+
+

सगरमाथा दिवसमा आरोहीहरू सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १३:२४

१६ जेठ, काठमाडौं । सरकारले सगरमाथा दिवसको अवसर पारी विभिन्न आरोहीहरूलाई सम्मान गरेको छ । ७१औं सगरमाथा दिवसको अवसर पारी पर्यटन विभागले पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

यस वर्षको सगरमाथा अन्तर्राष्ट्रिय पुरस्कार २०२४ लाक्पा सोनाम शेर्पाले पाएका छन् । विश्वका सात वटै महादेशका सर्वोच्च शिखर आरोहण गरेका उनी यती ग्रुपका अध्यक्ष समेत हुन् । उनी विगत ५ दशकदेखि पर्यटन तथा पर्वतारोहणको क्षेत्रमा क्रियासिल रहेका छन् ।

विभागले पेमा छिरिङ शेर्पालाई तेन्जिङ हिलारी पुरस्कार २०२४ प्रदान गरेको छ । २३ पटक सगरमाथा आरोहण गरेका उनी ११ पटक सगरमाथामा बाटो बनाउने काममा खटिएका छन् । उनले मनास्लु हिमाल १० पटक, केटू २ पटकसहित अन्य हिमालहरूको आरोहण गरिसकेका छन् ।

यस अवसरमा सरकारले महासेनानी ससनिल सिंह राठौरलाई समेत तेन्जिङ हिलारी पुरस्कार प्रदान गरेको छ ।

नेपाली सेनाको सगरमाथा आरोहण दलको सदस्यका रूपमा उनले सन् २००३ मा सफल आरोहण गरेका थिए । उनी सन् २०१९ देखि सगरमाथा सफाइ अभियानको सल्लाहकारका रूपमा क्रियासिल छन् ।

सो पुरस्कार एकल महिला सगरमाथा आरोहण सगरमाथा दल २०१९ लाई समेत प्रदान गरिएको छ । यस दलमा आवद्ध फुर दिकी शेर्पा र निमा शेर्पालाई सगरमाथाको सफल आरोहण गरेवापत पुरस्कृत गरिएको छ ।

यो पुरस्कार आङ छिरी शेर्पालाई समेत प्रदान गरिएको छ । ७ महादेशका अग्ला हिमाल चढेको र सेभेन समिट फाउन्डेसन स्थापना गरी आरोहण र पर्वतीय पर्यटन क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै सरकारले सम्मान गरेको छ ।

गौतमलाई बाबुराम आचार्य सगरमाथा पुरस्कार

सरकारले इतिहास शिरोमणि बाबुराम आचार्यको नाममा ७५ हजार राशीको बाबुराम आचार्य सगरमाथा पुरस्कार स्थापना गरेको छ । यो वर्ष यस पुरस्कारबाट नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम पुरस्कृत भएका छन् । सगरमाथाको दुई पटक आरोहण गरेका गौतमले सगरमाथाको उचाइ नाप्ने क्रममा सर्वेक्षण टोलीको नेतृत्व गरेका थिए ।

कोशी प्रदेश सरकारले समेत २५ हजार पुरस्कार राशीबाट ५ जना आरोहण सहयोगी र उद्धारकर्तालाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा छिरिङ धेन्देक भोटे, नरेन्द्र शाही, ग्याल्जे शेर्पा, ल्हाक्पा डेन्डी शेर्पा, आङ सर्की शेर्पा रहेका छन् ।

विभागले ३० पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पा, २४ घण्टा २६ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका फुन्जो झाङ्मु लामा, ल्होत्से हिमालको छिटो आरोहण गर्ने नाङसाल छ्योटन लामा, यसै सिजनमा ८ दिनमा ३ पटक सगरमाथा चढ्ने दावा फिन्जोग शेर्पालाई सम्मान गरेको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी निरीक्षक कन्चन थापा र मेजर गजेन्द्र देउवालाई सम्मान गरेको छ ।

यसैगरी क्याप्टेन दिपेन्द्र सिंह खत्री, ओम्निका डंगोल, छिरिङ पेम्बा शेर्पा, पास्तेन्जी शेर्पा, दावा तेन्जिन शेर्पालाई समेत सम्मान गरिएको छ । आजै विभागले सगरमाथा आरोहीहरूलाई ब्याच वितरण सुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?