+
+

गण्डकीका मुख्यमन्त्री भन्छन् : उपधारा ५ मा पुग्न दिनुहुन्न, विघटनको जोखिम हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १८:३३

१६ जेठ, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूले विश्वासको मत पाउन कठिन रहेको स्वीकार गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा आफ्नो दलका २७ सांसद मात्र रहेकाले थप ४ सांसदको समर्थन जुटाउनुपर्ने देखिएको उनले बताए । त्यसका लागि प्रदेशसभामा भएका अन्य दलसँग संवाद गर्ने उनले बताएका छन्

गण्डकी प्रदेशभामा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।

‘प्रदेशसभामा रहेका पार्टीका साथीहरुसँग हाम्रो विशेष अनुरोध छ । संविधानको धारा १६८ (२) बमोजिम सरकार बन्न सक्ने अवस्था रहेन । जसको कारणले ३ अनुसार बनेको छ । यसमा विश्वासको मत प्राप्त गर्न सकेन भने ५ मा जान्छ, त्यसमा पनि विश्वासको मत प्राप्त गर्न नसके विघटनमा जान्छ’, उनले भने, ‘सबै राजनीतिक दल यो अवस्थाका बारेमा सचेत हुनुहुन्छ । नेपाली कांग्रेससहित कुनै पनि पार्टी पुन चुनावमा जाओस् भन्नेमा छैनन् ।’

उनले प्रदेशको विकासमा मिलेर काम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी राजनीतिक दलको सहमतिमा मुख्यमन्त्री बन्ने व्यवस्था छ । गण्डकीमा एमाले नेता खगराज अधिकारी १६८ (२) अनुसार मुख्यमन्त्री बनेका थिए । तर उनले विश्वासको मत लिँदा प्रदेशसभाको बहुमत सदस्य अर्थात ३१ जनाको समर्थन जुटाउन सकेनन् ।

३० जनाले समर्थन गर्दैनमा सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरिदिएका थिए, जसलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनी मुख्यमन्त्री अधिकारी पदमुक्त भएका थिए ।

बुधबार नै मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपलिएपछि पत्रकारहरुले अहिले नै विश्वासको मत पाउनुहुन्छ कि संविधानको धारा १६८ (५) अनुसार अर्को  सरकार बन्छ भनेर सोधेका थिए । जवाफमा पाण्डेले भने ‘५ मा जाँदैन, ३ मा नै टुंग्याउनुपर्छ ।’

संविधानको धारा १६८ (३) मा प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । यदि उसले विश्वासको मत पाउन नसकेमा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत पाउन सक्ने आधार प्रस्तुत गर्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्नेछन् ।

मुख्यमन्त्री पाण्डेले उपधारा ५ अनुसारको सरकार बनेमा प्रदेशसभा विघटन हुने जोखिम हुने बताए । ‘५ मा गयो भने बहुत रिस्की हुन्छ, चुनावमा जान सक्ने खतरा हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?