+
+

हवाई भाडामा भ्याट र विलासिता करले निरन्तरता पाउँदा होटल व्यवसायी निराश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १९:१०
फाइल तस्वीर

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेत हवाई भाडामा मूल्य अभिवृद्धि कर (भ्याट) र विलासिता करले निरन्तरता पाएपछि होटल व्यवसायीले निराश बनेका छन् ।

होटल एसोसिएसन नेपाल (हान) ले बुधबार प्रतिक्रिया सार्वजनिक गर्दै सरकारले सच्याउने प्रतिबद्धता व्यक्त गरे पनि यी करले निरन्तरता पाएको भन्दै निराशा व्यक्त गरेको हो ।

चालु आवको बजेटमा लगाइएको २ प्रतिशत विलाशिता कर तथा हवाई भाडामा लगाइएको १३ प्रतिशत भ्याटबाट नेपाल गन्तव्य झनै महँगो हुने र पर्यटक आगमनमा कमी आउने व्यवसायीको भनाइ छ ।

राष्ट्रिय वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रूपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकतासाथ घोषणा भएका कार्यक्रमप्रति भने व्यवसायीले स्वागत गरेका छन् । यी कार्यक्रम कार्यान्वयन निजी क्षेत्रको सहभागिता र अग्रसरताबाट हासिल गर्ने घोषणा सरकारले गरेको छ ।

संघले सातै प्रदेश समेटिने गरी प्रमुख पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने अवधारणालाई समेत स्वागत गरेको छ । व्यापक पर्यटकीय सम्भावना बोकेको भारत र चीनसँगको ‘क्रस बोर्डर’ पर्यटन विकासका लागि घोषित बुद्ध, शिव, रामायण परिपथ र सीमाबाट नेपालका प्रमुख तीर्थस्थलसम्म सिधा बस सेवा, सीमा क्षेत्रमा पर्यटकलाई एकद्वार सेवा प्रदान गर्ने घोषणा उपयुक्त रहेको संघको भनाइ छ ।

त्यसैगरी मध्यपहाडी लोकमार्गमा टाकुरा पर्यटन हिल स्टेसन विकास गर्ने, होटल रिसोर्ट सञ्चालनका लागि जग्गा लिजमा दिने, ग्रेटर हिमालयन, मुन्धुम र गुरिल्ला ट्रेल व्यवस्थित गर्ने घोषणालाई समेत संघले स्वागत गरेको छ ।

सगरमाथा एवम् विश्वप्रख्यात हिमशृङ्खलाप्रति विश्वव्यापी अधिक आकर्षण र मोह रहेको भन्दै नेपाली पर्यटनलाई थप लाभ लिन बजेटले घोषणा गरेको हिमालयन रिसोर्स सेन्टरको अवधारणालाई समेत हानले स्वागत गरेको छ ।

जनकपुर केन्द्रित वेडिङ डेस्टिनेसन गतिविधि र लुम्बिनीमा बर्थिङ हब बनाउने बजेटको घोषणाको समेत स्वागत गरेको छ । बजेटले घोषणा गरेको सबै प्रदेशमा सञ्चालन गरिने मास्टर किचेनको प्रभावकारी सञ्चालनमा हानले आफ्नो अनुभव र दक्षता उपलब्ध गराउने समेत बताएको छ ।

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य मौजुदा होटल र पर्यटनको सेवा क्षमताको आधामात्र रहेको जनाउँदै काठमाडौं लगायत नवनिर्मित भैरहवा र पोखराका अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सके हालको पर्यटक आगमन दोब्बर गर्न सकिने जनाउँदै सरकारको नीति तथा कार्यक्रममा प्रमुखतासाथ उल्लिखित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान बढाउने कुनै पनि कुरा बजेट वक्तव्यमा नआएको हानले जनाएको छ ।

बजेटमा कृषि, शिक्षा, प्रविधि लगायत क्षेत्रमा विकास दशक घोषणा भएको क्रममा पर्यटन विकासका लागि सरकारले घोषणा गरेको पर्यटन विकास दशक २०२३–२०३२ र २०२५ मा आयोजना गर्ने भनिएको विशेष पर्यटन वर्षबारे केही उल्लेख नभएको प्रति भने हानले निराशा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?