
काठमाडौं । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारदेखि सुरु भएको छ ।
यो ओपनिङ फिल्मले एक किशोर (बालमणी) र बाघको बच्चाबीचको आत्मीय सम्बन्धको कथा भन्छ । भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणीले सोही आश्रम नजिकैको जंगलबाट बाघको बच्चाको शिकारीबाट उद्दार गर्छ ।
त्यसपछि रोचक र अनौठो ढंगले यी दुईबीच मित्रता गाँसिन्छ । मित्रतापछि उनीहरु हिमालयको रोमाञ्चक यात्रामा निस्कन्छन् । तर, उनीहरुको पछिपछि शिकारी र अनाथ आश्रमका सञ्चालक पनि दौडिन्छन्, जसले यी दुई पात्रको यात्रामा आरोह अवरोह ल्याइदिन्छ ।
फिल्मको कथा बौद्धधर्मको एउटा किंवदन्तीमा आधारित छ । मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने फिल्ममा हिमालको प्राकृतिक चित्रण पनि उत्तिकै सशक्त छ ।
नेपालमा छायांकन भएको यो फिल्ममा नेपाली कलाकार लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय छ । १ घन्टा ३४ मिनेटको ‘द टाइगर्स नेस्ट’ शुक्रबार २ बजे पुनः प्रदर्शन हुनेछ ।
फिल्म प्रदर्शनअघि भएको उद्घाटन समारोहमा किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तको प्रतिध्वनिले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन् ।
किम्फको दुई दशक लामो यात्रामा दर्शक, ओटिटीको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ नयाँ परिवर्तन आत्मसात गर्दै अघि बढेको उल्लेख गरिन् । उनले भनिन्, ‘किम्फमा छनोट भएका विदेशी फिल्ममार्फत विश्वव्यापी र नेपाली फिल्ममार्फत हाम्रै समाजका मुद्दा र कथाशैलीबारे जानकारी तथा अनुभव लिन पाइन्छ ।’
काठमाडौं महानगरपालिकाका प्रतिनिधि प्रदीप परियारले महानगरपालिका किम्फको सह–आयोजक भएकोमा खुसी व्यक्त गर्दै भने, ‘सिनेमा नेपाली कला संस्कृतिलाई विश्वअवसरमा लैजाने माध्यम हो र किम्फले त्यो अवसर प्रदान गरेको छ ।’
लेखक तथा निर्देशक जोन पोर्टरले उद्घाटन समारोहमा कि–नोट स्पिच दिएका थिए । आफू ४५ वर्षअघि पहिलो पटक नेपाल आएको समय र अहिले धेरै कुरा परिवर्तन भएको बताउँदै उनले भने, ‘नेपालीको हाँसो भने जस्ताको तस्तै छ ।’
मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको बताउँदै उनले सगरमाथा दिवसकै सन्दर्भ जोडेर किम्फ आयोजना हुनु अर्थपूर्ण रहेकोमा जोड दिए । उद्घाटन सत्रमा महिला वाद्यवादन समूह श्रीतारा ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।
जेठ २० सम्म चल्ने महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुनेछ । यो संस्करणमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।
प्रतिक्रिया 4