+

टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

२०८१ जेठ  २० गते ६:२० २०८१ जेठ २० गते ६:२०
टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

२० जेठ, अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ ।  उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।

क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो ।

यसै साता अमेरिकाले ह्युस्टनमा बंगलादेशविरुद्ध तीन टी–२० आई खेलको सिरिज २–१ ले जितेको थियो । अमेरिकाको मुख्य हतियार तीव्र गतिको बलिङ आक्रामण हो । सौरभ नेत्रवालकर, अली खान, कोरी एन्डरसन, शाड्ली भान र जेसी सिंह तीव्र गतिका बलर हुन् । जसमा अली खानसँग विश्वभर फ्रेन्चाइज लिग खेलको अनुभव छ ।

उता कोरी एन्डरसन न्युजिल्यान्डका पूर्व चर्चित अलराउण्डर हुन् । आक्रामक ब्याटिङ अलराउण्डर कोरीको आगमनले अमेरिका झनै मजबुत बनेको छ । स्टिभ टेलर, आरोन जोन्स र कोरी प्रमुख ब्याटर हुन् । अमेरिकाले घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउनेछ ।

क्यानडाले ग्राण्ड प्रेरीमै वार्मअप खेलमा नेपाललाई ६३ रनले हराएको थियो । सोही मैदानमा अमेरिका र नेपालबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।

यता क्यानडा आरोन जोनसन, निकोलस किर्टोन र रविन्द्रपाल सिंह प्रमुख तीन ब्याटर हुन् । स्पिनर साद बिन जाफर, तीव्र गतिका बलर कलिम साना डिलोन हेलिगर प्रमुख बलर हुन् । पछिल्लो समयको प्रदर्शनले क्यानडाको मनोबल उच्च छ ।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय