+
+

पीडारहित महिनावारी र समावेशी समाजको परिकल्पना

नारायणी देवकोटा नारायणी देवकोटा
२०८१ जेठ १९ गते ७:२५

महिनावारी भएको समयमा बिदा दिने भनेर बेलाबेलामा नीति बनाउन प्रयास गर्ने र असफल हुने सिलसिला केही समयदेखि चलिरहेको छ । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले चुनावका बेला काठमाडौं महानगरपालिकामा आफूले महिलालाई महिनावारी बिदाको व्यवस्था गर्ने भनेर घोषणा गर्दा धेरै आलोचना पनि भोगेकी थिइन् । त्यसबेला धेरैले यसलाई चर्चामा आउने ‘फन्डा’को रूपमा पनि लिएका थिए ।

यो घोषणा वा महिनावारीका बेला बिदा दिने विषयलाई केवल चर्चाको लागि गरिएको ‘फन्डा’ बुझ्ने व्यक्ति यो विषय वा शरीर विज्ञान नबुझेका मात्रै थिएनन् । त्यसमा केही चिकित्सक पनि थिए । धेरैले महिलाको ‘करिअर’सँग जोडेर बिदामा बस्ने कुराले महिला पछाडि पर्ने तर्क पनि जोडेका थिए । यसरी केही समयदेखि महिनावारीको समयमा बिदा दिने भनेर गरिएका प्रयास तातिने र सेलाउने भइरहनुका पछाडि महिला अधिकारकर्मीहरूका व्यक्तिगत अनुभवले काम गरिरहेको छ ।

महिनावारी भएका समयमा पनि काम गरिरहेको र त्यसले समस्या पारेका महिलाहरूका अनुभव–कथाहरू सार्वजनिक भइरहेको समयमा महिनावारी बिदाको सवाल बलियो भएर आउने गरेको छ । ‘जस्तोसुकै बेलामा पनि लड्नु–भिड्नुपर्छ, बराबर अधिकारका लागि बराबर काम गर्नुपर्छ’ भन्ने महिलाहरूका अनुभव–कथा सार्वजनिक भएको समयमा यो आवाज शिथिल हुँदै जाने गरेको छ । त्यो बेला ‘हो नि, समस्या कसलाई हुन्न ? समस्याको बीचमा नै काम गर्ने हो’ भन्ने सोच बलियो भएर आउँछ । यसरी बिदाको विषय पनि विषयान्तर हुने गरेको छ ।

निश्चित उमेर समूहका महिलाका लागि महिनावारी एक प्राकृतिक प्रक्रिया हो भन्ने बारेमा धेरैपटक बहस भएको छ भने त्यसलाई धार्मिक शुद्धताको आँखाले हेर्ने र व्यावहारिक आँखाले हेर्ने बहस पनि धेरै भएको छ । तर, यसलाई शारीरिक अशक्तता र यसले उत्पन्न गर्ने पीडाको आँखाले हेर्ने काम भने ज्यादै झिनो रहँदै आएको छ ।

नेपालमा महिनावारीको प्रसंग उठ्दा धेरैलाई यो समस्या कर्णाली वा सुदूरपश्चिमको मात्रै हो जस्तो ठान्ने पनि छन् । कतिपय जनजाति समुदायभित्रका मानिसमा यो ब्राह्मण–क्षेत्री महिलाको मात्रै समस्या हो भन्ने भ्रम पनि भएको पाइन्छ ।

धर्ममा आधारित मतमा टेकेर गरिने बहसमा, प्रायः कर्णाली वा सुदूरपश्चिमका महिलालाई गोठमा राखिने कुरालाई लिएर नेपाली समाज छाउपडी यस्तो–उस्तो भनेर बहसमा उत्रन्छ । तर, ‘छाउपडी’ कर्णाली वा सुदूरपश्चिममा मात्रै छ भन्ने धार्मिक आधारमा टेकेर निर्माण भएको आंंशिक बुझाइ हो । देशको र चेतनाको पनि राजधानी मानिने काठमाडौंकै सुविधासम्पन्न घरमा बस्ने र आफूलाई आधुनिक ठान्नेहरूको दिमागमा रहेको र व्यवहारमा समेत लागू भइरहेको ‘छाउपडी’ अझ डरलाग्दो छ ।

यसको एउटा उदाहरण ऋषिपञ्चमीको अनुष्ठान पनि हो जसले महिनावारीलाई पापसँग जोडेर हेर्छ । ‘हिन्दु महिलाको महान चाड’ भनेर भनिने तीजमा पनि सरकारले दरखाने दिनमा बिदा नदिएर ऋषिपञ्चमीमा बिदा दिने परम्पराले महिनावारीलाई हाम्रो सरकार आफैंले पाप मान्दै आएको पुष्टि गर्दछ । त्यस दिन बिदा दिनु भनेको महिलाले महिनावारी हँुदा छाउ गोठमा बार्न र महिनावारीको समयमा पूजाआजामा सहभागी नहुन, खानेकुरा कुहिन्छ भनेर विश्वास गर्ने चलनको आधार महिनावारी भनेको पाप नै हो भन्नेमा सरकार आफैं सहमत हुनु पनि हो ।

आजसम्म ‘कुरीति’का रूपमा मात्रै हेरिने गरिएकोमा यसलाई ‘महिलाको शारीरिक पीडा’को नजरबाट पनि हेर्नुपर्छ । समाजको संरचनामा आएको परिवर्तन, शहरी क्षेत्रमा घरबाहिर काम गर्ने महिलाको संख्यामा आएको उल्लेख्य वृद्धिलाई पनि ध्यानमा राखेर यसबारे निर्णय गरिनुपर्छ

महिनावारी बार्ने, महिनावारीको समयमा छोरीलाई लुकाउने, पाप कटाउने वा छाउ गोठमा राख्ने जस्ता कार्यहरूमा हिन्दु धर्म मान्ने कथित उच्च जातिका महिला सहभागी हुने भए पनि महिनावारीको शारीरिक, मानसिक समस्या भने सबै महिला र समग्र समाजको हो । उदाहरणका लागि महिनावारीकै कारण अथवा त्यसको शारीरिक पीडाका कारण महिला कर्मचारीले कार्यालय छोड्नु पर्दा उक्त कार्यालयको काम प्रभावित हुन जान्छ । महिनावारीको समयमा सरसफाइमा ध्यान पुर्‍याउन पाउने वातावरण नहँुदा महिलाको स्वास्थ्यमा परिरहेको प्रभावले परिवारमाथि आर्थिक–सामाजिक बोझहरू थुपारेकै हुन्छ ।

शहरहरूमा पर्याप्त सार्वजनिक शौचालय नहुनु, भएका शौचालयमा पनि सफा पानी र प्याड व्यवस्थापन गर्न मिल्ने भाँडो नहुने जस्ता शहरी महिलाका साझा समस्या हुन् । महिनावारी हुँदा भोग्नुपर्ने शारीरिक पीडा र मानसिक बेचैनीलाई लज्जाको विषय बनाउने, महिलामा हीनताबोध गराउने जस्ता सवालले पनि महिनावारी कुनै जात, धर्म, स्थानविशेषका नभई सबै महिलाका साझा समस्या हुन् ।

व्यावहारिक पक्षहरू

नेपाली समाजमा महिला, दलित र सीमान्तकृतका सवालमा प्रायः त्यही समुदायको मात्रै चासो र भूमिकाको कुरा गरिरहेको देखिन्छ । पितृसत्तात्मक समाजमा परिवारको निर्णायक भूमिका आमाभन्दा धेरै हदसम्म बुवाको हुने हुँदा महिनावारीको सवालमा पनि घरका पुरुष सदस्यले महिनावारी छुवाछूत गर्नुपर्ने विषय होइन र यो बेलामा महिलामा शारीरिक पीडा र मानसिक चिड्चिडाहट हुन्छ भनेर बुझिदिए धेरै समस्या समाधानतिर उन्मुख हुनसक्छन् ।

