+
+

दिवा खाजामा स्थानीय तहले रकम थप्नुपर्छ : मन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १७:३६

१७ जेठ, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकालाई कुपोषणको समस्याले देश विकास अवरुद्ध गर्ने बताएकी छन् ।

बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्ड भिजन इन्टरनेशनल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को सहकार्यमा विहीबार सुरु भएको बाल कुपोषण र भोकमरीविरुद्धको अभियान ‘इनफ’ घोषणा गर्दै मन्त्री चौधरीले कुपोषणविरुद्ध घरपरिवार, समाज र राज्यले नै हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।

बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘संघीय सरकारले दिवाखाजाका लागि पठाएको प्रतिविद्यार्थी १५ रुपैयाँमा स्थानीय सरकारले पनि केही रकम थपेर गुणस्तरीय खाजाको व्यवस्था गर्नुपर्छ ।’

तीनै तहका सरकार र सरोकारवाला निकाय कुपोषण अन्त्यका लागि एकजुट हुने हो भने थप राम्रो राम्रो नतिजा निकाल्न सकिने बताइन् ।

विभिन्न बालगृहमा गरिएको अध्ययन प्रतिवेदन संसदीय समितिबाट प्राप्त गरेको जानकारी दिँदै मन्त्री चौधरीले भनिन्, ‘समितिको प्रतिवेदनमा बालबालिका लागि गुणस्तरीय खाने कुरा नदिएको भन्ने आएको छ । मन्त्रालयले सरोकारवाला निकायलाई तुरुन्त कारबाही वा सचेत गराउने काम गर्छ ।’

कमजोर आर्थिक अवस्थाका बालबालिका कुपोषणको जोखिममा रहने उल्लेख गर्दै उनले भनिन्, ‘यसपालि सरकारले ल्याएको बजेटले रैथाने खानेकुरामा जोड दिने भनेको छ, यसले सकारात्मक प्रभाव पार्छ ।’

कार्यक्रममा वर्ल्डभिजन इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले इनफ अभियानले विशेषगरी बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासलाई सहयोग गर्ने बताइन् ।

विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाटै यो अभियानको घोषणा गरिएको हो ।

संयुक्त राष्ट्र संघको एक तथ्याङ्कका अनुसार प्रत्येक ८ घरपरिवारमा १ जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक ४ मा १ जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूर्ण क्षमतामा वृद्धि हुन नसकेको पाइएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न १७ लाख अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?