+
+

९ दिनपछि हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते २०:०४

१६ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको बताएका छन् ।

८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।

सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिंदा जिल्ला अदालत, धनुषाले उनको स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो । साथै अनुसन्धानमा ढिलाइ नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा शृंखलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहिया विरुद्ध प्रहरीकहाँ नागरिकतासम्बन्धी जाहेरी परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई सहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।

सिरोहियाको रिहाइबारे राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले चासो राख्ने नेपाल सरकारलाई उनको रिहाइको आग्रह गरेका थिए ।

सिरोहियाले धनुषाबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्दाका बखत नागरिकता फाँटका कर्मचारी रहेका काशीराज दाहालले आफ्नो हस्ताक्षरमा उनलाई नागरिकता प्रमाणपत्र दिएको स्वीकार गरेका थिए ।

सिरोहियाको नागरिकता नम्बर राख्ने क्रममा फाँटवाला कर्मचारीले गरेको त्रुटिमा सेवाग्राही जिम्मेवार नहुने देखिएको पाइएपछि उनलाई हिरासतमुक्त गरेको सिरोहियाका तर्फबाट जिल्ला अदालतमा बहस गरेका अधिवक्ता रमण कर्णले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?