विद्यालय वा कार्यालयमा महिलाको साथसाथै पुरुषहरूले महिनावारी भनेको लज्जा, फोहोर र पापको विषय होइन भन्ने कुरामा संवेदनशील भइदिए, स्वास्थ्य तथा शारीरिक विषय पढाउने पुरुष शिक्षकले पाठ पढाउन छोड्ने वा अनुहार रातो बनाउँदै वा पुस–माघ महिनामा पनि पसिना पुछ्दै नपढाउने हो भने महिनावारीका विषयमा कुरा गर्न महिलाहरूमा पनि हिम्मत आउँथ्यो । विद्यालयदेखि सरकारी कार्यालय र सार्वजनिक शौचालयहरू पनि प्याड, सफा पानी र प्याड व्यवस्थापन गर्न मिल्ने सुविधा सहितका बन्न सक्ने थिए होलान् ।

महिनावारीको सवालमा व्यावहारिक पक्षहरू धेरै छन् । जस्तो कि, पसलमा प्याड किन्दा पसलेले त्यसलाई पत्रिकाले यसरी बेर्छन् मानौं त्यो कसैलाई देखाउनै नहुने कुरा हो । आजभोलि विपद्मा बाँडिने राहत सामग्रीमा प्याड पनि बाँड्न थालिएको छ । त्यसैगरी, कतिपय विद्यालयमा विद्यालय आफंैले वा विभिन्न संस्था वा निकायको सहयोगमा प्याड राख्न थालिएको पनि छ । तर, महिला शिक्षिका नहुँदा वा पुरुष शिक्षकहरूले प्याडसम्मको पहँुचलाई सहजीकरण नगरिदिंदा प्रयोग भने सहज भएको छैन ।

यी सबै कुराको बीचमा महिनावारीको समयमा हुने शारीरिक पीडा र मानसिक चिड्चिडाहटको बारेमा थोरै भए पनि पहल र प्रयासहरू हुनु सकारात्मक पक्षको रूपमा लिनुपर्ने हुन्छ ।

महिनावारीको समयमा हुने शारीरिक पीडा र मानसिक चिड्चिडाहट व्यक्ति–व्यक्तिमा भरपर्ने हुन्छ । साथै, एउटै व्यक्तिलाई पनि कुनै समय बिदा नै लिनुपर्ने गरी समस्या हुनसक्छ भने कुनै बेला खासै समस्या नहुन पनि सक्छ । ‘करिअर’ भन्ने पनि आफ्ना रहर, चाहना, आफ्ना सीमा र बाध्यतामा अन्तरनिर्भर कुरा हुन् । बिदा लिने नलिने व्यक्तिको इच्छामा अधिकारका रूपमा राखिएमा जरूरी परेकाले बिदा लिन्छन्, जरूरी परे पनि कसैले पीडा सहेर काम गर्छु पनि भन्लान् । जसलाई महिनावारी भएको समयमा पीडा हुन्न, उनीहरूले बिदा नलिन सक्छन् ।

सुनिता डंगोल वा अरू कसैले महिनावारीमा बिदाको कुरा गर्दा त्यसलाई अनावश्यक र ‘हास्यास्पद’ कुरा जसरी लिइयो र यसलाई फगत सार्वजनिक बिदाको संख्या अनि कार्यसम्पादनसँग मात्रै जोडियो त्यो दृष्टिकोणमा संशोधन आवश्यक छ । आजसम्म ‘कुरीति’का रूपमा मात्रै हेरिने गरिएकोमा यसलाई ‘महिलाको शारीरिक पीडा’को नजरबाट पनि हेर्नुपर्छ । समाजको संरचनामा आएको परिवर्तन, शहरी क्षेत्रमा घरबाहिर काम गर्ने महिलाको संख्यामा आएको उल्लेख्य वृद्धिलाई पनि ध्यानमा राखेर यसबारे निर्णय गरिनुपर्छ ।

लेखकको बारेमा
नारायणी देवकोटा

देवकोटा समाजशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?