
१९ जेठ, काठमाडौं । कक्षा १ मा पढ्ने परिषा खड्का शनिबार अपरान्ह हाँडीगाउँको कृष्णमन्दिर नजिकै आफ्ना ४ जना साथीसँग लुकामारी खेल्दै थिइन् । हिजोआज उनलाई कहिले शनिबार आउला र सडकमा खेल्न जाऊँला भन्ने लागिरहन्छ । प्रत्येक शनिबार ३ बजेपछि उनी सडकमा निस्कन्छिन् र मज्जाले खेल्छिन् ।
‘अरुबेला त बाहिर निस्कदा मामुले गाली गर्नुहुन्थ्यो । अहिले त गर्नुहुन्न, आफैं खेलेर घर फर्किन्छौं’, उनले खुसी हुँदै भनिन् । पसल चलाउने उनकी आमालाई पनि छोरी सडकमा खेल्न जाँदा पहिले जस्तो चिन्ता हुन छाडेको छ ।
****
त्यही सडकमा आफ्नी १० महिनाकी छोरीलाई साइकलमा डुलाउँदै थिए रवीन्द्र र एलिजा खाती दम्पती । सानी छोरीलाई सडकमा निर्वाध डुलाउन पाउँदा उनीहरु मख्ख देखिन्थे । ‘यो त एकदम राम्रो हो नि ! शनिबार ३ बजेपछि नानीलाई सडकमा डुलाउन पाउँछौं’, नेपाली सेनामा कार्यरत रवीन्द्रले भने, ‘यस्तो ठाउँ पाएपछि त बच्चा हुर्काउन पनि सजिलै हुन्छ ।’
काठमाडौं महानगरपालिका–५ मा पर्ने हाँडीगाउँ क्षेत्रको करिब ८०० मिटर सडकमा २०८० असोज ५ देखि शनिबार दिउँसो ३ देखि ७ बजेसम्म सवारी साधन निषेध गरिएको छ । त्यसैले यस क्षेत्रका बालबालिका सडकमा निर्धक्क खेलिरहेका हुन्छन्, वयस्कहरु पनि खुला ठाउँ खोज्दै सडकमा निस्कन्छन् । कसैले सडकमा खेल्न र डुल्न निस्केकाहरुलाई लक्षित गरेर व्यापार व्यवसाय गरिरहेका हुन्छन् ।
१० वर्षका सिजल खड्का खुला सडकमा ढुक्कले साइकल चलाइरहेका छन् । हरेक शनिबार गाडी निषेध गरेपछि उनलाई अभिभावकले साइकल किनिदिएका छन् । उनी हरेक शनिबार ३ बज्नेबित्तिकै सडकमा आउने उनी नथाक्दासम्म साइकल चलाइरहन्छन् ।
‘म त साँझ ४/५ बजेपछि मात्रै घर जान्छु’, अनलाइनखबरसँग सिजलले आफ्नो खुसी बाँडे, ‘अरुबेला त यो बाटोमा कति धेरै गाडी चल्छ, शनिबारमात्रै हो हामीले खेल्न पाउने ।’
फुटबलर क्रिस्टियानो रोनाल्डोका फ्यान १० वर्षीय विसन थापा फुटबल लिएर आएका छन् । साइकल चलाएर खाजा खान घर गएका उनका साथीहरु फुटबल खेल्न आउँदैछन् ।
‘अब साथीहरु आउनेबेला भयो । हामी कहिले फुटबल खेल्छौं, कहिले बास्केटबल, लुकामारी पनि खेल्छौं’, रुद्रमती पाठशालामा कक्षा ५ मा पढ्ने थापाले भने, ‘शनिबार त कति धेरै रमाइलो हुन्छ ।’
कृष्णप्रभा प्राइमरी स्कुलमा कक्षा ५ मा पढ्दै गरेका १० वर्षीय रोशन चौहान पनि सँगै बस्ने १५ वर्षीय अफिन बुढाथोकीसँग भलिबल खेल्न बाटोमा निस्केका छन् । ‘अरुबेला त गाडीले हान्छ, खेल्न नजा भन्नुहुन्छ । शनिबार त केही भन्नुहुन्न’, भलिबल खेलेर असिनपसिन भएका उनले भने, ‘बाटो बन्द भएको बेला खेल्न पाउँदा कस्तो रमाइलो हुन्छ ।’
हाँडीगाउँमा नयाँ अभ्यास
