+
+

गत वर्ष गर्मीको रेकर्ड ब्रेक गरेको दुम्कौलीको अवस्था कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ९:१६

१७ जेठ, काठमाडौं । मधेशदेखि सुदूरपश्चिमसम्मकै भूभागमा गर्मी बढ्दा पूर्वी तराई तुलनात्मक रुपमा शीतल छ । रेमल चक्रवातको प्रभाव हटे पनि पश्चिमी वायु र बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले आज पनि कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले लुम्बिनी, सुदूरपश्चिम र मधेशको तुलनामा कोशी प्रदेश शीतल रहेको बताए ।

जल तथा मौसम विज्ञान विभागको आज बिहान ८: ४५ बजेको रेकर्ड हेर्दा पनि मधेशदेखि सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश जिल्लाहरुमा अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस भन्दा माथि छ । दिउँसो भएसँगै तापक्रम अझ बढ्ने छ । हिजो–अस्तीसम्म पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

बुधबार सबैभन्दा बढी तापक्रम कैलालीको धनगढीमा ४३.३ डिग्री सेल्सियस पुगेको थियो । बढी गर्मी हुने जिल्ला भनेर चिनिने बाँकेका विभिन्न स्टेसनहरुमा फरक–फरक तापक्रम रेकर्ड भए पनि औसतमा ४२ डिग्री सेल्सियस पुगेको थियो । बुधबार बाँकेका भगवानपुरमा ४२.९, नेपालगञ्जमा ४२.८, सिक्टामा ४२, बैजापुरमा ४१ र खजुरामा ४० डिग्री सेल्सियस मापन भएको थियो ।

दाङको घोराहीमा ३९.८ डिग्री तापक्रम पुग्दा भैरहवामा एयरपोर्ट स्टेसनमा ४० डिग्री रेकर्ड भएको थियो ।

गत वर्ष अधिकतम तापक्रमको रेकर्ड ब्रेक गरेको नवलपुरको देवचुली नगरपालिकामा पर्ने दुम्कौलीमा भने बुधबार ३७ डिग्री सेल्सियस मापन भएको थियो । गत वर्ष जेठ अन्तिम साता दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको थियो । यो गत वर्षको नेपालभरकै सबैभन्दा बढी तापक्रमको रेकर्ड थियो । आज बिहान ६ः४५ बजेको रेकर्डमा दुम्कौलीको अधिकतम तापक्रम ३६.५ डिग्री सेल्सियस छ ।

‘दुम्कौली आसपास केही दिनयता बादल भएकाले अन्य स्थानको तुलनामा अधिकतम तापक्रम केही कम देखिएको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘तर आज बिहानको रेकर्ड हेर्दा अन्य स्थानको भन्दा बढी तापक्रम देखिन्छ ।’

गत वर्ष दुम्कौलीसँगै सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगाको अधिकतम तापक्रम उच्च विन्दुमा पुगेका थिए ।

यस वर्ष पनि गर्मी बढेसँगै तातो हावाको लहर चलेको छ । त्यसैले कतिपय जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ । जनकपुरका विद्यालय आजदेखि ५ दिनसम्म बन्द भएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर केही दिन कायम रहने भएकाले सतर्कता अपनाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?