+
+

मधेश सरकार जोगाउने कि ढाल्ने ? अलमलमा लोसपा र एकीकृत समाजवादी

मधेशमा कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल अहिलेको सरकार जोगाउन चाहन्छन् । नेकपा एमाले, माओवादी केन्द्र र जनमत पार्टी नयाँ सरकार बनाउन चाहन्छन् । जुन पक्षले बहुमत पुर्‍याउन पनि लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीको समर्थन आवश्यक पर्छ । तर यी दुई दल अलमलमा छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ जेठ १७ गते १४:२०

१७ जेठ, जनकपुरधाम । एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् ।

मधेश प्रदेशसभाको तेस्रो अधिवेशन २१ जेठको दिउँसो २ बजे बोलाइएको छ । मुख्यमन्त्री यादवले सदन आह्वान भएकाले विश्वासको मत लिने बताए । उनले २३ जेठमा विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले २९ जेठसम्म विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिएपछि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्रीको तयारी छ ।

तर उनको पक्षमा प्रदेशसभामा बहुमत पुग्नेमा आशंका छ । केन्द्रको सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी हालसम्म पनि जसपा नेपाल नेतृत्वको सरकार छाडेको छैन ।

जसपाले आफ्नो नेतृत्वको सरकार जोगाउन प्रतिपक्षी नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)संग पनि संवाद गरिरहेको छ ।

बुधबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको थियो । उक्त छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका थिए । मधेश प्रदेशसभामा यी चार दल मिलेमा बहुमत पुग्छ ।

मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपाका १९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ गरी ५६ जना सांसद छन् । तर १०७ सदस्यीय प्रदेशसभामा ५४ सांसदले नै बहुमत पुग्छ । मुख्यमन्त्री यादवले आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको दावी गर्दै आएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेशमा वर्तमान सरकारलाई निरन्तरता दिने वा चारदल मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा निरन्तर संवाद भइरहेको बताउँछन् ।

वर्तमान सरकार यथावत रहे वा नयाँ सरकार बने पनि मधेशमा एमाले–माओवादीबाहेकको सरकार बन्ने उनको दावी छ ।

कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादीबीच वर्तमान सरकार वा नयाँ सरकार निर्माण लगायतको विषयमा निरन्तर छलफल संवाद भइरहेको छ । ‘यति बुझ्नुस् मधेशमा लोकतान्त्रिक शक्तिको सरकार हुने निश्चित छ’, उनले भने ।

तर निर्णायक शक्ति बनेको लोसपा र एकीकृत समाजवादी मधेश सरकारबारे अझै स्पष्ट छैनन् । एकीकृत समाजवादीले मधेश सरकारबारे एक दुई दिनमा निर्णय दिने स्थायी कमिटी सदस्य सत्रुधन महतोले बताए ।

‘वर्तमान मधेश सरकारलाई विश्वासको मत वा कांग्रेस जसपा लगायतको चारदलीय नयाँ सरकारमा सहभागी हुनुअघि केन्द्र र अन्य प्रदेश सरकारबारे पहिला स्पष्ट हुन्छ । यस विषयमा पार्टीमा छलफल गरेर मात्र कुनै ठोस निर्णय हुन्छ’, नेता महतोले भने ।

मधेशमा अघिल्लो प्रदेशसभाको ५ वर्ष र अहिलेको प्रदेशसभाको डेढ वर्ष गरी हालसम्मको साढे ६ वर्षमा जसपा नेतृत्वको मधेश सरकारको कामबाट लोकतान्त्रिक समाजवादी पार्टी सन्तुष्ट छैन । त्यसैले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा लोसपा अन्योलमा नै छ ।

यसअघि सरोजकुमार यादव नेतृत्वकै मधेश सरकारमा सहभागी भएको लोसपा गत ४ वैशाखमा बाहिरिएर समर्थन फिर्ता लिएको थियो । त्यसैले पुनः त्यही सरकारलाई विश्वासका मत दिन कठिन हुने सांसद जितेन्द्र सोनल बताउँछन् ।

‘जुन सरकारबाट लोसपा बाहिरिसकेको छ । समर्थन फिर्ता लिइसकेको छ । त्यही सरकारमा पुनः समर्थन र सहभागिता हुन्छ भन्नु अहिले मुश्किल छ । यो विषयमा लोसपा पार्टीभित्र छलफल गरेर मात्र कुनै निर्णयल लिन्छ’, सोनलले भने ।

तर केन्द्रको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले मधेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्नेमा आशंका छ ।

मधेश सरकार छाडेपछि नेकपा एमाले र माओवादी केन्द्रले पनि सरकार गठनको कसरत सुरु गरेका छन् । ३० वैशाखमा सरकार छाडेकै दिन एमाले, माओवादी केन्द्रले जनमत पार्टी र लोसपाबीच छलफल भएको थियो । एकीकृत समाजवादीसँग भने एमाले र माओवादीले संवाद गरेका छैनन् ।

चार दलबीच नयाँ समीकरण बनाउने सहमति भए पनि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विवाद छ । मधेशमा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३ र माओवादी केन्द्रका ९ जना प्रदेशसभा सदस्य छन् । यो गठबन्धनलाई बहुमत पुग्न ८ सिटको लोसपा र ७ सिटको एकीकृत समाजवादीको समर्थन आवश्यक पर्छ । पाँच दल मिलेमा ७० सांसद पुग्छन् ।

एमाले, माओवादी, जनमत र लोसपा मिल्दा पनि आवश्यक बहुमत ५४ पुग्छ । एकीकृत समाजवादी मात्र आए १ सिट अपुग हुन्छ । राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीसँग १-१ सिट छ । तीमध्ये एउटा दललाई मिलाएर सरकार बन्न सक्छ ।

केहीदिन अघि महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डबीच छलफल हुँदा जनमत पार्टीलाई सरकारको नेतृत्व दिन सकिने विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

‘हामी केन्द्र सरकारमा नभएपनि उपेन्द्र यादवको पार्टीको मुख्यमन्त्री मधेशमा हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौं’, प्रचण्डसँगको भेटमा महन्थको भनाइ उधृत गर्दै ती सदस्यले भने ।

यद्यपि अहिलेसम्म लोसपा स्पष्ट छैन । बहुमतका लागि निर्णायक भएपछि लोसपाले पनि पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।

एमाले, माओवादी र जनमत पार्टी भने मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय कुरिरहेका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?