+
+
ब्लग :

मेरो बाल्यकाल : मीमांसा अनि मन्थन

त्यसपछि त्यो परिवार कहिल्यै पनि गाउँ आएन । सोच्छु त्यो परिवार कहाँ गएर बस्यो होला ? अहिले कहाँ र कस्तो अवस्थामा छ होला ? यत्रो वर्षभर किन फर्केर आएन होला ?

विज्ञान राज विज्ञान राज
२०८१ जेठ १९ गते १४:०५

मैले लेखिरहेको निबन्ध ‘मेरो बाल्यकाल’ भूतकालको बारेमा हो । यदि म बाल्यकालीन दिनहरूमा यही निबन्ध लेखिरहेको भए त्यस अवस्थामा मेरो बाल्यकाल वर्तमान हुनेथियो र यदि शिशु अवस्थामा वा गर्भावस्थामा मैले लेख्न मिल्ने भए मेरो बाल्यकाल भविष्य हुनेथियो । त्यसकारण सापेक्षताका आधारमा समय परिभाषित हुने गर्दछ ।

समयको सापेक्षतामा ‘मेरो बाल्यकाल’ भूतकाल भएपछि मैले लेख्ने बाल्यकालमा स्वाभाविक रूपमा कल्पना आउनेछ । किनभने चेतनाको बनोटले मानिसका लागि भूत र भविष्य फगत कल्पनाका स्वरूप मात्र हुने गर्दछन् । तर मसिनो धर्सोको फरक के हो भने भूतकाल यथार्थमा घटेको घटनामा रहेर कल्पना गरिने हो ।

कि कहीं कतै तपाईंको मानसपटलमा र मनमा त्यस घटना बारेमा सचेतना, सतर्कता र आभास रहिरहेको हुने गर्दछ जसमा सहायक रूपमा कल्पना गरिएको मुख्य घटना विगतमा अवस्य रूपमा घटेको नै थियो भने भविष्य पनि त्यही सचेतना र आभासका आधारमा कल्पना गरिने नै हो तर त्यसमा कल्पना गरिएको घटना उत्तिकै घट्न पनि सक्छ, उत्तिकै नघट्न पनि सक्छ ।

भन्नुको मूल तात्पर्य यो हो कि विगत घटिसकेको यथार्थको परिणामको रूपमा कल्पना गर्ने गरिन्छ भने भविष्य भूतमा घटिसकेको र वर्तमानमा घटिरहेको यथार्थको आधारमा अथवा कालान्तरमा घट्न पनि सक्ने, नघट्न पनि सक्ने यथार्थको स्वरूपमा कल्पना गर्ने गरिन्छ ।

मेरो बाल्यकाल बारेमा लेख्न बस्दा वा यसबारेमा सोच्न बस्दा आउने भनेकै सम्झना हो । केही सम्झना नआए कुनै कुरा भूतकाल हुन असम्भव छ अर्थात् मेरो बाल्यकाल बारेमा वा अन्य कुनै पनि कुराहरू बारेमा हामी कसैलाई केही पनि थाहासम्म हुँदैन । अर्थात् सम्झना भनेको भूतकाललाई लिएर घट्ने अमूर्त कुरा हो । जो कदापि वर्तमान र भविष्य हुन सक्दैन । अर्थात् प्रमुखतः सम्झना भनेको कल्पना हो ।

जस्तोः मेरो बाल्यकाल भन्दा बित्तिकै सबैलाई आफूले बिताईआएको त्यस समय बारेमा कत्ति पनि समय नलगाएर झल्याकझुलुक सम्झना आइहाल्ने गर्छ ।

व्यक्तिपरक जीवनीका आधारमा सम्झनामा एकसाथ आइहाल्छन् घर, आँगन, परिवार, विद्यालय, खेत, खलिहान, गल्ली–गल्छेडा, साथीसंगाती, वनजङ्गल लगायत धेरै रमाइला नरमाइला पात्र, परिवेश, घटना र प्रसंगहरू । अथवा जो–जो पात्रहरू, जस्ता–जस्ता परिवेशहरू, जुन–जुन घटनाहरू र जे–जे प्रसंगहरू हाम्रो सम्झनामा आउँछन् ती यथार्थ थिए र हाम्रो साक्षात्कार विगतमा तिनीहरूसँग अवश्य रूपमा भएको नै थियो ।

अथवा कति धेरै कुराहरू सम्झनामा आउन नसकेका होलान् जो विशेष जोडबल र परिस्थितिमा मात्र आउने गर्दछन् । तर ज–जसलाई सम्झिन सक्यौं वा जो–जो हाम्रो सम्झनामा आउन सके ती हाम्रो दिमागमा, मनमा र आँखामा कसरी आए ? जो अहिले सामुन्ने छँदै छैनन् ती सम्झनाको स्वरूपमा कसरी आउन सम्भव भयो ?

विज्ञानको अहिलेसम्मको अधिकतम विकासले विगतका कुराहरू वर्तमानमा हुन सम्भव छ भनेर प्रमाणित गरेको पनि छैन । भनेपछि ती पात्र, परिवेश, घटना र प्रसंगहरू सम्झनामा आउनुको मुख्य कारण दिमाग हो र दिमागद्वारा गरिने कल्पना । अर्थात् भूतकाल सम्झना हो; जो आखिरमा कल्पना हो र कल्पना जो आखिरमा भूत र भविष्य दुवै हो ।

तर यस्तो कुनै पात्र, परिवेश, घटना र प्रसंग सम्झनामा आउने छैन वा सम्झना हुने छैन जोसँग हाम्रो प्रत्यक्ष अप्रत्यक्ष रूपमा कहिल्यै पनि साक्षात्कार भएकै थिएन । भन्नुको तात्पर्य यो हो कि भूतकालमा वा मेरो बाल्यकाल बारेमा सम्झना गर्दा अर्थात् कल्पना गर्दा एउटा सीमित परिधिमा मात्र गर्न सम्भव छ भने भविष्यमा असीमित तवरमा कल्पना गर्न सम्भव छ ।

जस्तोः मलाई बाल्यकालको एक वर्ष होस्टलमा बिताएको बारेमा झट्ट सम्झना आएको छ । त्यो होस्टल कुनै बोर्डिङ स्कुलको होस्टल थियो । दैलेखबाट कुनै सरकारी विद्यालयको कक्षा चारको सुरुवाततिर पढ्दापढ्दैको मलाई ल्याएर त्यस बोर्डिङमा कक्षा दुईमा भर्ना गरिएको थियो ।

त्यतिखेर म आठ वर्ष उमेरको थिएँ । सुर्खेत आउँदा म ट्रकमा आएको थिएँ । केही दिन मामाघर बसालेर अनि केही बोर्डिङ स्कुलको प्रवेश परीक्षा दिन लगाएर त्यस बोर्डिङ स्कुलमा कसोकसो मिलाएर मलाई भर्ना गरिएको थियो । किनभने सम्झना भएसम्म मैले दिएका कुनै पनि प्रवेश परीक्षामा म उत्तीर्ण भएको थिइनँ ।

त्यो स्कुलमा अंग्रेजी अनिवार्य थियो तर मलाई केही समझ नआएको कुरा, त्यसकारण पिटाइ खाएको कुरा, कोही साथी नभएको कुरा, आतंकित भएर गुजारेका दिन लगायत धेरै कुराहरू । अथवा यसरी क्रमशः बालापन अगाडि बढेर यो निबन्ध लेखिरहेको समयसम्म आइपुगेका धेरै कुराहरू सम्झना स्वरूप यतिखेर मानसमा आइरहेका छन् ।

अब माथिको प्रसंगमा भूतकाल कल्पना गर्दा परिधि हुन्छ भन्ने कुरालाई गौर गरौं । म दैलेखबाट सुर्खेत कसरी ल्याइएँ ? भन्ने कुरामा मलाई रामागाड भन्ने ठाउँ, जहाँ ठूलोबुवा ठूलोममीको पसल थियो, त्यहाँबाट ट्रकमा चढाएर ल्याइएको सम्झना छ । तर घरबाट रामागाड कसरी आइपुगें ? गाडीबाट ल्याइएँ ? कि हिंडालेर ? कि बोकेर ? कि घोडामा ? यस कुरामा यतिखेर म अनुमान मात्र लगाउन सक्छु ।

अनि ट्रकमा चढाएर मलाई सुर्खेत ल्याइएको थियो भन्ने कुरामा पहिलोचोटि गाडी देखेको मैले के के सोचे हुँला ? ममा कस्ता–कस्ता प्रश्नहरू उब्जे होलान् ? त्यतिखेर डराएँ कि डराइनँ हुँला ? के हो यो भनेर सोधें कि सोधिनँ हुँला ?

त्यति लामो बाटो बारेमा मेरा के कस्ता धारणा बनेका थिए होलान् ? धारणाहरू बन्दै भत्किंदै गर्ने क्रममा म सुत्न सकें हुँला कि यात्राभर जागिरहें हुँला ? अनि घरको सम्झना आयो, आएन होला ? मैले बुवाको हात अथवा कपडा चपक्क समाते हुँला कि समातिनँ हुँला ? फेरि सुर्खेत कतिखेर पुगियो होला ? पहिलोचोटि सुर्खेत पुगेको म पहिलो चोटि देखेको सुर्खेतलाई देखेर कति पटक छक्क परे हुँला ?

कति आतंकित र भयभित महसुस गरें हुँला वा गरिनँ हुँला ? गाडी नै गाडी, एउटा बक्सभित्र दृश्यहरू चलायमान हुने टि.भी., मान्छे नै मान्छे, पसल नै पसल, घरैघर, अथवा आफ्नो जस्तो ढुङ्गामाटोका घरहरू नदेख्दा, आफ्ना साथीहरू नदेख्दा, आफ्ना गाईवस्तुहरू नदेख्दा, आफ्नो विद्यालय नदेख्दा, आफ्नो परिवार नदेख्दा, परको लामाडाँडा, तलको खोला, अलिपरको ओडार, घर पछाडिको खिरखिरेको डाँडा केही पनि नदेख्दा अथवा ठिक उल्टो आजसम्म आफूले देख्दै नदेखेका सारा चिजहरू एकाएक देख्दा मैले बुवालाई कतिपटक हेरें हुँला ?

अथवा ठीक विपरीत मलाई यी सब चिजले कुनै असर नपारी कतै म रमाइरहेको पो थिएँ कि ? घुलमिल भइहालेको पो थिएँ कि ? खासै नौलो मानिरहेको थिइनँ कि वा उत्पात अचम्भित परिरहेको थिइनँ कि ?

अहिले मैले यी सब चिज बारेमा भनें भने पक्कै पनि म कल्पना गरेर भन्नेछु । जो त्यतिखेरको यथार्थसँग केही प्रतिशत मात्र मिल्न जानेछ । तर म जो कल्पना गरेर भन्नेछु त्यो विगतमा घटेको मुख्य घटनालाई केन्द्रविन्दु बनाएर भन्नेछु जो भन्न खोजेको घटनासँग मिल्न–मिल्न जानेछ । तर ठ्याक्कै मिलिहाल्ने भने छैन । किनभने कल्पना चाहे त्यो यथार्थमै टेकेर किन नगरिएको होस्, हुबहु यथार्थ हुन सम्भव छैन । हो बरु त्यो यथार्थ जस्तै लाग्न भने सम्भव छ ।

त्यसैले मैले भन्नुपर्दा त्यस मुख्य घटनाको पेरीफेरीमा रहेर उसको मर्म अनुरूप मात्र भन्नेछु जो कोरा कल्पना कदापि हुने छैन/हुनसक्ने छैन ।

