+

त्रिवि क्रिकेट मैदान यसरी भइरहेको छ स्तरोन्नति

२०८१ जेठ  १७ गते १९:३९ २०८१ जेठ १७ गते १९:३९
त्रिवि क्रिकेट मैदान यसरी भइरहेको छ स्तरोन्नति

१७ जेठ, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हाल स्तरोन्नतिको काम भइरहेको छ । मैदानको बाउन्ड्री केही बढाउने, दर्शकका लागि प्याराफिट निर्माण, खानेपानी र शौचालय निर्माणको काम पनि अघि बढेको छ ।

त्यस्तै मैदानमा रहेको पिच भत्काई त्यसको माथिल्लो भागको माटो निकालेर पुन सम्याउने र बनाउने काम भइरहेको छ । आगामी नोभेम्बरसम्म त्रिवि मैदानमा कुनै खेल नहुने भएकाले मैदानको हाल स्तरोन्नति गर्न लागिएको हो ।

बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानको अनुगमन गरे ।

त्रिवि मैदानमा के के हुँदैछ परिवर्तन ?

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकको लागि प्याराफिट बन्दैछ । हालसम्म त्रिवि मैदानमा दर्शक प्रवेशका लागि दुई वटा गेट थिए ।

नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल हेर्न २५ हजारसम्म दर्शक आउने मैदानमा दुईवटा मात्र गेट हुँदा अत्यधिक भिड हुने गथ्र्यो । कति पटक त दर्शकको ठेलमठेलका कारण गेट पनि ढलेको छ ।

यही समस्या नहोस् भनेर गेट थप्ने काम भइरहेको क्यानका सचिव पारस खड्काले बताए । ‘हामी हरेक सेक्सनका लागि फरक फरक गेटको व्यवस्था गर्ने तयारीमा छौं । जसले गर्दा दर्शकहरुलाई आउन जान सहज होस्’, उनले भने ।

प्याराफिट भीआईपी दर्शकका लागि छानो हाल्न लागिएको छ । ‘दर्शकका लागि शौचालय र भीआईपीका लागि पासदेखि हरेक कुरामा समस्या भइरहेको थियो त्यसैले अहिले यसैलाई व्यवस्थापन गर्न खोजेका हौं’, उनले भने ।

अब प्याराफिटको हरेक सेक्सनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय हुनेछ । त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकहरुले यसअघि शौचालयको समस्या भोग्दै आएका थिए ।

‘हामीले हरेक जोनमा महिला र पुरुषको शौचालय बनाउने भनेका छौं । ४/५ महिनाको समय भनेको पर्याप्त समय हो । यति बेलासम्म केही नभए पनि दर्शकको लागि जोन छुट्याएर काम गर्न सकिन्छ’, पारसले पत्रकारहरुसँग भने ।

वेष्ट इन्डिज सिरिजका बेला दर्शकले पानीको जारबाट नै पानी खाएको भिडियो सार्वजनिक भएको थियो । अब प्याराफिटको हरेक सेक्सनमा खानेपानीको व्यवस्था पनि गरिने भएको छ । ‘हामीले अहिलेसम्म दर्शकबाट सुनेको गुनासो सुनुवाइ गर्दै जाऊँ त्यसपछि बाँकी रहे फेरि पछि गरौंला’, पारसले भने ।

त्रिविमा डिजिटल स्कोर बोर्ड निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ठेक्का लगाइसकेको छ । पञ्चकन्या /हिमालयन जेभी कुपण्डोलले ठेक्का पाएको र डिजिटल बोर्डको जडान मैदानको स्तरोन्नतिसँगै हुनेछ ।

आगामी दिनमा खेलाडीका लागि होस्टल र फ्लडलाइटको व्यवस्थापन पनि गर्ने क्यानका सचिव पारस खड्काले बताए ।

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि सरकारले आगमी आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

जसमा फ्लड लाइट जडानका लागि २० करोड र अन्यका लागि २० करोड रहनेछ । आगामी नोभेम्बरसम्म २० करोड रुपैयाँको काम गर्ने तयारी छ ।

आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ५० करोड ४८ लाख रुपैयाँ बजेट पाएको छ । त्यसमध्ये खेल पूर्वाधारमा १ अर्ब ३० करोड बजेट रहेको छ । यो रकमको अधिकांश हिस्सा क्रिकेट रंगशालाका लागि छ ।

हेर्नुहोस् थप तस्वीरहरु 

तस्वीर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

क्रिकेट त्रिवि क्रिकेट मैदान
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय