+
+

स्पन्ज आइरन करको दर हेरफेरमा कसैको मुख हेरेनौं : अर्थमन्त्री

उद्योगीले बजेटमा फलामे डन्डी निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा करका दर हेरफेर गर्दा आफूहरू मर्कामा परेको गुनासो गरे पनि अर्थमन्त्रीले भने बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १९:०४

१७ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत करको दर चलाएपछि उत्पन्न विवादबारे छड उत्पादकसँग छलफल गरेका छन् ।

अर्थ मन्त्रालयमा बिहीबार भएको छलफलमा उनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको बताए । मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको पनि बताए ।

संघ अध्यक्ष शाहिल अग्रवाल नेतृत्वमा गएका व्यवसायीले बजेटमा फलामे डन्डी निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा करका दर हेरफेर गर्दा आफूहरू मर्कामा परेको गुनासो गरेका थिए ।

जवाफमा मन्त्री पुनले कसैको मुख हेरेर नभई संसदीय समिति, आन्तरिक राजस्व विभागले गरेको अध्ययनको रिपोर्ट, विगतदेखि नै व्यवसायीले राख्दै आएका माग तथा राजनीतिक तहको सुझाव समेतलाई मध्यनजर गरी तथ्यपरक रूपमा करका दरमा परिवर्तन गरिएको बताए ।

‘मन्त्री र सचिवको स्वविवेकले वा कसैको मुख हरेर यो निर्णय भएको होइन,’ मन्त्री पुनले भने, ‘धेरै छलफल गरेरमात्र निष्कर्षमा पुगेका हौं । हामी आफ्नो निर्णय सही र यथार्थपरक छ भन्नेमा छौं । यद्यपि, सरकार तपाईंहरूलाई दबाउनुपर्छ, उद्योग बन्द गर्नुपर्छ भन्ने पक्षमा होइन भन्ने स्पष्ट गर्न चाहन्छु ।’

करको दर हेरफेरको निर्णयले उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास उनको थियो ।

मन्त्री पुनले निर्णयमा अडिग रहे पनि व्यवसायीका जायज माग र गुनासा सुन्न तत्पर रहेको बताए । उनले संवाद गर्नुको अर्थ मन्त्रालय निर्णयबाट पछि हट्न खोजेको वा घोषणा गरिसकिएकाले अब पछि हट्नै सकिँदैन भन्ने रूपमा बुझ्न पनि नहुने स्पष्ट गरे ।

उनले करका दर हेरफेरलाई लिएर धेरै विवादको विषय बनाउन जरुरी नरहेको भन्दै तथ्यका आधारमा छलफल गरी निष्कर्षमा पुग्न व्यवसायीलाई आग्रह गरे ।

मन्त्री पुनले निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बजेटपूर्वका छलफलमा दिएका अधिकांश सुझाव बजेटमा समेटिएको उल्लेख गरे ।

निजी क्षेत्रका तीनवटै छाता संगठनका तर्फबाट बजेट यथार्थपरक ढंगले आएको र आफूहरूका आवाज सम्बोधन भएको प्रतिक्रिया आएको भन्दै उनले त्यसका लागि धन्यवाद दिए ।

निजी क्षेत्रकै मागअनुसार बजेटमा आफूले अर्थतन्त्र शिथिलतामा रहेका कारण करका दर धेरै नचलाएको र नीतिगत निरन्तरताको पक्षमा रहेको सन्देश प्रवाह गरेको मन्त्री पुनले उल्लेख गरे ।

‘अर्थतन्त्र शिथिलतामा रहेका बेला करका दरमा कम हेरफेर गर्नुपर्छ भन्ने लागेर धेरै चलाइएको छैन । वितरणमुखी बजेट आउँछ भन्ने हल्ला चलाइएका थिए । कतै पनि वितरणको शीर्षकमा बजेट राखिएको छैन । सामाजिक सुरक्षामा नबढाउनुका साथै नयाँ ‘विन्डो’ खोलेनौं,’ मन्त्री पुनले भने, ‘गत वर्ष राजस्व संकलनको लक्ष्य ४१ प्रतिशत राखिएकामा यो वर्ष निकै कम लक्ष्य राखेका छौं । निजी क्षेत्रलाई कम दबाबमा राखेर स्पेस दिनुपर्छ भन्ने आधारमा नीति तय गरेका छौं । निजी क्षेत्रले दबाबमा बसेर काम गर्नुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?