+

मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

२०८१ जेठ  १८ गते १३:४० २०८१ जेठ १८ गते १३:४०
मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

अहिले बजारमा आँपको सिजन छ । मौसम अनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक पनि मानिन्छ । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्छ । जस्तो- भिटामिन ए, भिटामिन बी । तर मधुमेहका बिरामीले आँप खान हुँदैन भनेको सुनिन्छ ।

संसारका सबै खानेकुरा अमृत हो र सबै खाना विष पनि हो, खाना राम्ररी खान जान्यो भने त्यो अमृत हो र खान जानेन भने विष हो । आँपको सिजनमा आँप खानु राम्रो हो तर आँपै मात्र खानु भने नराम्रो हो ।

मधुमेहको समस्या भएका व्यक्तिले आँप खानै हुँदैन भन्ने सुनिन्छ तर त्यो कुरा गलत हो । मधुमेहको समस्या भएका व्यक्तिले पनि आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

आँप खाएको बेला अन्य खानेकुरामा ध्यान दियो भने खासै समस्या हुँदैन । गर्भावस्थामा हुने मधुमेहमा पनि आँप खान मिल्छ तर सन्तुलित मात्रामा, डाइटिसियनसँग विशेष परामर्श लिएर खाँदा प्रभावकारी हुन्छ ।

आँपमा उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्त्व) धेरै हुने भएकाले थोरै मात्रामा खाँदा बिरामीलाई लाभदायक हुन्छ । ५५ भन्दा कम ग्लइसेमिक इन्डेक्स भएका चीजहरू मधुमेह रोगीका लागि राम्रो मानिन्छ । आँपमा ५० देखि ५५ ग्लाइसेमिक इन्डेक्स हुन्छ । यस्तोमा मधुमेहको बिरामीले दिनमा एक वा आधा आँप खान मिल्छ । यसले धेरै मात्रामा सुगर बढाउँदैन । शरीरको मेटाबोलिक दर दिनको समयमा राम्रो रहने भएकाले आँप दिउँसो खानु गर्नु राम्रो हुन्छ ।

मधुमेहको बिरामीले आँप खाँदासँगै फाइबरयुक्त खानेकुरा पनि खानु राम्रो हुन्छ । जस्तो आँप खानुअघि बदाम, ओखर जस्ता ड्राइफुड खानुपर्छ । ड्राइफुडका साथै भुटेको आलस, फर्सीको बिया जस्ता तेलहन खानु पर्छ । जसले खानामा सन्तुलन मिल्छ र अचानक ग्लुकोज लेबल बढ्दैन । आँप खाएर सुगर बिग्रिने भन्ने होइन । कति मात्रामा खाने भन्ने मुख्य कुरा हो । चाहिनेभन्दा बढी खानु भएन ।

सामान्य व्यक्तिले कति आँप खाने ?

एक वयस्क व्यक्तिले दैनिक एकदेखि दुईवटा मध्यम आकारको आँप खानु स्वास्थ्यको दृष्टिकोणले लाभदायक हुन्छ । साना केटाकेटी, ज्येष्ठ नागरिक, पाचन प्रणाली कमजोर भएका व्यक्तिले आँप खाँदा एक-दुई चानादेखि बढीमा एउटा सिंगै पनि खान मिल्छ । मोटोपन भएका व्यक्तिले भने अन्य सामान्य व्यक्तिको तुलनामा कम आँप खानुपर्छ ।

सामान्य मान्छेले धेरै मात्रामा आँप खाँदा सुगर लेबल बढ्दैन, किनभने त्यसलाई हाम्रो शरीरले नै व्यवस्थापन गर्न सक्छ । तर मधुमेहको बिरामीको शरीरले भने त्यो आँपमा भएको सुगरलाई व्यवस्थापन गर्न नसक्ने भएकाले रगतमा गएर मिसिन्छ । सामान्य मान्छेले भने आँप, केरा र सुन्तला जस्ता गुलिया फलफूल मात्रा मिलाएर खाँदा पनि शरीरले नै त्यसलाई व्यवस्थापन गर्ने भएकाले सुगर लेबल बढ्दैन । तर धेरै आँप खाँदा त्यसमा भएको हाइ क्यालोरीले गर्दा आलस्य हुने निद्रा लाग्ने भने हुन्छ ।

सामान्य व्यक्तिले उचित मात्रामा आँप खान मिल्छ तर खाली पेटमा या खाना खानुअघि धेरै आँप खाँदा त्यसमा भएको हाई क्यालोरीले गर्दा सुगर लेबल बढ्न सक्छ ।

कस्तो आँप खानु हुँदैन ?

अहिले आँपको सिजन भएकाले बजारमा विषादी प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ती भेटिन्छन् । रासायनिक रूपमा पाकेको आँपको सेवनले विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ । त्यसैले सुरुमा त आँप किन्ने बेलामै सचेत हुनुपर्छ ।

सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेंलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने गाढा पहेंलो रङको हुन्छ ।

आँपमा रहेको दागले पनि यसको रासायनिक मिसावट भएको संकेत दिन सक्छ । कतिपय आँपमा नीलो, कालो वा सेतो दाग देखिन सक्छ । यस्ता आँप किन्नु हुँदैन । केमिकलका कारण यस्तो दाग देखिएको हुन्छ । रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ ।

आँप मधुमेह स्वास्थ्य

धेरै कमेन्ट गरिएका

मोदनाथ पौडेल
लेखक
मोदनाथ पौडेल
पोषणविद्

पौडेल पोषणविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय