+
+
दिलै खोलेर :

‘पलुटेड पोलिटिक्सले हैरानै पार्‍यो नेपालीलाई’

अर्जेन्टिनाकी उपन्यासकार मरियाना एन्‌रिक्युइजको एउटा किताब भर्खर पढें, ‘द डेन्जर्स अफ स्मोकिङ इन बेड’ । उनीसँग एक दिन गोवाको बीचमा बिताउँथें । यिनीसँग कफी, सिगरेट र विश्व सिनेमाबारे गफ गर्थें ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १९ गते २०:२१

शहरका फिक्सन-डिजाइनर कुमार नगरकोटीले ग्राफिक्स उपन्यास ‘जे थर्टी थ्री’ पछि अहिले फिल्म स्क्रिप्ट लेखेर सिध्याएका छन् ।

कुनै बेला आफ्नै नाटक ‘बाथटब’मा निःशब्द शमशेर राणाको भूमिका लेखेर ३२ वर्षपछि नीर शाहलाई स्टेजमा उतारेका नगरकोटीले यो स्क्रिप्ट तिनै नीर शाहका लागि लेखेका हुन् ।

बेग्लै हुलिया, विश्व साहित्य र ‘वर्ल्ड सिनेमा’का अतिरिक्त आसक्ति र सरर्रियल लेखनले परिचित नगरकोटीले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

नयाँ फिल्मको स्क्रिप्ट सकियो । यसको निर्देशन नीर शाहले गर्दै हुनुहुन्छ । पछिल्लो काम भनेको यही हो ।

२. पछिल्लो पटक के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

खुशीचाहिं दुइटा चिजले बनायो । यो मेरो मात्र नभएर हामी नेपालीको सामूहिक खुशीको कुरा हो– एउटा क्रिकेट अर्को सिनेमा । मीन भामले निर्देशन गरेको ‘साम्बाला’ जसरी बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पुग्नुले हामीहरूका लागि ठूलो अर्थ राख्छ जस्तो लाग्छ । त्यस्तै टी–ट्वान्टी क्रिकेट विश्वकपमा भएको नेपालको छनोट । हामीलाई संसारमा चिनाउने एउटा सिनेमा र अर्को क्रिकेट रहेछ । यो एकदमै ब्युटिफुल चिज हो । साहित्य मार्फत पुग्न हामीलाई अझै वर्षौं लाग्छ ।

३. के कुराले दिक्क बनायो ?

दिक्क त सदाबहार छ– राजनीति । नेपालीहरूलाई कहिल्यै नछोड्ने । पलुटेड पोलिटिक्सले हैरान पार्ने भयो पूरै नेपालीलाई ।

४. अबका योजना के छन् ?

योजना खासै केही हुँदैन मेरो । कहिल्यै योजना बनाएर हिंडिएन । जे आइलाग्छ, त्यही टर्छ टाइपको भयो । अहिले पनि यो गर्छु, त्यो गर्छु भन्ने छैन ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

मेरो लागि महत्वपूर्ण क्रियटिभिटी नै हो । सिर्जनशील हुनु नै महत्वपूर्ण कुरा हो । इम्याजिनेटिभ हुनु । अध्ययनशील हुनु नै सबभन्दा ठूलो कुरा हो ।

६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

रुचि त यति व्यापक छ कि भनिसाध्य भएन । ह्यान्डल गर्नै गाह्रो पर्ने कुरा छ । अनेक विषयमा रुचि छ ।

७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

नेपाली समाजको फरासिलोपना राम्रो छ । हाम्रो समाज खुला हृदयको छ । एकदम रिजिड छैन । अर्को एउटा छ, स्मृति क्षीण छ । यो राम्रो पनि हो, नराम्रो पनि हो । बिर्सिइहाल्ने । राम्रो कुरा पनि बिर्सिइदिने, नराम्रो पनि बिर्सिदिने । कसैका गुण र अवगुण दुवै बिर्सिने तरलता छ हाम्रो समाजमा ।

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? तपाईंलाई हाम्रो पत्रकारिता कस्तो लाग्छ ?

पत्रकारिता त सिफ्ट भएर डिजिटलतिरै गए जस्तो लाग्छ । यो ब्युटिफुल चिज पनि हो, यसले कन्टेम्पोररी बनाउँछ । सबभन्दा महत्वपूर्ण चाहिं तपाईं कत्तिको समकालीन हुनुहुन्छ भन्ने हो । पत्रिकासँग मेरो अहिले पनि प्रेम छ । म न्यूयोर्क टाइम्स पढ्छु । कफी खाँदै पल्टाउनका लागि म न्यूयोर्क टाइम्स पढ्छु । समाचारका लागि अनलाइन–डिजिटलमै जान्छु ।

म एउटा सिने-दैत्य हुँ । मन परेका त कति छन् कति । अहिले पनि हप्तामा कम्तीमा दश वटा फिल्म हेर्छु । फिल्म हेर्ने मामिलामा म पेशेवर हुँ । मुख्य पेशा नै फिल्म हेर्ने जस्तो भएको छ !

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

त्यस्तो छैन । म दुर्घटनावश लेखक भएको हुँ । जसरी अगाडिका कुनै योजना छैनन्, त्यसैगरी पहिलेका पनि थिएनन् । र, अब फर्केर पछाडि हेर्ने पनि कुनै योजना छैन ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

यो पुस्ता त गएगुज्रेकै जस्तो भयो । हामीले त योग्यतै गुमाइसके जस्तो लाग्छ । हामीले सामूहिक रूपले नयाँ पुस्ताका हिसाबले सान्दर्भिकतै गुमाइरहेका छौं । त्यसैले नयाँ पुस्ताका लागि केही गतिलो गर्ने योग्यतै यो पुस्तासँग छैन ।

किताब

१. पढ्ने बानी कसरी बस्यो ?

स्कुल लाइब्रेरीको यसमा सबभन्दा ठूलो योगदान छ, पुलिस स्कुल साँगाको । हाम्रो स्कुलको लाइब्रेरी चाहिं साँच्चिकै लाइब्रेरी नै थियो । किताबहरू एकदम धेरै थिए । लाइब्रेरी सुनसान नै हुन्थ्यो । म चाहिं अधिकांश समय कि लाइबे्ररीमा हुन्थें कि किताब ल्याएर पढ्थें ।

२. पढ्न मनपर्ने विधा ?

विधा अहिले आएर चाहिं एकदमै व्यापक विस्तार भएको छ । पहिले आख्यानमा विशेष रुचि थियो । पहिलेदेखि नै विविध खाले पढ्ने मान्छे हुँ । अहिले म ‘एटमिक ह्याबिट’ पनि पढ्छु, ‘द ह्वेल’ पनि पढ्छु । एकदमै सरर्रिएलदेखि एकदमै रियलसम्म सबै पढ्छु । विगत दुई तीन वर्षमा चाहिं संस्मरण पनि मन परिरहेको छ । विगत तीन–चार वर्षदेखि इन्डियन सिनेमामाथि म जसरी पढ्दै गइरहेको छु, यही रफ्तारमा पढ्दै गएँ भने शीघ्र नै बलिउडमाथि विशेषज्ञता हासिल गर्ने खतरा छ । मैले धुरन्धर पढेको चाहिं बलिउड बारे नै हो ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

प्रभाव भनेको समय अनुसार फरक पर्छ । प्रभाव पर्ने र समयसँगै त्यसबाट मुक्त हुने क्रम चलिरहन्छ । सुरुवाती समयमा परेको प्रभावचाहिं अलि लामो रहन्छ । त्योचाहिं अवचेतनमा बस्दोरहेछ । त्यसको मायावी आकर्षण हुन्छ । त्यस्ता केही किताबभन्दा पनि लेखक छन् । सात्र्र, कामु जस्ता दार्शनिक लेखकहरूको प्रभाव ममा त्यसरी रह्यो । मलाई किताबभन्दा नि दार्शनिक र चिन्तकहरूको प्रभाव बढी थियो ।

४. चर्चा सुनेको तर निराश बनाएको पुस्तक ?