सुन्दा वा पढ्दा तपाईंहरूलाई त्यति अपत्यारिलो लाग्ने छैन पनि । तर मेरो बाल्यकाल बारेमा मैले कोरा कल्पना अर्थात् विगतको मुख्य घटनालाई आधार बनाएर कल्पना गरिनँ भने मैले भनेका वा लेखेका सारा बाल्यकालीन सम्झनाहरू अवश्य पनि भविष्यमा गरिने कोरा कल्पना सरह हुनेछन् जो विगतमा कदापि घटेकै थिएनन् । जो विगतमा घट्न सम्भव नै थिएनन् ।

‘मेरो बाल्यकाल’ बाट दुइटा कुरा, एक यो कल्पना हुनेछ र अर्को त्यस कल्पनाको एउटा सीमित परिधि हुनेछ भनिसकेपछि तेस्रोमा त्यो अपरिवर्तनीय हुने गर्छ भन्न खोजिनेछ । जस्तो ः विगतमा घटेका कुनै पनि कुराहरू हामी चाहेर होस् वा नचाहेर होस् परिवर्तन गर्न सक्दैनौं ।

चाहे ती जुन तवरमा हाम्रा विरुद्धमा हुन् वा जुन तवरमा ती हाम्रा पक्षमा नै किन हुन् । हामी सबैलाई अवश्य रूपमा पनि बाल्यकालमा घटेका केही त्यस्ता घतलाग्दा घटनाहरू परिवर्तन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

त्यसकै छकछकमा हामी निराश भएर सकेसम्म आगामी वर्तमानमा त्यसको असर बारेमा सचेत र सतर्कता अपनाउँदै त्यो र त्यस्तै घटना दोहोरिएर नघटोस् भन्नेमा जीवन निर्वाह गर्न विवश हुन्छौं ।

मेरो बाल्यकाल लेख्न बस्दा वा सोच्न बस्दा अथवा जब म आफ्नो बाल्यकाल बारेमा जहिल्यै सम्झना गर्ने गर्छु त्यस अवस्थामा केही घटनाहरू आउँछन् मथिङ्गलमा तँछाडमछाड गरेर जो मलाई कदापि पाच्य हुँदैनन्, सह्य हुँदैनन् । जसलाई म फेरि सम्झिन चाहन्नँ र तुरुन्त परिवर्तन गर्न चाहन्छु । जसलाई म घृणा गर्छु र त्यो कहिल्यै पनि भएकै थिएन ठान्ने असफल प्रयत्न गरिरहन्छु ।

जस्तो मलाई सम्झना छ एउटा घटनाको जो मिल्ने भए परिवर्तन गर्ने थिएँ । विद्यालयबाट हुलमा आ–आफ्ना घर फर्किएका थियौं दिदीहरू र म, दिदीहरूका साथी र मेरा साथीहरू । अलि तलैबाट घरको खला (आँगन) को डिलमा तीन जना मानिसहरू लहरै बसिरहेको देख्यौं ।

एउटा पुरुष थियो, अर्की महीला थिई र छेउको सानो आकार र उचाइको चैं हामी जस्तै बच्चो थियो जो विद्यालय नगएर त्यो दिन हाम्रो घर आएको थियो । किन आएको थियो ? हामी सबैको कौतूहलको विषय बनेको थियो । हामीहरूले कपडा फटाफट फेरेर आएर पुनः उस्तै दृष्टिले ती तिनै जनालाई टुलुटुलु गरेर हेर्न थाल्यौं ।

सर्वप्रथम यिनीहरू खासमा को थिए ? परिचय गराइहाल्छु । त्यो सानोवाला म जस्तै र जत्रै फुच्चे केटो जो थियो ऊ मेरो कक्षामा पढ्ने गर्थ्यो ।  उसलाई हामी उसको नामबाट नबोलाएर उसको बुवाको नामबाट बोलाउने गथ्र्यौं । खासमा उसको बुवाको नामबाट भन्दा पनि उसको बुवालाई गिज्जाउने उपनामबाट बोलाउने गथ्र्यौं । उसको बुवालाई कुप्रे भन्थ्यौं किनभने शारीरिक असन्तुलनका कारण कुप्रो परेको जो थियो ।

अनि उसको छोरोलाई कुप्रेको छोरो भनेर गिज्जाउँथ्यौं । हामी मात्र यस्तो भन्दैनथ्यांै, सारा गाउँ यही भन्थ्यो, सारा विद्यालय यही भन्थ्यो ।
एकैछिनमा घरकाले मेरा पुराना कपडाहरू ल्याएर दिए ।

कुप्रेको छोरो खुसी हुनै लाग्दा हामीहरूले उसलाई घुरिरहेको थाहा पाएपछि पलझपकमै ऊ दुःखी भइहालेको थियो । फेरि घरकाले हामीले ओढ्ने ओछ्याउने गरेका पुराना भइसकेका र आधाउधि च्यातिइसकेका सिरक डसनाहरू ल्याएर दिए । तिनीहरूले चुपचाप डोकामा हाले । अनि मकैका रोटीसँग तोरीको साग खाँदै हाम्रो विद्यालय जाने बाटोतिरबाट लाइन लागेर आफ्नो घरतिर लागे ।

भोलिपल्ट विद्यालय नपुग्दै बाटोबाटै मैले एउटा हल्ला चलाउन सफल भएँ । कुप्रेको छोरोले मेरा कपडा मागेर लिएको छ भनेर । विद्यालय पुगेपछि त्यो हल्ला झन् व्यापक बनिसकेको थियो । केहीछिनमै मैले चलाएको हल्लालाई पुष्टि गर्दै कुप्रेको छोरो मेरो कपडा लगाउँदै उफ्रिंदै आयो । सारा विद्यालयले उसलाई यसरी हेर्‍यो मानौं ऊ नाङ्गै आएको छ र उसलाई यसबारेमा कत्ति पनि होश छैन ।

अप्रत्यासित दृश्यको सिकार भएको उसको आवरण अपर्झट फुङ्ग उड्यो सबैतिर एकनासले र एकसासले । यत्तिकैमा कत्ति ढिलो नगरेर मैले पनि भनि नै हालें— मागेको मेरो कपडा लगाएर आयो कुप्रेको छोरो ।

मैले भनेको मात्र के थिएँ विस्तारै अर्कोले । अर्कोले । अर्कोले । गर्दागर्दै सारा विद्यालयले पालैपालो र पछिपछि त एकस्वरमा भन्न थाल्यो । ऊ बेइज्जतले वशीभूत भयो । पिलपिल आँसु झारेर ऊ रुन थाल्यो तर विडम्बना कस्तो भने कराएर रुन भने उसले सकेन ।

विद्यालयको घण्टी बज्यो । केही छिनमै फटाफट सबैजना गेटभित्र पसे र बिहानीको नित्यमा चलायमान रहे । तर यता ऊ भने बुढीऔंलाले माटो कोट्याउँदै सुँक्कसुँक्क गर्दै त्यही गेट बाहिर अडिरह्यो बिल्कुल जडवत् ।

एकैछिनमा विद्यालय परिवार उसको वरिपरि भेला भयो । तिनीहरूले अनेक गरेर उसलाई बोलाउँदा र फकाउँदा पनि उसले त्यहाँबाट विद्यालय गेटभित्र प्रवेश गर्ने आत्मबल र ऊर्जा जुटाउन भने कसै गरेर सकेन । जुटाउन सक्ने गरी बेइज्जत उसको भएको पनि कहाँ थियो र ! बरु केहीबेरमै बुढीऔंला मोडेर दुगुर्दै ऊ आफ्नो घरतर्फ रवाना भने भएको थियो ।

त्यसको अर्को दिन सबेरै त्यो परिवारले गाउँ छाडेर कैलालीतर्फ लागेको खबर थाहा पाउँदाको क्षण अहिले सम्झिल्याउँदा कसैले मलाई तत्क्षण त्यही धसिदिए हुन्थ्यो, त्यही छुमन्तर गरिदिएर विलीन गरिदिए हुन्थ्यो अथवा नभए सम्झनाबाट त्यो क्षण चटक्कै गायब गराइदिएर बिर्सना बनाइदिए हुन्थ्यो जस्तो लाग्छ ।

