+
+

किम्फमा डोरबहादुर विष्टको डकुमेन्ट्री ‘म अलप हुन चाहन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १२:५३

काठमाडौं । नेपालका २१ विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट मुलुककै बौद्धिक व्यक्तित्वमा गनिन्छन् । उनी मानवशास्त्री र साहित्यकारका रुपमा प्रसिद्ध छन् ।

२१ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को दोस्रो दिन नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक उनै विष्टबारे बनेको वृत्तचित्र प्रदर्शन गरिएको छ ।

सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन् ।

प्राज्ञिक कर्मसँगै सामाजिक रुपान्तरणमा समेत झुकाव भएका डोरबहादुर २०५२ साल पुस २७ देखि रहस्यमयी रुपमा बेपत्ता छन् । जुम्लाबाट नेपालगञ्ज उडेर यात्रा गरेको खबरयता आजपर्यन्त उनी अलप छन् ।

जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, ‘म अलप हुन चाहन्छु ।’ निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो ।

जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्वपूर्ण काम गरेका थिए । उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन् । यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कैयौं सन्दर्भ आएका छन् ।

फिल्ममा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरुले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे प्रकाश पारेका छन् ।

डोरबहादुर लिखित ‘फ्याटलिज्म एन्ड डेभलपेन्ट’ र ‘पिपुल अफ नेपाल’ नेपाली र विदेशी अध्येतामाझ चर्चित छन् ।

यसअघि नेपाल र नेपालबाहिरका महोत्सवहरुमा समेत प्रदर्शन भई रुचाइएको ‘म अलप हुन चाहन्छु’ हेर्न राष्ट्रिय सभागृहमा उल्लेख्य संख्यामा फिल्मकर्मी तथा दर्शक उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?