हालसालै पढेको सलमान रुस्दीको ‘नाइफ’ ।

५. पुस्तकहरू ज्ञानको प्रसारका लागि लेखिन्छन् कि ज्ञानमाथि नियन्त्रण जमाउनका लागि ?

मूलतः ज्ञान प्रसारकै लागि होला ।

६. नेपालमा के कस्तो विषयमा पुस्तक लेखिनुपर्छ ?

अनेक विषयमा लेखिनुपर्छ । यो त यति बृहत् विषयमा लेखिनुपर्छ । विश्वको तुलनामा हेर्दा किताब त वर्षेनि आइरहेका छन् तर हाम्रो विविधताको फैलावट एकदमै कम छ ।

७. तपाईंका प्रिय लेखकहरू ?

मेरो अलटाइम फेवरेट होर्हे लुई बोर्हेस हुन् । यिनी मूलतः स्पेनिस भाषामा लेख्ने अर्जेन्टिनाका कथाकार हुन् । मैले यिनलाई अंग्रेजी अनुवादमा पढें । मन पर्नुको कारणचाहिं यिनको लेखन मानवमा अस्तित्वका रहस्यहरू समेटिए जस्तो लाग्छ । मानव मनोविज्ञानमा खेल्ने यिनको शैली छ । ज्ञानको विस्तीर्णता पनि व्यापक छ । एउटा लेखकमा ज्ञानको जुन विपुलता चाहिन्छ, त्यो यिनमा म भेट्छु ।

८. लेखक बन्न चाहनेले पढ्नुपर्ने पुस्तक ? 

म खानाको सौखिन हुँ । म दिउँसो १२ बजेतिर खाना खान्छु– दालभात तरकारी । म दिनमा एक छाक मात्रै भात खान्छु । साँझपख केही कच्याककुचुक खान्छु । राति केही खान्नँ । खसीको मासु र भात जति मिठो केही लाग्दैन

लेखक बन्न चाहने एकदमै नयाँ लेखकलाई रिफर गर्नुपर्दा एउटा चाहिं नर्वेका लेखक जस्टिन गार्डरको ‘सोफिज वल्र्ड’ । प्रारम्भिक चरणमा यसले लेखकलाई जिज्ञासु बनाउँछ । लेखक हुनलाई पहिले जिज्ञासु हुनुपर्छ ।

९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक अथवा कुनै किताबको पात्रसँग बिताउनुहुन्थ्यो ?

एकजना लेखिका छन्– अर्जेन्टिनाकी उपन्यासकार मरियाना एन्‌रिक्युइज । यिनको भर्खर एउटा किताब पढें, ‘द डेन्जर्स अफ स्मोकिङ इन बेड’ । उनीसँग एक दिन गोवाको बीचमा बिताउँथें । यिनीसँग कफी, सिगरेट र विश्व सिनेमाबारे गफ गर्थें ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

पहिलो सिनेमा काठमाडौंको जय नेपाल हलमा हेरेजस्तो लाग्छ । फिल्म हेरेको मात्रै सम्झना छ । फिल्मको खासै सम्झना छैन । स्पष्टसँग सम्झना भएको चाहिं रुकुम चौरजहारीमा भिडियो हलमा हेरेको अमिताभ बच्चनको ‘सिलसिला’ । त्यसको ‘देखा एक ख्वाब तो ए…’ गीत छायांकन गरिएको ट्युलिप गार्डेन मेरो स्मृतिमा अझै फुलिरहेको छ ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

मेरो रुचि त थ्रिलर, अझै साइकोलोजिकल थ्रिलर हो । हेर्नचाहिं सबै किसिमका हेर्छु ।

३. साह्रै मन परेका फिल्म ?

म एउटा सिने–दैत्य हुँ । मन परेका त कति छन् कति । अहिले पनि हप्तामा कम्तीमा १० वटा फिल्म हेर्छु । फिल्म हेर्ने मामिलामा म पेशेवर हुँ । मुख्य पेशा नै फिल्म हेर्ने जस्तो भएको छ !

