+
+

अर्थको तजबिजमा खर्च हुने बजेट करिब ७६ अर्ब, कहाँ हुन्छ खर्च ?

अर्थ विविधमा धेरै बजेट राख्ने प्रवृत्तिप्रति बहुराष्ट्रिय निकायले निरन्तर प्रश्न उठाइरहेका छन् । विज्ञहरू यस्तो रकमलाई संसदबाट वैधानिकता लिएर आफूखुसी खर्च गर्न पाउने शीर्षकका रूपमा व्याख्या गर्छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ जेठ १८ गते २०:१५

१८ जेठ, काठमाडौं । अर्थ मन्त्रालयको तजबिजमा खर्च गर्न सक्ने गरी राखिने ‘अर्थ विविध’ शीर्षकमा करिब ७६ अर्ब बजेट विनियोजन भएको छ ।

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ मा अर्थ विविधमा ७५ अर्ब ८३ करोड २ लाख रुपैयाँ विनियोजन भएको छ । अर्थ विविधमा धेरै बजेट राख्ने प्रवृत्तिप्रति बहुराष्ट्रिय निकायले निरन्तर प्रश्न उठाइरहेका छन् ।

विज्ञहरू यस्तो रकमलाई संसद्‌बाट वैधानिकता लिएर आफूखुसी खर्च गर्न पाउने शीर्षकका रूपमा व्याख्या गर्छन् ।

उता, अर्थले भने पछिल्लो समय यस्तो बजेट बढाउँदै गएको देखिन्छ । मन्त्रालयका अनुसार अर्थ विविधमा २०७९/८० मा ३० करोड ३७ लाख खर्च भएको देखिन्छ ।

चालु आवमा भने अर्थ विविध शीर्षकबाट ५७ अर्ब ३६ करोड ९० लाख  खर्च हुने संशोधित अनुमान छ । यसलाई पनि बढाएर आगामी आवमा ७६ अर्ब पुर्‍याइएको छ ।

अर्थ सचिव मधुकुमार मरासिनीका अनुसार सरकारले भूकम्प पुनर्निर्माणका लागि छुट्याएको झन्डै २२ अर्ब रुपैयाँ अर्थ विविधमा राखिएको छ । साथै, सरकारले चालु आवबाट ल्याएको नयाँ अवधारणा गण्डकी आर्थिक त्रिभुज परियोजनाको बजेट समेत अर्थ विविधमै राखिएको सचिव मरासिनीले जानकारी दिए । सोहीकारण अर्थ विविध रकम धेरै देखिएको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार अर्थ विविध भित्रबाटै विशिष्ट व्यक्तिको भ्रमण खर्चमा हुने रकम भुक्तानी गर्ने गरिन्छ । विदेशी प्रतिनिधिमण्डल नेपाल भ्रमण आउँदा हुने खर्चसमेत यसमा समेटिन्छ ।

मन्त्रिपरिषद्बाट घोषणा हुने विभिन्न प्रकारका आर्थिक सहायता समेत यसै शीर्षकबाट प्रदान गरिन्छ । भन्सार फिर्ता, कर फिर्ता, भौतिक सुविधा तथा अन्य भइपरी आउने खर्चका लागि समेत अर्थले यसै शीर्षकको बजेट प्रयोग गर्छ ।

विपद्, राहत तथा पुनस्र्थापना, अधुरा आयोजना कार्यान्वयन कार्यक्रम, संघीय संरचना पूर्वाधार विकासका लागि समेत सोही शीर्षकबाट भुक्तानी गरिने अर्थ मन्त्रालयको भनाइ छ ।

गण्डकी आर्थिक त्रिभुज परियोजनामा २ अर्ब

यस वर्ष सरकारले आर्थिक वृद्धिका सम्भावना उजागर गर्ने भन्दै भरतपुर–बुटवल–पोखरा–(मुग्लिङ)–भरतपुरलाई तीन कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनका अनुसार यहाँ निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

यस परियोजनालाई सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो परियोजनालाई सार्वजनिक–निजी–साझेदारीको नमुना परियोजना बनाइने उनले बताए ।

भरतपुर कोणमा पर्यापर्यटन, जलयात्रा र विशिष्टिकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद, पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षा र बुटवल भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधि सम्बन्धी संस्था विकासमा निजी क्षेत्रसँग सहकार्य गरी पूर्वाधार बनाउने उद्देश्य सरकारको छ ।

यो भेगमा निर्माणाधीन सडक परियोजना सम्पन्न हुनासाथ पनि एक प्रकारको आर्थिक विकासको माहोल बन्ने उनको भनाइ छ ।

अर्थ विविधमा राखेको पैसा कहाँ–कहाँ विनियोजन ?

  • विशिष्ट व्यक्तिको भ्रमण खर्च : १० करोड
  • प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च : १५ करोड
  • मुआब्जा : ५ अर्ब ९३ करोड ८३ लाख
  • आर्थिक सहायता : १० करोड
  • भन्सार फिर्ता : ३० करोड
  • भवन खरिद निर्माण र सुधार : ३० करोड
  • भौतिक सुविधा : ५ अर्ब ३० करोड
  • महसुल तथा अन्य भुक्तानी : ६२ करोड
  • भइपरी आउने (साधारण प्रशासन) : २५ अर्ब ९८ करोड
  • विपद्, राहत तथा पुनर्स्थापना : १९ अर्ब ८ करोड
  • भइपरी आउने (विकास कार्यक्रम) : ८ अर्ब ३ करोड
  • संघीय संरचना पूर्वाधार विकास : ३ अर्ब
  • अधुरा आयोजना कार्यान्वयन कार्यक्रम : ४ अर्ब १५ करोड
  • गण्डकी आर्थिक त्रिभुज परियोजना : २ अर्ब
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?