+
+

इलामका जनताले पहिचानवादी हराए, रास्वपालाई पाठ सिकाए : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १८:००

१८ जेठ, हेटाैंडा । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले इलामकाे उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पाठ सिकाएकाे बताएका छन् ।

शुक्रबार नेकपा एमाले मकवानपुरकाे १२औं जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै महासचिव पोखरेलले अब सबै चुनाव जित्छौं भन्ने रास्वपालाई इलामका जनताले जमानत जफत गराइदिएको बताएका हुन् ।

‘सत्ता गठबन्धनकाे बैठकमा रास्वपाका साथीहरूले इलाम उपनिर्वाचनमा चुनाव जित्ने दाबी गर्दै हाम्राे सांसद २१ हैन २२ लेख्नु भन्नुहुन्थ्यो’ उनले भने, ‘अब सबै चुनाव हामी जित्छाैं भन्नुहुन्थ्याे तर, इलामका जनताले रास्वपाकाे जमानत जफत गराइदिए ।’

महासचिव पोखरेलले जनताले पपुलिष्ट पार्टीभन्दा संघर्षबाट आएकाे एमालेलाई राष्ट्रिय राजनीतिमा आवश्यकता देखेकाे दाबी गरे । ‘सबै शक्ति लगाएर इलाम उपनिर्वाचनमा उत्रिएका पहिचानवादीहरूलाई पनि इलामका जनताले अस्वीकार गरे’ उनले भने, ‘संघर्षबाट आएको एमालेलाई जिताइदिए ।’

सम्बोधनको क्रममा उनले राप्रपा नेपालका नेता कमल थापा इमान्दार नबनेको आरोप लगाए । ‘गत प्रतिनिधिसभा निर्वाचनमा कमल थापाले गणतन्त्र मान्छु भनेपछि एमालेले सूर्य चिह्न दिएर मकवानपुरबाट उम्मेदवार बनायो तर, उनी पुनः राजवादी बने, इमान्दार देखिएनन्,’ उनले भने ।

थापाले चुनाव जितेको भए उनी गणतन्त्रवादी नै रहन सक्ने भन्दै महासचिव पोखरेलले मकवानपुरले राजावादीलाई जिताएकोमा गुनासो गरे । उनले भने, ‘खाँटी राजावादीलाई मकवानपुरले जिताएर पठाउँदा लज्जाबाेध भयो ।’ गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कमल थापा र नेपाली कांग्रेसकी डिना उपाध्यायलाई हराएर राप्रपाका दिपक सिंह विजयी बनेका थिए ।

एमाले मकवानपुरकाे अध्यक्षमा श्रीधर पाेख्रेल, रघुनाथ खुलाल, इन्द्रमान स्याङतान र लालबहादुर थापा आकांक्षी छन् । आकांक्षीबीच सहमति हुन नसेकाेले नेतृत्व चयनमा निर्वाचन हुने लगभग निश्चित रहेको नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?