१८ जेठ, काठमाडौं । सीईसी काठमाडौं र भक्तपुर क्रिकेट सेन्टर एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।
मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा सीईसी काठमाडौंले सीईसी भक्तपुरलाई तथा भक्तपुर क्रिकेट सेन्टरले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा सीईसी काठमाडौंले सीईसी भक्तपुरलाई ८३ रनको फराकिलो अन्तरले हरायो ।
पहिले ब्याटिङ गरेको सीईसीले रित गौतम र सुशान्त थापाको समान ५४ रनको मदतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
जवाफमा सीईसी भक्तपुरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा अलआउट भयो । उसका विवेक लामाले सर्वाधिक २४ रन बनाए । सीईसी काठमाडौंका सोनु देवकोटाले ३ तथा दीपेन्द्र रावत र दयानन्द मन्डले समान २ विकेट लिए ।
यस्तै दोस्रो सेमिफाइनलमा अरुण ऐरीको अलराउण्ड प्रदर्शनमा भक्तपुर क्रिकेट सेन्टरले ग्रेट हिमालय क्रिकेट एकेडेमीमाथि ४ रनको रोमाञ्चक जित निकाल्यो ।
पहिले ब्याटिङ गरेको भक्तपुरले दिपक बोहराको अर्धशतक मद्दतमा निर्धारित ४० ओभरमा ४ विकेट गुमाएर १२३ रन बनाएको थियो । दिपकले ३४ बलमा ५० रन बनाए । यस्तै अरुणले २७ बलमा ३१ रन जोडे । विनोद तामाङले २१ रन बनाए ।
ग्रेट हिमालयका कमल खत्रीले २ तथा रुपेश श्रीवास्तव र सन्दीप पराजुलीले समान १ विकेट लिए ।
१२४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयनले २० ओभरमा ८ विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो ।
ग्रेट हिमालयका कृष कार्कीले सर्वाधिक २१ रन बनाउँदा इशान पाण्डेले १८ र रुपेश श्रीवास्तवले १५ रन जोडे ।
भक्तपुर क्रिकेट सेन्टरका अरुण ऐरी र नितेश पटेलले २-२ तथा मुकेश ओझाले १ विकेट लिए ।
फाइनल खेल शनिबार हुनेछ । तीन टोली मात्र सहभागी रहेको महिलातर्फ भने यसअघि नै काठमाडौं र ललितपुर फाइनल पुगिसकेका छन् ।
महिलातर्फको फाइनल खेल बिहान ८ बजे सुरु हुनेछ । यस्तै पुरुषतर्फको फाइनल खेल साढे ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4