+
+

त्रिविको शैक्षिक क्यालेण्डर : परीक्षा लिएको ३ महिनामा नतिजा

नुनुता राई नुनुता राई
२०८१ जेठ १७ गते २१:१४

१८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

बिहीबार उपकुलपति कार्यालयमा विभिन्न २० वटा विद्यार्थी संगठनका प्रतिनिधिलाई बोलाएर त्रिविले शैक्षिक क्यालेण्डर सार्वजनिक गर्नुका साथै त्यसको कार्यान्वयनका लागि उनीहरुको प्रतिवद्धता मागेको छ ।

शैक्षिक क्यालेण्डर अनुसार सेमेस्टर प्रणालीमा परीक्षा लिएको ३ देखि ४ महिनाभित्रमा नतिजा प्रकाशन हुनेछ ।

के छ प्रस्तावित क्यालेण्डरमा ?

त्रिविले शैक्षिक वर्ष २०८१ का लागि प्रस्ताव गरेको क्यालेण्डरअनुसार सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि स्नातक तहको आवेदन फारम भर्ने समय साउनको तेस्रो सातादेखि भदौको दोस्रो सातासम्म रहनेछ ।

कानुन, मानविकी तथा समाजशास्त्र र व्यवस्थापन संकायका सेमेस्टरका लागि पनि यही शैक्षिक क्यालेण्डर लागू हुनेछ । यी संकायको प्रवेश परीक्षा भदौको तेस्रो साता हुनेछ । भर्ना भदौको चौथो हप्ता खुल्ने र पहिलो सेमेस्टरको पढाइ असोजको पहिलो सातादेखि हुनेछ ।

पहिलो सेमेस्टरको परीक्षा २०८१ पुस ३ गते सुरु हुनेछ भने २०८२ वैशाख १ गते नतिजा प्रकाशन हुनेछ ।

माघको २ गतेबाट दोस्रो सेमेस्टरको पढाइ सुरु हुनेछ । २०८२ असार २ गतेदेखि तेस्रो सेमेस्टरको पढाइ सुरु हुने र २०८२ मंसिर ३ देखि चौथो सेमेस्टरको पढाइ सुरु गर्ने त्रिविले जनाएको छ ।

२०८३ जेठ १ गतेबाट पाँचौ सेमेस्टर सुरु हुनेछ । छैटौं सेमेस्टर २०८३ मंसिर १, सातौं २०८४ वैशाख २ र आठौं सेमेस्टरको पढाइ २०८४ कात्तिक ४ गतेबाट सुरु हुने त्रिविले जनाएको छ ।

वार्षिक कार्यक्रमका विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीएससी जनरल, बीटेक फुड, शिक्षाशास्त्र, मानविकी तथा समाजशास्त्र अन्तर्गत, एफएचएसस, बीए, बीएसडब्लू र व्यवस्थापन संकायअन्तर्गत एफओएम, बीबीएस पहिलो वर्षको भर्ना साउन तेस्रो सातादेखि भदौ दोस्रो सातासम्म चल्नेछ ।

भदौको चौथो सातादेखि कक्षा सुरु हुने र २०८२ चैत चौथो सातामा परीक्षा फारम खुल्ने त्रिविले जनाएको छ । पहिलो वर्षको पढाइ २०८२ को जेठ पहिलो सातामा सकिने छ । जेठको चौथो सातामा परीक्षा र २०८२ असोज दोस्रो साता नतिजा प्रकाशन गर्ने शैक्षिक क्यालेण्डरमा उल्लेख गरिएको छ ।

त्रिविले प्रस्ताव गरेको स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ अनुसार पहिलो सेमेस्टरको आवेदन फारम आगामी मंसिरमा खुल्ने छ ।

त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समय तोकेको छ । माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन गर्ने र असोज १ गते नतिजा प्रकाशन गर्ने त्रिविको प्रस्तावित क्यालेण्डरमा उल्लेख छ ।

दोस्रो सेमेस्टरको पढाइ २०८२ जेठ ३ गते, तेस्रोको २०८२ मंसिर १ र चौथो सेमेस्टरको पढाइ २०८३ वैशाख ४ गते सुरु हुनेछ ।

यो क्यालेण्डर इन्स्टिच्युट अफ मेडिसिन बाहेक स्नातकोत्तर तहका सबै संकायमा लागू हुने त्रिविको भनाइ छ ।

विद्यार्थीसँग माग्यो त्रिविले प्रतिवद्धता

त्रिविले नयाँ क्यालेण्डर प्रस्ताव गर्दै त्यसलाई लागू गर्न विद्यार्थी संगठनहरुसँग प्रतिवद्धता मागेको छ । बिहीबार उपकुलपति कार्यालयमा विभिन्न २० विद्यार्थी संगठनहरुसँग त्रिविका उपकुलपति, रजिष्ट्रार, रेक्टरले नयाँ क्यालेण्डर प्रस्ताव गर्दै सुझाव दिन तथा लागू गर्न साथ दिन प्रतिवद्धता माग गरे ।

त्रिवि रेक्टर प्रा.डा.खड्क केसीले भने ‘हामीले सबै डीन कार्यालयलाई यो क्यालेण्डर प्रस्ताव गरेका छौं । उहाँहरु त्यसमा काम गरिरहनुभएको छ । उहाँहरुले ल्याएपछि त्यसमा विद्यार्थी संगठनहरुको पनि कमिटमेन्ट खोजेको हो ।’

