+
+

श्रमाधान रोजगार मेलामा २ हजार युवाले दिए रोजगारीका लागि आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १९:४४

१८ जेठ, काठमाडौं । सरकार र निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरिएको श्रमाधान रोजगार मेलामा २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको मेला सफलतापूर्वक सम्पन्न भएको हो । देशका सातै प्रदेशमा जारी मेलाको उद्घाटनस्थल कोशीको विराटनगरस्थित सिटी प्यालेसमा राखिएका स्टलको १७ जेठमा तीन हजार र १८ जेठमा दुई हजार गरी पाँच हजारभन्दा धेरैले अवलोकन गरेका छन् । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी दुई हजार पाँच सय ३७ जना दक्ष कामदार माग गरेका थिए ।

मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने दुई सय ५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।

मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बीमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सात वटा स्टल राखिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए । मेलामा सहयोग पुर्‍याउने सबैलाई आयोजकका तर्फबाट प्रशंसापत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?