+
+

बजेट यथार्थपरक र संयमित, कार्यान्वयन भने चुनौतीपूर्ण : चेम्बर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १८:०५

१६ जेठ, काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएको नेपाल चेम्बर अफ कमर्सले प्रतिक्रिया दिएको छ ।

बजेटको कार्यान्वयन भने चुनौतीपूर्र्ण रहेको चेम्बरको भनाइ छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको ठहर चेम्बरको छ ।

आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको छ । यद्यपि, आगामी आवलाई आर्थिक सुधारको वर्ष घोषणा गरिनु दोस्रो चरणको आर्थिक सुधारका लागि आयोग बनाउने विषय सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।

‘१२ खर्व ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य वर्तमान आर्थिक शिथिलताको अवस्थामा चुनौतीपूर्ण देखिन्छ । कुल बजेटको झन्डै ३० प्रतिशत आन्तरिक ऋण उठाउने लक्ष्यले बजारमा तरलता अभाव हुन गई दीर्घकालमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित हुनुलाई चेम्बरले सकारात्मक रहेको बताएको छ । आगामी आवलाई सूचना प्रविधि दशकको प्रस्थान वर्ष मान्दै आईटी जनशक्तिलाई फेलोसिप र इन्टर्नसिपका सामान्य कार्यक्रमदेखि अत्याधुनिक आईटी–हब निर्माण लगायत लक्ष्य सकारात्मक रहेको पनि चेम्बरले उल्लेख गरेको छ ।

कृषिको व्यावसायीकरण, आधुनिकीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि, सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषिमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषि लगानी दशक घोषणा गरिने विषयलाई चेम्बरले सकारात्मक प्रतिक्रिया दिएको छ ।

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रर्वद्धन कार्यक्रम घोषणा हुनुलाई सकारात्मक रूपमा लिइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक उत्पादन बढाइ आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गराउने कार्यक्रमहरू आउनुलाई पनि चेम्बरले सकारात्मक रूपमा लिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप पूँजी र प्रविधिमार्फत उद्यमशीलता प्रर्वद्धन गरी स्वरोजगार बनाउने विषय बजेटमा उल्लेख गरिनुलाई पनि चेम्बरले सकारात्मक भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?