
१७ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०८१ को वार्षिक शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको छ ।
त्रिविको क्यालेन्डरअनुसार सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि स्नातक तहको आवेदन फारम साउनको तेस्रो सातादेखि भदौको दोस्रो सातासम्म खुल्ने छ ।
कानुन, मानविकी तथा समाजशास्त्र र व्यवस्थापन संकायका सेमेस्टरका लागि पनि यही शैक्षिक क्यालेन्डर लागू हुनेछ ।
यी संकायको प्रवेश परीक्षा भदौको तेस्रो सातामा हुनेछ । भर्ना भदौको चौथो हप्ता खुल्ने त्रिविले जनाएको छ ।
माथि उल्लेखित संकायको स्नातक तह पहिलो सेमेस्टरको पढाइ सुरु असोजको पहिलो सातामा सुरु हुनेछ ।
यी संकायको पहिलो सेमस्टको परीक्षा २०८१ पुस ३ गतेदेखि सुरु हुनेछ भने २०८२ वैशाख १ गते नतिजा प्रकाशन हुनेछ ।
माघको २ गतेबाट दोस्रो सेमेस्टरको पढाइ सुरु हुनेछ । २०८२ असार २ गतेदेखि तेस्रो सेमेस्टरको पढाइ सुरु हुने र २०८२ मंसिर ३ देखि चौथो सेमेस्टरको पढाइ सुरु गर्ने त्रिविले जनाएको छ ।
२०८३ जेठ १ गतेबाट पाँचौ सेमेस्टर सुरु हुनेछ । छैठौँ सेमस्टर २०८३ मंसिर १, सातौँ २०८४ वैशाख २ र आठौँ समेस्टरको पढाइ २०८४ कात्तिक ४ गतेबाट सुरु हुने त्रिविले जनाएको छ ।
त्यसैगरी वार्षिक कार्यक्रमका विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीएससी जनरल, बीटेक फुड, शिक्षाशास्त्र, मानविकी तथा समाजशास्त्र अन्तर्गत, एफएचएसस, बीए, बीएसडब्लू र व्यवस्थापन संकायअन्तर्गत एफओएम, बीबीएस पहिलो वर्षको भर्ना साउन तेस्रो सातादेखि भदौ दोस्रो सातासम्म चल्नेछ ।
भदौको चौथो सातादेखि कक्षा सुरु हुने र २०८२ चैत चौथो सातामा परीक्षा फारम खुल्ने त्रिविले जनाएको छ ।
पहिलो वर्षको पढाइ २०८२ को जेठ पहिलो सातामा सकिने छ । जेठको चौथो सातामा परीक्षा र २०८२ असोज दोस्रो साता नतिजा प्रकाशन गर्ने शैक्षिक क्यालेन्डरमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4