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिविको शैक्षिक क्यालेण्डर लागू गर्न साथ रहने प्रतिवद्धता जनाएका छन् । उनले भने ‘नयाँ क्यालेण्डर लागू गर्न र त्रिवि सेवा आयोग मार्फत योग्य शिक्षक कर्मचारीको नियुक्तिको लागि हाम्रो तर्फबाट आपत्ति हुने छैन ।’

अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायाले नयाँ क्यालेण्डर लागू गर्न साथ सहयोग हुने र स्ववियु चुनाव पनि क्यालेण्डरमा लागू गर्नुपर्ने बताए । उनले भने ‘क्यालेण्डरमा स्ववियु निर्वाचनको मिति पनि तय हुनुपर्छ र हरेक दुई वर्षमा स्ववियु चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो अरु लागू गर्न साथ र सहयोग रहन्छ नै ।’

हराएको उत्तरपुस्तिकाबारे अध्ययन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक गर्न उनले माग गरे ।

अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंले विश्वविद्यालय सुधारको कार्यमा कहिल्यै अवरोध नहुने प्रतिवद्धता जनाएकी छिन् । उनले भनिन् ‘विश्वविद्यालय सुधारका लागि हुने काममा हाम्रो कहिल्यै अवरोध अथवा कुनै किसिमको आपत्ति हुने छैन । यो क्यालेण्डर लागू गर्नको लागि सहयोग रहनेछ ।’

नेपाल समाजवादी विद्यार्थी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ लगायतका विद्यार्थी संघसंगठनहरुले नयाँ शैक्षिक क्यालेण्डर लागू गर्न सहयोग गर्ने प्रतिवद्धता गर्नुको साथै योग्यताको आधारमा नियुक्ति हुनुपर्ने कुरामा जोड दिएका छन् ।

उत्तरपुस्तिका परीक्षण प्रदेशस्तरमा

उत्तरपुस्तिका अब प्रदेशस्तरमा परीक्षण गर्ने भएको छ । त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले प्रदेशस्तरमा संकलन भएको उत्तरपुस्तिका त्यहीँ परीक्षण गरेर विद्यार्थीको प्राप्ताङ्क मात्रै परीक्षा नियन्त्रण कार्यलयमा पठाउने गरी काम भइरहेको बताए ।

उनले भने ‘क्षेत्रीय स्तरमा संकलन भएको विद्यार्थीको उत्तरपुस्तिका कोडिङ डिकोडिङ गरेर त्यहीँ परीक्षण संपरीक्षण गरेर नतिजा बल्खुमा पठाउने प्रणालीको सुरुवात भइसकेको छ ।’ जेठ ४ गते सकिएको परीक्षाको उत्तरपुस्तिका कीर्तिपुर बल्खुमा नआउने उनले बताए ।

त्रिविले बिहीबार नयाँ क्यालेण्डर सार्वजनिक गर्नुका साथै परीक्षा सम्बन्धी विषयमा विद्यार्थी संगठनहरुसँग सुझाव लिएको थियो ।

रजिष्ट्रार रिजालले विद्यार्थीका बाँकी रहेका परीक्षाको नतिजाहरु असारभित्र सार्वजनिक गरिसक्ने बताए । त्यसपछि नियमित त्रिविको क्यालेण्डर अनुसार परीक्षा भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

रजिष्ट्रार रिजालले अब पैसा तिरेको आधारमा परीक्षा केन्द्र नतोकिने पनि बताए । त्यसका लागि निश्चित मापदण्ड बनाउने, पहिलो प्राथमिकता आंगिक क्याम्पस र त्यसपछि सामुदायिक क्याम्पसलाई दिएर परीक्षा केन्द्र बनाउने उनले बताए ।

समकक्षता सरलीकरण बनाउँदै

त्रिविले समकक्षता प्रमाण पत्र वितरणलाई सहज बनाउन इमेल मार्फत गुनासो तथा सुझाव मागेको छ ।

त्रिविले कर्मचारी तथा प्राध्यापक विज्ञताका आधारमा नियुक्ति गर्नका लागि मापदण्ड बनाउन गठन गरेको कार्यदलले विहीबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अध्ययन गरेर र प्राध्यापकहरुको सुझाव संकलन गरेर त्यसलाई अन्तिम रुप दिने त्रिविको भनाइ छ ।

त्यस्तै त्रिवि पुनर्संरचनाको लागि बनेको अध्ययन समितिले पनि प्रतिवेदन बुझाएको र त्यसको पनि अध्ययन, बृहत छलफल तथा सुझाव अनुसार अगाडि बढ्ने तयारी रहेको रेक्टर प्रा. डा. खड्ग केसीले बताए ।

विश्वविद्यालयबारे इन्टरनेसनल अडिट गराउने

त्रिविले आगामी वर्षदेखि इन्टरनेसनल अडिट गराउने तयारी गरेको छ । अन्र्तराष्ट्रिय स्तरमा सूचीकृत संस्थालाई त्रिविको रिपोर्ट तयार गर्न लगाउने तयारी भइरहेको रेक्टर प्रा.डा.खड्ग केसीले जानकारी दिए ।

कति विद्यार्थी भर्ना भए, त्यसमध्ये कति उत्तीर्ण भए, कति लेखहरु प्रकाशित भए त्यसको गुणस्तर कस्तो छ र विश्वविद्यालय कहाँ पुग्यो लगायतको हरेक वर्ष रिपोर्ट तयार गर्ने उनले बताए ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?