+
+

ग्रे मोबाइलको कारोबार बन्द गरौं : दिपक मलहोत्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १३:१४

१६ असार, काठमाडौ । मोबाइल फोन इम्पोर्टर एसोसियसनका अध्यक्ष दिपक मलहोत्राले नेपालमा अवैध तरिकाबाट भन्सार छलेर भित्रिएका मोबाइल `ग्रे फोन´को कारोबार बढेको बताएका छन्।

मोबाइल ब्यवसायी महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभारग्रहण कार्यक्रमलाई नगरकोटमा सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका मलहोत्राले ग्रे मोबाईलले बजारको ठुलो हिस्सा ओगटेको र त्यसले देशको राजश्वमासमेत नकारात्मक असर गरेको बताए।

`ग्रे मोबाइलले बजार बिगारेको छ, ग्रे फोनको कारोबार सबै मिलेर बन्द गरौं,ब्यवसायी, इम्पोर्टर,डिस्टिब्युटर सबै ग्रेलाई रोक्न लागौं,त्यसले देशको राजश्वलाई पनि घाटा भएको छ,´ मलहोत्राले भने ।उनले ग्रे फोनको कारोबार बन्द भए ब्यवसायीले पाउने मार्जिनसमेत बढाउन सकिने बताए ।

`तपाइहरु ग्रे फोनको कारोबार बन्द गर्न लाग्नुस, ग्रे फोनको कारोबार बन्द भए मोबाइल बिक्री गर्दा तपाइहरुले पाउने मार्जिन बढाउन सकिन्छ,´ उनले भने ।

मलहोत्राले मोबाईल ब्यवसायलाई मर्यादित बनाउन आफू निरन्तर लागिरहेको बताउदै सरकारले मोबाइल फोनमा तत्काल एमडिएमएस प्रणाली लागू गरेर मोबाइल सेवालाई ब्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष भरत भट्टराईले राज्यलाई दोस्रो ठूलो राजस्व तिर्ने मोबाइल ब्यवसायलाई बलियो बनाउन सरकारले कानुनी रुपमासमेत स्पष्ट नीति लिनु पर्ने बताए ।

`मोबाइल ब्यवसायीले देशलाई ठूलो अंकमा राजश्व बुझाएका छन, तर ब्यवसायीले मोबाइल मर्मत तथा बिक्री गर्दा समस्या झेल्नु परिरहेको छ, सेकेन्ड ह्यान्डको बिक्रीमा स्पस्ट नीति छैन, सेवाग्राही मोबाइल बिग्रेर बनाउन आउदा ब्यवसायीले झमेला ब्यहोर्नु परिरहेको छ,´ महासंघका अध्यक्ष भट्टराईले भने ।

भट्टराईले ब्यवसायीले पाउने मोबाइल फोन बिक्री वापतको मार्जिनलाई बिना अलमल सरकारले निर्धारण गरेअनुसार दिइनु पर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष सोभित प्रसाइंले मोबाइलमा ब्यवसायीलाई दिइने मार्जिन बढाए ग्रे फोनको कारोबार आफैं रोकिने धारणा राखे। हाल ब्यवसायीले मोबाइल बिक्री गर्दा पाँच प्रतिशत मार्जिन पाउने गरेका छन।

`हामी छौं´ अभियान

नेपाल मोबाइल व्‍यावसायी महासंघले ब्यवसायीलाई असहज अवस्था पर्दा सहजिकरण गर्न `हामी छौ´ अभियान सुरु गरेको छ।

नगरकोटमा सम्पन्न केन्द्रिय समिती बैठकमार्फत महासंघले ब्यवसायीलाई कुनै पनि आपतविपतका समयमा सहजीकरण गर्न अभियान सुरु गर्ने घोषणा गरेको हो ।

`प्राकृतिक प्रकोप, विपद अथवा अन्य कुनै पनि असहज अवस्थामा ब्यवसायीको साथमा संस्था हुनै पर्दछ, त्यस्तो अवस्थामा सहजीकरण गर्नका लागि महासंघले हामी छौं अभियान सुरु गरेको छ,´ महासंघका अध्यक्ष भट्टराईले भने ।

सो अभियानमार्फत भविष्यमा अन्य पक्षलाईसमेत समेट्दै लैजाने लक्ष्य महासंघले लिएको छ।

महासंघले केन्द्रीय समिती बैठक मार्फत ब्यवसायीको दक्षता वृद्धि गर्न आवश्यक नीति तय गर्ने,आवश्यकता अनुसार जिल्ला तथा प्रदेशमा सर्भिस सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?