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

फिल्ममा त्यस्तो हुँदैन । हरेक फिल्ममा केही न केही कुरा भइहाल्छ । कुनै दृश्यले, कुनै कलर टोनले केही न केहीले तान्छ ।

५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

अहिले त कसरी छान्नु ? फिल्म फेस्टिभलहरूले बढी काम गर्छ । राम्रो फेस्टिभलमा अवार्ड पाएको, चर्चा पाएको फिल्म हेरिहाल्छु ।

६. मन परेका कलाकार वा फिल्ममेकर ?

सदाबहार फेवरेट फिल्ममेकर रोय एन्डरसन हुन् । पछिल्लोमा यार्गोस लान्थिमोस् ।

७. नेपालमा कस्ता फिल्म बनुन् जस्तो लाग्छ ?

एकदमै प्रयोगवादी फिल्म बन्नुपर्छ । प्रयोग गर्नै हामी किन हिच्किचाइरहेको हो मलाई थाहा छैन । प्रयोग गर्न डराउनुभएन । प्रयोग नगरी कलामा नयाँपन, नयाँ कुरा आउन सक्दैन ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

योचाहिं एकदमै सामान्य प्रश्न लागे पनि खुंखार प्रश्न हो । संसारमा सधैं बहस हुने कुरा हो यो । यसले धेरै ठूलो बहस र विमर्शको माग गर्छ । तपाईंको जिन्दगी उदास र हैरानै छ भने हलमा एकछिन मनोरञ्जन गर्न गएको छ भने दैनिकी जीवनको फ्रस्टेसनदेखि मुक्त हुने एउटा उद्देश्य होला । एकातिर यो छ । अर्कोतिर म जस्तो दर्शक छ, जसले आठ घण्टा लामो लाभ डियाजको फिल्म पनि म इन्जोय गरिरहेको हुन्छु । वर्क अफ आर्ट र मिन्स अफ इन्टरटेनमेन्टका बीच यति धेरै कुरा हुन्छ । मैले सिनेमालाई वर्क अफ आर्ट भनेर हेर्छु भने त्यसमा वल्र्ड सिनेमाहरू आए । मेरो रुचिचाहिं यस्तामा छन् । तर, साथै ‘फ्युरोसा–म्याडम्याक्स’ पनि हेर्छु ।

खाना

१. नियमित खानाको रुटिन कस्तो छ ? खानाको कत्तिको सौखिन हुनुहुन्छ ?

यो सबै अन्तर्वार्ताको सबभन्दा राम्रो क्याटागोरी खानाकै हो । राजनीति, सिनेमा, किताबभन्दा खानै ठूलो हो । म खानाको सौखिन हुँ । म दिउँसो १२ बजेतिर खाना खान्छु— दाल–भात–तरकारी । म दिनमा एक छाक मात्रै भात खान्छु । साँझपख केही कच्याककुचुक खान्छु । राति केही खान्नँ ।

२. सबभन्दा मनपर्ने खाना ?

मलाई खसीको मासु र भात मन पर्छ ।

३. खाएको सबभन्दा मिठो परिकार ?

लेखक नबनेको भए म कुक, सेफ केही हुन्थें होला । वेटर वा वरिष्ता भए पनि ठिक छ । खानपिनसँग सम्बन्धित केही काम गर्थें होला

गनेस पौडेलको ‘पाइताला’को बुक टुरमा पोखराबाट बाग्लुङ जाँदा नौडाँडामा लगभग पाँच वर्षजति पहिले खाएको खसीको मासु–भात ।

४. सबभन्दा नमिठो परिकार ?

त्यस्तो नमिठो कुनै सम्झना छैन ।

५. संसारमा लडाईं खानाका लागि छ कि ? लड्नका लागि खाना जम्मा गर्नलाई छ ?

खानकै लागि त के लडाईं होला र !

६. तपाईंलाई मिठो पकाउन आउने परिकार ?

मासुको आइटम सबै ।

७. भान्साबाट कुनै समाजबारे कत्तिको थाहा पाउन सकिन्छ ?

