+
+

ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिको चासो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १४:१५

१७ जेठ, काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ ।

बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् ।

उनले भने, ‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय गर्ने होइन । यसमा हाम्रो चासो देखिएको छ । यसबारे छलफल गर्नुपर्ने आवश्यकता ठानेका छौं ।’

सभापति खतिवडाले ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी पनि दिए । उनले भने, ‘मन्त्रीको निर्देशनमा ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडकमा ल्याएर काम गराउनु मानव अधिकारको हनन गर्नु हो । यस्तो गर्न पाइँदैन । हामी छलफल गर्छौं ।’

खतिवडाले फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउने पद्धति गलत भएको बताए । ‘कार्यकारीलाई काम गर्न रोक्ने हाम्रो नियत होइन । तर कानुनसम्मत काम गर्नुपर्छ भन्ने विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्‌सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?