१७ जेठ, काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा यही जेठ १९ देखि सुरु हुने आठौँ पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ ।
बिहिवार काठमाडौंको होटल क्राउन प्लाजामा सम्पन्न प्राविधिक बैठकमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।
उपाध्यक्ष श्रेष्ठले प्रतियोगिता सहभागि सबै टिमलाई अनुशासित भएर खेल्न र आफ्नो खेल क्षमता प्रस्तुत गर्न अनुरोध गरे । यस्तै, रेफ्री संयोजक विजय केसीले टेक्निकल पक्षको विषयमा प्रस्ट पार्दै खेल नियमानुसार खेल्न र सबै टोलीलाई शुभकामना दिएका छन् ।
एनभिए लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कूल १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जेठ २६ गतेसम्म चल्ने लिगका खेलहरु त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल गरी कूल ६ खेल हुनेछन् ।
लिगको पहिलो खेल पुरुषतर्फ टिप टप हेल्प नेपाल र बुढानिलकण्ठ भलिबल क्लबबीच हुनेछ । यस्तै पुरुषतर्फ नै नेपाल पुलिस क्लब र सुदूरपश्चिम स्पोर्ट्स काउन्सिल, एपीएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच पनि खेल हुनेछ ।
लिगको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ लगायतको उपस्थित रहने भलिबल संघले जनाएको छ ।
उद्घाटनपछि शनिबार दिउँसो ३ बजे महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ । यस्तै पहिलो दिन महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पनि खेल हुनेछ ।
लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको तथा महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि न्यू डायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यस पटक एनभीए लिगको पुरुष र महिला दुवैतर्फको विजेताले नगद ८ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद ४ लाख र तेस्रो हुनेले २ लाख पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4