+
+

नेपालमा कहिले भित्रिएला मनसुन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १७:२५

१७ जेठ, काठमाडौं । तराई मधेशका जिल्लाहरुमा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरुमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । चर्को घामसँगै तातो हावा चलेकाले दिउँसो घरबाट बाहिर निस्किनै नसकिने अवस्था छ । त्यसैले गर्मीबाट ज्यालामजदुरी गरेर जीवन चलाउनेहरु सबैभन्दा बढी प्रभावित छन् । कतिपय जिल्लामा विद्यालयहरु नै बन्द गरिएको छ ।

मनसुन नेपाल भित्रिने सरदर मिति आउन अझै दुई हप्ता बाँकी रहेकाले केही दिन गर्मीको मार खेप्नुपर्ने सम्भावना छ । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । तर कहिलेकाहीँ सरदर मितिभन्दा अघि र पछि पनि मनसुन भित्रिन्छ ।

यस वर्ष चाहिँ मनसुन नेपालमा कहिले भित्रिएला ? मौसमविदहरु यो प्रश्नको उत्तर दिन अहिल्यै नसकिने बताउँछन् । किनकि नेपालको जल तथा मौसम विज्ञान विभागसँग लामो समयको मौसम प्रक्षेपण गर्न सक्ने प्रविधि र जनशक्ति छैन ।

नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । भारतको मौसम विज्ञान विभागले बुधबार जारी गरेको विज्ञप्तिमा विहीबार (आज)सम्म मनसुन भित्रिनसक्ने अनुकुल वातावरण बनेको उल्लेख छ । तर यो समाचार तयार पार्दासम्म भारतमा मनसुन भित्रिसकेको छैन । भारतमा सबैभन्दा पहिले केरलामा मनसुन भित्रिन्छ र विस्तारै देशभर फैलिन्छ ।

सामान्यतया भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा मनसुन आइपुग्छ । तर सधैं यस्तै अवस्था हुन्छ भन्न सकिँदैन ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन भित्रिएको घोषणा गर्न विभिन्न पारामिटरहरु हेर्ने गरिन्छ । ‘सामान्यरुपमा बुझ्दा मनसुन भित्रिन अहिले नेपालमा कायम पश्चिमी वायुको प्रभावलाई पूर्वी वायुले विस्थापित गर्नुपर्छ,’ वरिष्ठ मौसमविद पौडेल भन्छन्, ‘त्यसबाहेक एन्टी साइक्लोन (तिब्बतीयन हाई) अलिकति माथितिर (उत्तरतिर) सर्नुपर्छ, नेपालको उपल्लो वायुमण्डलको अवस्था कस्तो छ, यस्ता थुप्रै प्राविधिक कुराहरु हेरेर मनसुन भित्रिएको हो कि होइन भनेर निष्कर्ष निकालिन्छ ।’

केही दिन अघि बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभावले नेपालमा पानी परेको थियो । रमेल नाम दिइएको सो चक्रवातको बढी असर नेपालको पूर्वी र मध्य भूभागमा परेको थियो । अहिले त्यसको प्रभाव नेपालबाट हटिसकेकाले गर्मी अत्यधिक बढेको छ ।

सो चक्रवातले मनसुन आगमनमा कुनै प्रभाव पर्छ ? मौसमविदहरु चक्रवातले मनसुन ढिलो वा चाँडो भित्रिनमा भूमिका नखेल्ने बताउँछन् । तर चक्रवातको अवस्थितिले मनसुन बढी सक्रिय वा सुख्खा दुवै हुनसक्छ ।

वरिष्ठ मौसमविद वरुण पौडेल भन्छन्, ‘चक्रवात नेपालको उत्तरपूर्वी दिशातिर छ भने त्यसले मनसुनलाई केही सक्रिय बनाउन पनि सक्छ । तर बंगालको खाडीतिर छ भने त्यसले अझै सुक्खा पनि बनाउन सक्छ । किनभने चक्रवातले जलवाष्पहरु आफूतिरै खिच्छ र हामीतिर आउने जलवाष्प पनि उतैतिर घुमिदिन्छ । चक्रवात कता तिर र कुन दिशामा गइरहेको छ, त्यसको आधारमा मनसुन सक्रिय हुने कि निष्कृय हुने भन्ने कुरामा भर पर्दछ ।’

विश्वव्यापी जलवायु परिवर्तनको असरसँगै पछिल्ला केही वर्षयता नेपालमा मनसुन आगमन र बहिर्गमन दुवै सरदर मितिभन्दा ढिलो हुने गरेको छ । पछिल्लो एक दशकको विवरण हेर्दा अक्टोबर २ पछि मात्र नेपालबाट मनसुन बाहिरिएको देखिन्छ ।

गत वर्ष सरदर मिति १३ जुनभन्दा एक दिन ढिलो अर्थात् १४ जुन (३१ जेठ) मा भित्रिएको मनसुन १५ अक्टुबर (२८ असोज)मा बाहिरिएको थियो । यस अवधिमा वार्षिक वर्षाको सरदर ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यस वर्षको मनसुन अवधि (जुनदेखि सेप्टेम्बर महिनासम्म) मा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ ।

तर नेपालमा यस वर्ष मनसुन कहिले भित्रिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेल भन्छिन्, ‘कहिलेकाहीँ भारत आइपुगेर पनि बीचमै रोकिने र नेपाल भित्रिन ढिलो हुने गरेको छ, त्यसैले अहिले नै नेपालमा मनसुन आगमनको सम्भावित मिति भन्न सकिँदैन ।’

त्रिभुवन विश्वविद्यालय मौसम विज्ञान विभागका सहप्राध्यापक डा‍. विनोद पोखरेलका अनुसार हालै आएको रेमल चक्रवातले मनसुन आगमनमा पनि फरक पार्ने सम्भावना छ । ‘अहिलेको प्रगति हेर्दा त १० जुनभन्दा अगाडि नै मनसुन भित्रिनुपर्ने हो । तर, रेमल चक्रवातले केही कुराहरुमा असर गरेकाले यसै भन्न सकिँदैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?