+

सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता लायन्सको विजयी सुरुवात

२०८१ जेठ  १८ गते १९:५० २०८१ जेठ १८ गते १९:५०
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता लायन्सको विजयी सुरुवात

१८ जेठ, काठमाडौं । सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ ।

पब्लिक बिन्देश्वरी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कन्चनरूप राइनोजलाई २२ रनले पराजित गरेको छ ।

छिन्नमस्ताले दिएको १८८ रनको विशाल लक्ष्य पछ्याएको कन्चनरूपले १९.४ ओभरमा १६५ रनमा सबै विकेट गुमायो ।

कन्चनरूपको लागि राशिद खानले सर्वाधिक ४७ रन योगदान दिए पनि जितको लागि पर्याप्त रहेन । २९ बलमा खानले ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

दिनेश अधिकारीले २० बलमा १ चौका र ४ छक्का मद्दतले ३१ रन बनाए । अभिषेक गौतम र चित्रबहादुर विष्टले समान २३ रन बनाए । लक्ष्य पछ्याउने क्रममा ५९ रनमा ७ विकेट गुमाएको अवस्थामा राशिद र दिनेशले ५६ रनको साझेदारी गरे पनि जितको लागि पर्याप्त रहेन ।

छिन्नमस्ताको बलिङमा विशाल पटेलले सर्वाधिक ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित पटेलले ४ ओभरमा १३ रन बनाए । मोहम्मद सोहेलले ३, सुमित नेवारले २ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रनको योगफल तयार गर्‍यो ।

छिन्नमस्ताको लागि सुमित नेवारले आक्रामक ब्याटिङ गर्दै मात्र १८ बलमा ३ चौका र ४ छक्का मद्दतले ४३ रन बनाए । राष्ट्रिय क्रिकेटर समेत रहेका भीम सार्कीले १६ बलमा ३० रन योगदान दिए । त्यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै राज वर्माले २३ बलमा २६ रन, विशाल पटेलले १० बलमा १९ रन तथा रोहन विकले १४ बलमा १८ रन योगदान दिए ।

कन्चनरूप राइनोजको बलिङमा उमेशकुमार चौधरी र राहुल मण्डलले समान ३ विकेट लिए । उमेशले ४ ओभरमा २८ रन तथा राहुलले ४ ओभरमा ३७ रन खर्चिए । राशिद खान र दिनेश अधिकारीले १/१ विकेट लिए ।

राजविराज नगरपालिकाका कार्यवहाक मेयर इसरत प्रविनले ब्याटिङ तथा कन्चनरूप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ताले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछन् । बिहान ९ बजे सुरु हुने पहिलो खेल बलान बिहुल सुपर किंग्स र राजविराज राजदेवी एघार तथा दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा तिरुहट टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडीले प्रतिस्पर्धा गर्नेछन्।

जेठ २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कन्चनरूप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।

राउन्ड रोविन लिगअन्तर्गत सञ्चालन हुने लिगअन्तर्गत सबै टिमले एक अर्कासँग १/१ खेल खेलिसकेपछि समूहको शीर्ष–४ टिमबीच प्ले–अफमा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय क्रिकेटरहरू विनोद भण्डारी, भीम सार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खानले विभिन्न टिमबाट खेल्नेछन् ।

सप्तरी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय