
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका छन् ।
तेस्रो स्टेजको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले परिचित कलाकार गौतम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि उनी काममा फर्किन सकेनन् । उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको छ ।
गोरेटो कन्सलट्यान्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ । गोरेटो कन्सलट्यान्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो ।
विगत वर्षदिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन् । उनी भन्छन्, ‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदैछु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन ।’
कलाकार गौतमलाई कलाकर्मी, साथीभाई र शुभचिन्तकले आर्थिक सहयोग गर्दै आएको भएता पनि सरकारी तवरबाट कुनै पनि पहल नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डसम्म कुरा पुगेको भएता पनि सहयोग र आफ्नो उपचारबारे अहिलेसम्म कुनै पनि निर्णय भइसकेको छैन।’
प्रतिक्रिया 4