+
+

किम्फमा महिला फिल्ममेकरको उत्सव, प्रवक्ता नकवी भन्छिन्- ‘महिला फिल्ममेकर प्रोत्साहनका स्रोत’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते २०:४२

काठमाडौं । काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को दोस्रो दिन विहीबार महिला निर्देशकका फिल्मको प्रदर्शनसँगै विशेष छलफल आयोजना गरिएको छ ।

अमेरिकी दूतावासको सहआयोजनामा ‘क्यामेरा पछाडिका महिला’ शीर्षकमा विशेष सत्रको आयोजना गरिएको हो । उक्त सत्रमा दूतावास प्रवक्ता जेहरा नकवीले नेपाली महिला फिल्ममेकरको प्रशंसा गरिन् ।

उनले भनिन्- क्यामेरामा महिलाको सहभागिता र अनुभवका कुरालाई आज हामी सेलिब्रेट गरिरहेका छौं । अहिलेका यिनै महिला फिल्ममेकर भविष्यका महिला फिल्ममेकरका लागि प्रोत्साहनका स्रोत हुन् ।’

प्रवक्ता जेहराले मानिसको मनस्थिति र आवेगलाई प्रस्तुत गर्ने भएकोले कथावाचन सशक्त माध्यम रहेको समेत बताइन् ।

उक्त सेसनमा प्रवक्ता नकवीसहित निर्देशक आकांक्षा कार्की, विदुषी गिरी, सरिता साह र डिना मुफ्टीले भाग लिएका थिए । पूजा पन्तले सहजीकरण गरेको छलफलका सहभागीलाई पहिलो प्रश्न सोधिएको थियो- महिला फिल्ममेकर भएर तपाईंहरुले पुरुषले बनाइरहेका फिल्ममा भन्दा अन्य के-के कुराहरु थप्नुहुन्छ ?’

निर्देशक तथा अभिनेत्री सरिताले भनिन्, ‘मैले जे महसुस गर्छु, जे अनुभूत गर्छु त्यो भोगाई र अनुभूति कोही अरुले भन्दा धेरै कुराहरु छुट्न सक्छ । त्यही कुरा मैले बढी प्रष्टसँग भनेर न्याय गर्न सक्छु जस्तो लाग्छ । मैले थप्ने भनेको त्यही छुटेका कुरा हो ।’

सोही प्रश्नको जवाफमा आंकाक्षाले भनिन्- ‘महिलाले बढी संवेदनशील र समभावका साथ कथा भन्छन् भन्ने लाग्छ । प्रक्रियामा उनीहरु बढी इमान्दार भए भने स–साना कुरालाई प्राथमिकता दिने उनीहरुको नजरीयाले फिल्मलाई फरक बनाउन सक्छ ।’

‘मेरा लागि चाहिँ दृष्टिकोण महत्वपूर्ण हो । लस्ट-इन ट्रान्सलेसन र हर भन्ने फिल्म समान भोगाइबाट जन्मेका फिल्म हुन् । तर यी दुवै फिल्म बिल्कुलै भिन्न छन्,’ अर्की निर्देशक विदुषीले भनिन् ।

दुई दशकदेखि फिल्म बनाइरहेकी अर्की वक्ता डिनाले फिल्म क्षेत्रमा अनस्क्रिन महिला प्रतिनिधित्व बढिरहे पनि पर्दापछाडि अझै धेरै महिला फिल्ममेकरको खाँचो रहेकोमा जोड दिइन् ।

उनले प्राविधिक रुपमा दक्ष महिलाहरुको उपस्थिति बढाउन अझै बढी काम गर्नुपर्ने बताइन् । दर्शकसँग अन्तक्र्रियासमेत गरिएको कार्यक्रममा अभिनेत्री लुनिभा तुलाधरले आफूलाई कहाँ देख्नुहुन्छ भनेर वक्तासमक्ष प्रश्न राखेकी थिइन् ।

जवाफमा सरिताले भनिन्, ‘पाँच वर्ष मात्र नभई सधैंभरि फिल्म बनाइरहन्छु र महिलाका दबिएका, नसुनिएका, नभनिएका कथा फिल्ममा ल्याइरहन्छु ।’ निर्देशक डिनाले यसमा थप्दै भनिन्, ‘महिलाको नजरबाट हेर्दा फिल्म क्षेत्रमा उनीहरुको भविष्य सकारात्मक छ ।’

छलफलअघि वक्तामध्येका विदुषी गिरीको ‘चिसो घर’, सरिता साहको ‘थ्रेसहोल्ड’ र आंकाक्षा कार्कीको ‘सनई’ प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?