अझ यो सम्झेर मलाई गाह्रो बनाउने गर्दछ कि त्यसपछि त्यो परिवार कहिल्यै पनि गाउँ आएन । सोच्छु त्यो परिवार कहाँ गई बस्यो होला ? अहिले कहाँ र कस्तो अवस्थामा छ होला ? यत्रो वर्षभर किन फर्केर आएन होला ? कोही गाउँलेले पनि किन त्यस परिवारलाई कहीं पनि फेला पार्न सकेनन् होला ? अस्तित्वमै छैनन् अथवा छन् होला कतै न कतै तिनीहरू ? के मेरो कारणले तिनीहरूलाई गाउँ नै छोडिहिंड्न परेको थियो होला ?

यस्ता अन्य घटनाहरू छन् जो नहुनु थियो मेरो बालापनमा भन्ने लाग्छ । तर प्रकृतिको रहस्य यस्तो छ कि हामी चाहेर वा नचाहेर त्यसलाई परिवर्तन गर्नै सक्दैनौं । र हामी त्यसकै जलन र सम्झनामा जीवनभर बाँच्न जबरजस्त रूपमा अभिशप्त हुन्छौं । तर फेरि यो होइन कि हामी यस्ता कुराहरू कहिल्यै भुल्न सक्दैनौं भन्ने । अवश्य पनि भुल्न सक्छौं ।

सायद जुन कुरा हामी कसै गरेर पनि परिवर्तन गर्न सक्दैनौं, त्यसलाई हामीले मज्जैले भुल्न भने सक्दा रहेछौं । त्यसरी नै हाम्रो दिमागमा नसाहरूलाई गुजुल्ट्याइएको होला । विज्ञानले यस्तो धेरै पल्ट भनिसकेको छ र प्रमाणित पनि गरिसकेको छ । मलाई लाग्छ यही कारणले नै जीवनलाई सार्थक र मूल्यवान् बनाएको हुनुपर्छ ।

अन्त्यमाः ‘मेरो बाल्यकाल’ समयको जिम्मा लगाएर युवावस्थामा आइसकिएको हुनाले त्यसमा धेरै सुर्ता र पीर लिनुपर्ने लाग्दैन तर जो–जो मेरो बाल्यकालको वर्तमान अवस्थामा, व्यवस्थामा र परिस्थितिमा समयसँग पौंठेजोरी खेल्दै जीवन बाँच्दैछन् तिनीहरू बारेमा भने हामी सबैले गम्भीरता देखाउनैपर्छ ।

तिनीहरूको बाल्यकाल कसरी सुखद्, सजिलो र स्वच्छ हुन्छ भन्ने कुरामा परिवार, समाज, राज्य र अन्तर्राष्ट्रिय जगत नीतिगत, व्यावहारिक र वैज्ञानिक अवधारणाका साथ लाग्नुपर्ने हुन्छ । किनभने ‘मेरो बाल्यकाल’ समयको जिम्मा लगाउँदा कस्तो लगाउँछौं भन्नेले युवावस्थाको वर्तमान र बुढ्यौलीको वर्तमान निर्धारण गर्न धेरै भूमिका खेलिरहेको वैज्ञानिक, मेडिकल र सामाजिक अध्ययनबाट थाहा पाइएको कुरा छ ।

त्यसकारण परिवार कति र कसरी पारिवारिक हुने ? समाज कति र कसरी सामाजिक हुने ? राज्य कति र कसरी कल्याणकारी र समाजवादी हुँदै साम्यवादी हुने ? र विश्व मानवता कति र कसरी एकत्रित हुने ? लगायत जति पनि जगतको अस्तित्व लक्षित दार्शनिकी र प्रश्नहरू छन् तिनमा सबैको ‘मेरो बाल्यकाल’ कस्तो थियो, कस्तो भइरहेको छ र कस्तो हुनेछ आगामी दिनहरूमा भन्नेले दिशानिर्देश गरिरहेको हुन्छ । अतः सबैको ‘मेरो बाल्यकाल’ बाल्यकाल जस्तै हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?