा हुने सबै बाथरोगलाई जुभेनाइल आर्थ्राइटिस भनिन्छ । जुभेनाइल आर्थ्राइटिसमा बालबालिकाको हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने, हिंडडुल गर्न नसक्ने, ज्वरो आउने, छालामा विभिन्न खाले दाग आउने र आँखामा असर हुनसक्छ । समयमै पहिचान गरी उचित औषधि प्रयोग भएमा रोग बढ्न पाउँदैन ।

बाथरोगबाट बच्ने उपाय

बाथरोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यससँग सम्बन्धित भ्याक्सिन र औषधि छैनन् । परिवारका कुनै सदस्यलाई बाथरोग भएमा अन्य सदस्य सतर्क हुनुपर्छ । बाथरोग भएको पत्ता लागेमा त्यसलाई नियन्त्रण गर्न सक्छ ।

ध्यान दिनुपर्ने कुरा

बाथको जटिलताका आधारमा हड्डी खिइन थालेपछि भुईंमा टुक्रुक्क नबस्ने, पलेंटी मारेर नबस्ने, उकालो-ओरालो धेरै नहिंड्ने गर्नुपर्छ । जोर्नीलाई धेरै भार पर्ने काम गर्नुहुँदैन र जोर्नीलाई मोड्न पनि हुँदैन । चिसोमा धेरै काम नगर्ने, मनतातो पानी प्रयोग गर्ने, घाम ताप्ने गर्नुपर्छ । किनभने शरीरमा भिटामिन डीको कमी हुनेहरूमा सामान्य बाथरोग भएमा पनि यो रोग चाँडै कडा हुने जोखिम हुन्छ ।

पूर्णरुपमा निको हुन्छ ?

बाथरोग पूर्ण रुपमा निको हुँदैन । यसलाई औषधिले नियन्त्रण गर्न सकिन्छ । त्यसैले यसको लागि लक्षण देखिएको अवस्थामा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । बिरामीले लापरबाही गरे यसको समस्या बढ्न सक्छ । बाथरोगले अन्य रोगको जोखिमलाई बढाउँछ ।

बाथरोग भए मुख बार्नुपर्छ ?

धेरैजसो बाथरोगमा मुख बार्नु आवश्यक हुँदैन । तर युरिक एसिडजन्य बाथमा भने खानेकुरा बार्नुपर्छ । प्रोटिनयुक्त खाना जस्तै- रातो मासु, गेडागुडी, गोलभेंडा, काउली, बन्दा, च्याउ, कोल्ड ड्रिक्स,अमिलो, खाँदेको पुरानो अचार, जंकफुड, तामा, जाँडरक्सी सकेसम्म बार्नुपर्ने हुन्छ । किनभने युरिक एसिड बाथलाई बढाइदिन्छ ।

डा. प्रयुश शर्मा बाथरोग स्वास्थ्य
डा. प्रयुश शर्मा
लेखक
डा. प्रयुश शर्मा
बाथरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११५५७ अध्ययन : एमडी (रुमेटोलोजी) हाल ललितपुरको पुल्चोकस्थित अल्का अस्पताल कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

अर्गानिक खानेकुरा कसरी चिन्ने ?

अर्गानिक खानेकुरा कसरी चिन्ने ?