+
+

‘अमेरिका पलायन’बारेको प्रश्नले हैरान अञ्जु पन्त, छोरी पारितोषिका फिल्म डेब्यु गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १४:३६

काठमाडौं । गायिका अञ्जु पन्तको नेपाल-अमेरिका आउजाउ बाक्लो छ । दुवै मुलुकमा उनको सांगीतिक सक्रियता तीव्र छ । केही महिनादेखि काठमाडौंमा रहेकी अञ्जुको व्यस्तता रेकर्डिङ स्टुडियोदेखि स्टेजसम्मै निकै छ ।

मंगलबार बेलुका उनको नयाँ गीत ‘मन परेको मान्छे’को अडियो रिलिज भएको छ । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनलाई संगीतभन्दा अमेरिका भासिएको हो भन्ने प्रश्नले हैरान बनाए ।

आफू नेपालमै सक्रिय रहेपनि अमेरिका पलायन भएको भन्ने मिडियादेखि सामाजिक सञ्जालका प्रश्नमा चित्तदुखाइ रहेको अञ्जु बताउँछिन् । यो कुरामा प्रष्टीकरण दिंदादिंदै हैरान भएको अञ्जुको गुनासो छ ।

वर्षैपिच्छे अमेरिका आउने जाने चलिरहने बताउँदै अञ्जुले उतै भासिन कुरा नगर्न र नसोच्न समेत प्रशंसकलाई आग्रह गरेकी छन् । नेपाली युवापुस्ता र कलाकार अमेरिका जान मरिहत्ते गरेको आफूले देखेपनि आफ्नो हकमा उतै भासिने कुरा सत्य नरहेको अञ्जुले बताएकी छन् ।

पत्रकार सम्मेलनमा अञ्जुले के भनिन् ?

ज्यादातर समय नेपालमै रहन्छु । उता केही समय गएर आइनैहाल्छु । त्यहाँ बस्दा पनि गीत-संगीतमै भिजिरहन्छु । उता हुँदा पनि यहाँजस्तै दिनमा दुई-तीन गीतको काम गरिराख्या हुन्छु । त्यो बखतमा पनि अमेरिकामा भासियो, उतै बस्न थाल्यो भन्ने कुरा आउँछ । नभएको कुरा पनि भनिरहँदा कति प्रष्टीकरण दिनु भन्ने हुँदोरहेछ ।

म धेरै पहिले आएर यति धेरै काम गरिसकें । अझै पनि उतै हुनुहुँदो रहेछ भनेर भन्दा कति चित्त दुख्छ भन्नु न । अमेरिका नराम्रो होइन । अमेरिकामा यति धेरै आदर इज्जत हुन्छ कलाकारको । त्यो खालको माहोलमा जिउने वातावरण दिनुभएको छ । आफ्नो देशमा, आफ्नो माटोमा, आफ्नो परिवारमा रमाउनुको मजा छुट्टै छ नि ।

त्यहाँ भासिने, त्यहीं बसिराख्ने पनि होइन नि । सिटिजनसिप लिएको बसेको पनि होइन । घरीघरी त्यसो भनिरहँदाखेरि कता–कता मन दुख्ने रहेछ । कलाकार देशका गहना मात्र होइनन्, सम्पत्ति नै हुन् । सम्पत्ति बाहिरिइरहेका छन्, हाम्रा बाआमालाई मतलब नै छैन ।

पत्रकार पनि कति जना अमेरिका जानुभएको छ । पाएजति कति जना जानुहुन्छ । साँचो कुरा गर्दा सुनौलो भविष्यको लागि, नानीहरुको भविष्यको लागि, रिटायर्ड लाइफको सुनिश्चितताको लागि मान्छे सबैजना जान चाहन्छन् । त्यहाँको सिस्टम, सबै कुराको लागि मान्छे लालयित छन् ।

मेरो लागि त्यो होइन । म विशेषगरी कामकै लागि जाने हो । मैले चिनेका भाइहरु, साथीहरुले पनि देशमा बस्न मनछैन, उतै जान प्रयास गरेको छु भन्नुहुन्छ । देशमा बस्न मन छैन ।

मेरो हकमा चाहिं म जाने आउने, प्रोग्राममा सहभागी हुने । आयोजकले बोलाइरहनुहुन्छ, वर्षैपिच्छे जाने गर्छु । त्यो कारणले म जानुपर्छ, काम गर्नुपर्छ । तर एउटै शब्द घरीघरी प्रयोग गर्दा चित्त दुख्छ । नेपालमा आएर चोक–चोकमा प्रेसमिट गरेर म आएँ भन्नुपर्ने हो कि ?

मेरो क्रेज घटेको छैन, झन् बढ्दो छ । अमेरिकामा भेट्दा पनि कतिपय रुन थाल्नुहुन्छ । म पनि रुन्छु । त्यतिधेरै माया छ । विदेशको तातो घाममा पनि मेरो श्रोता हुनुहुन्छ । उहाँहरु दिदी तपाईंको गीतमा शुभ बिहानी हुन्छ, तपाईंको गीतमा हामी निदाउँछौ भन्नुहुन्छ । यो सुन्दा रुन मन लाग्छ । भेट्दाखेरि धेरै माया माया ।

अञ्जुकी छोरी फिल्ममा डेब्यु तयारीमा

उक्त पत्रकार सम्मेलनमा गायिका पन्तले छोरी पारितोषिकाले फिल्म करिअर थाल्न लागेको खुलासा समेत गरिन् । यसका लागि छोरीले अभिनय सिक्न मण्डला थिएटर ज्वाइन गरेको उनले बताइन् ।

‘पारितोषिका बुझ्झकी बच्चा हो । यसअघि म्युजिक भिडियोमा काम गरिन् । फिल्म खेल्छु भनेर मण्डला थिएटरमा अहिले एक्टिङ सिक्दैछ । धेरै मेहनत गर्छ । बिहान ५ बजेदेखि नै रेडी हुन्छ । दिनभरिजसो प्राक्टिसमा व्यस्त हुन्छ,’ उनले भनिन् ।

उनले पारितोषिकाले कुन फिल्मबाट डेब्यु गर्न लागेकी हुन् भन्नेबारे भने खुलाइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?