+
+

स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सबैसँग मिलेर काम गर्न प्रतिबद्ध छौं : स्वास्थ्यमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १७:५०

१६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिएका छन् ।

‘धेरै चुनौतीका बाबजुत पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ,’ सम्बोधनका क्रममा उनले भने, ‘कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौं । ’

विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्लुएचओले विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरुको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिँदै नेपालको स्वास्थ्यका विषयमा बोलेका हुन् ।

‘म विश्व स्वास्थ्य संगठन, डा. टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु,’ मन्त्री यादवले भने।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपतकालिन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको बताए ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रुपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध बताए ।

नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औषत आयूको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिँदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिए ।

‘स्वास्थ्यका क्षेत्रमा सामान्य रुपमा प्रगति भएका छन्। तर समाजका सबै क्षेत्रमा भने एकरुपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भने, ‘विशेष गरी इक्विटी ग्यापहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरु अझै छन् । तर हामी इक्विटीलाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?