हाँडीगाउँमा हरेक वर्ष एउटा जात्रा लाग्छ, जुन अन्यत्र भन्दा नौलो प्रकृतिको छ । अन्यत्रको जात्रामा खटको गजुर सुल्टो राखिन्छ भने यहाँ उल्टो राखिन्छ । त्यसैले कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने चलन छ ।
खुला ठाउँ र खेलमैदानको अभाव रहेको काठमाडौंमा हाँडीगाउँले सुरु गरेको यो अभ्यास पनि नौलो हो । काठमाडौं महानगरपालिका वडा नं ५ ले गरेको यो प्रयासका कारण हाँडीगाउँको सडकमा हरेक शनिबार साँझ सानोतिनो मेला नै लागेको छ ।
सवारी साधन निषेध गरेर बालबालिकाका लागि खुला गर्दा राम्रो प्रतिक्रिया आइरहेको वडाध्यक्ष वीरेन्द्र प्रजापति बताउँछन् ।
‘अहिले करिब ८०० मिटर बाटोमा नो भेहिकल जोन बनाएपछि बाटोमै केटाकेटी खेल्न पाउँदा एकदमै रमाइराखेका छन्’, वडाध्यक्ष प्रजापतिले भने, ‘अहिले हामी परीक्षणकै अवधिमा छौं । बाटो बन्द भए पनि यहाँ व्यापार झन् बढेको छ ।’
शनिबार ३ बजेपछि सवारी निषेध गरेका बेला यहाँ सडक व्यापारका लागि पनि खुला हुन्छ । यसले तरकारी बेच्नेहरु र सडकमा खाजा पसल चलाउनेहरुलाई आम्दानी भइरहेको प्रजापति बताउँछन् ।
‘वडाले अहिले नियमित रुपमा विभिन्न तालिम पनि सञ्चालन गरिरहेको छ । तालिम लिनेहरुले उत्पादन गरेका वस्तुहरु शनिबार यहीँ ल्याएर बिक्री गर्ने व्यवस्था मिलाएका छौं’, वडाध्यक्ष प्रजापतिले भने, ‘अर्गानिक खाना, तरकारी शनिबार यहाँ किन्न पाएपछि सबै खुसी छन् ।’
घण्टामै १२ हजार सवारी साधन गुड्थे
लिच्छिवीकालीन सम्पदा क्षेत्र हाँडीगाउँमा भविष्यमा पूर्ण सवारी साधन निषेधित क्षेत्र बनाउने योजना रहेको वडाध्यक्ष प्रजापतिले सुनाए । सवारी साधन निषेध गर्नुअघि वडा कार्यालयले त्यस क्षेत्रमा कति सवारी साधन गुड्छन् भनेर अध्ययन पनि गरेको थियो ।
अध्ययनले एक घण्टामा १२ हजार वटा गाडी यस क्षेत्रमा आउजाउ गरेको देखिएको वडाध्यक्ष प्रजापतिले बताए । ‘सबैभन्दा बढी मोटरसाइकल र कार हिँड्ने रहेछन् । अहिले सवारी निषेध गरे पनि समस्या छैन, हामीले वैकल्पिक बाटो पनि दिएका छौं’, उनले भने ।
हाँडीगाउँको सडकलाई निकट भविष्यमै सम्पदा पैदलमार्गका रुपमा विकास गर्ने योजना पनि रहेको वडाध्यक्ष प्रजापतिले सुनाए । उनका अनुसार अहिले शनिबारबाहेक अन्य दिनमा कृष्णमन्दिर परिसरको सडक एकतर्फी बनाउने र पछि विस्तारै साइकल मार्गका रुपमा विकास गर्ने योजना रहेको छ ।
‘सम्पदा मार्गका रुपमा विकास गर्न विभिन्न जात्रा हुने बाटो वरिपरि ५० फिटभन्दा अग्ला घर बनाउन नपाइने नियम पनि बनाएका छौं । परम्परागत शैलीमा घर बनाउँदा महानगरले कर छुट र अनुदान दिने व्यवस्था गरेको छ’, वडाध्यक्ष प्रजापतिले भने, ‘सम्पदा सूचीमै राखेर पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’
हेर्नुहोस् थप तस्वीरहरु
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4