+
+

यात्रा अनुमति प्राप्त नगरी लाइसेन्स लिएका हतियार बोकेर हिँड्न नमिल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १८:१०

१८ जेठ, काठमाडौं । यात्रा अनुमति प्राप्त नगरी लाइसेन्स लिएका हतियार लिएर हिँड्न नमिल्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रा अनुमति प्राप्त नगरी लाइसेन्स लिएका हतियार बोकेर हिँड्न नमिल्ने निर्णय गरेका हो ।

‘प्रचलित कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहेककाले घर बाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त नगरेका हातहतियार समेत तोकिएका स्थानमा नपाउने गरी निषेध गर्ने’ बैठकले निर्णय गरेको छ ।

यो निर्णयसँगै लाइसेन्स लिएर हतियार राख्नेहरूले बोकेर हिँड्नका लागि छुट्टै यात्रा अनुमति लिनुपर्ने भएको छ ।

हातहतियार खरखजाना ऐन २०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ ।

५ चैतमा सर्वोच्च अदालतको गेटबाट झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड रामकुमार धिमाल र दीपक खड्का १०० राउन्ड गोली र हतियारसहित पक्राउ परेका थिए ।

उनीहरू पक्राउ परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ पर्दा खड्काले बोक्नुपर्ने हतियार अर्का बडिगार्ड रामकुमार धिमालले बोकेको पाइएको थियो ।

बडिगार्डद्वयले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गरी हतियारबारे छानबिन गर्न भन्दै सर्वोच्च अदालतले गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

१५ चैतमा सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गृहले उपसचिव ऋषि पौडेल र एसपी सन्तोष भट्टराई सदस्य तथा एकदेव अधिकारी सदस्य सचिव रहेको समिति बनाएर छानबिन गरेको थियो ।

प्रसाईंलाई हतियार राख्न दिने निर्णयमा जिल्लाभर उल्लेख गरेर लाइसेन्समा भने देशभर लेखिएको भेटिएको थियो । हतियारको संवेदनशीलता नबुझी देशभर बोक्न मिल्नेगरी प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय झापाले २१ असार २०७५ मा हतियारको लाइसेन्स दिएको खुलेको थियो ।

सहसचिव पाण्डे नेतृत्वको समितिले गृहलाई प्रतिवेदन बुझाउँदै हतियारको मापदण्डबारे सुझाव दिएको थियो । हतियारको एकीकृत डाटा राख्नुपर्ने, यात्रा अनुमति लिएर मात्रै हतियार बोक्नुपर्ने, हतियार लिइसकेपछिको नियमन र नवीकरणका बेला जाँच गर्नुपर्ने विषयसमेत समितिले औंल्याएको थियो ।

समितिकै सुझाव अनुसार गृहले यात्रा अनुमति लिएर मात्रै हतियार बोक्न पाउनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । गृहको उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेसँगै अब लाइसेन्स लिएर हतियार राखे पनि यात्रा अनुमति नलिइ बोकेर हिँड्न नपाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?