अथाह थाहा पाउन सकिन्छ । समाजको स्वाद थाहा पाइन्छ, गन्ध थाहा पाइन्छ । संस्कार, संस्कृति, दैनिकी, जीवनशैली, परिवार र समाजको संरचना सबै कुरा भान्साबाट थाहा पाइन्छ ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

एरिस्टोटलको एक महान् वाणी छ– ‘म्यान इज अ पोलिटिकल एनिमल ।’ तर, यो देशमा चाहिं ‘म्यान इज अ पोलिटिकल पार्टिज एनिमल’ भएको छ । तर्क र सामान्य ज्ञानको हालत राजनीतिले ‘ऐसी की तैसी’ गरिदिएको छ ।

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

राजनीतिको मुख्य समस्यै दलहरू हुन् । हाम्रो सिस्टम नै यस्तो भयो कि सरकार बन्ने चक्र एउटा चक्रव्यूह जस्तो भयो । बहुमत कसैको नआउने अनि तेस्रो चौथो दलले सरकार चलाउने अवस्था छ । चुनावमा दर्शन, सिद्धान्त, आदर्श केही नमिल्ने पार्टीले गठबन्धन गरेर चुनाव लड्न परिरहेको छ । यसले गर्दा कुनै पनि दलको चिन्तन प्रणाली भन्ने नै रहेन ।

३. नेताहरूको एउटा चरित्र वा गुण सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

सुधार्नलाई पहिला त चरित्र हुनुपर्‍यो नि !

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

मलाई लोभ्याउने पर्सनालिटी भएको व्यक्ति चाहिं चे ग्वेभारा हुन् ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

नजाने गाउँको बाटै नसोधौं ! गाउँको पनि बद्नाम बाटोको पनि बद्नाम !!

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

दक्षिण अफ्रिकामा रंगभेद विरुद्ध आन्दोलन चलाइरहेको समयका महात्मा गान्धी ।

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

एक-डेढ घण्टा त चलाइन्छ । बढी चलाउने युट्युब । गुगल सर्च पनि धेरै चलाउनेमा पर्छ ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

राति सुत्नुअघि चाहिं हेर्ने बानी छ । बिहान छैन ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रो पक्ष यसले संसारसँग तपाईंलाई जोड्न मद्दत गर्छ । नराम्रो चाहिं यसको दुनियाँ साह्रै ‘टक्सिक’ छ ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना फैलाउने र मान्छेलाई भुलाउने काम बढी गरिरहेको छ ?

पहिलो नै अलिकति बढी होला । अहिले त सबै कुरा डिजिटल वर्ल्डतिर गइरहेको छ । मिस इन्फर्मेसन पनि छ यसमा । हामी अहिले जे को पनि ग्राहक हौं । त्यसलाई कसरी लिने भन्ने सेवाग्राहीको विवेकमा भर पर्छ ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

लाग्छ । एक त सामाजिक सञ्जाल र स्मार्ट फोनले यति धेरै कुरालाई विस्थापित गरिसक्यो । घडी–क्यामेरादेखि लिएर धेरै चिज विस्थापित भए । तर, पाठक त रहिरहन्छन् । पढाइको माध्यम चाहिं फेरिन सक्छ ।

पेशा/व्यवसाय

१. लेखक हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

राम्रै राम्रो छ । यसमा नराम्रो भन्ने केही छैन ।

२. कुन समयमा तपाईंलाई म लेखक नै बन्नुपर्छ भन्ने लाग्यो ?

यो प्रश्न अलि मिलेन । लेख्न मलाई पहिलेदेखि नै आनन्द आउने चिज हो । मलाई खुशी दिने कुरै यही हो । यो मेरो स्वभावजनित कुरा भयो ।

३. लेखक नबनेको भए के बन्नुहुन्थ्यो होला ?

कुक, सेफ केही हुन्थें होला । वेटर वा वरिष्ता भए पनि ठिक छ । खानपिनसँग सम्बन्धित केही काम गर्थें होला ।

४. तपाईंको कोही रोलमोडल छ ?

त्यस्तो खासै रोलमोडलै भन्ने त कोही पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?