+
+

गुल्मीमा फस्टाउन सकेन व्यवसायिक कालिज पालन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते ८:३१

२० जेठ, गुल्मी । पछिल्लो समय व्यवसायिक कृषिमा आकर्षण बढेपनि घाटा व्यहोरेर पलायन हुनेहरू क्रम पनि उतिकै छ ।

आवश्यक ज्ञान, सीपका साथै बजार व्यवस्थापन गर्न नसक्दा कृषि पेसामा लागेका युवाहरू लाखौं रकम डुबाएर पलाइन हुने गरेका छन् ।

चार वर्षअघि विदेशबाट आएर हुमाकान्त अर्यालले सुरु गरेको कालिज फर्म अहिले बन्द हुने अवस्थामा छ ।  उनले रेसुङ्गा नगरपालिका-१० सिमीचौरमा फर्म सञ्चालन गरेका थिए ।

काभ्रेपलाञ्चोकबाट चल्ला लिएर कालिज पालन सुरु गरेको तर महिनामै लाख रकम घाटा हुन थालेपछि बन्द गर्ने अवस्थामा पुगेको अर्यालले बताए ।

सात वर्ष कतारमा बसेर फर्किएका अर्यालले अहिले दोधारमा छन् । फर्म बन्द गर्दा लगानी डुब्ने र चलाउँदा ऋण थपिने डरले सताएको उनी बताउँछन् ।

अर्यालले ३५ लाखको लगानीमा सुरु गरेको सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टरमा अहिले १ करोड लगानी पुगेको छ ।

४ रोपनी जग्गामा रहेको फर्ममा उनले कालिजसँगै केही लौकाट र टर्की चरा पाल्दै आएका छन् ।

सुरुमा ३०० कालिजका चल्लाबाट सुरु गरेको व्यवसायमा कुनै समय तीन हजारसम्मा कालिज थिए । अहिले अर्यालको फर्ममा ५० वटा भन्दा बढी कालिज छैनन् ।

अर्यालले फ्रान्स र डेनमार्क जातको कालिज पाल्दै आएका छन् । सरकारी तहबाट पनि सहयोग नहुँदा फर्म सञ्चालनमा अप्ठेरो भएको अर्याल बताउँछन् ।

गाई भैँसी, बंगुर, खुकुरा पालनमा सरकारले सहयोग गर्दै आएको भए पनि कालिजका लागि भने त्यस्तो कार्यक्रम नभएको भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डे बताउँछन् ।

जिल्लामा कृषकहरू लगानीअनुसार प्रतिफल नपाउँदा पलायन भएको पाण्डेले बताए । कृषकले बजारको अवस्था पनि हेरेर लगानी गर्नुपर्ने उनको भनाइ छ ।

कालिजको चल्ला राखेको ५ महिनापछि बल्ल बेच्ने हुन्छन् । कालिजप्रति केजी २ हजारमा बिक्री हुने गरेको छ ।

महँगो मूल्यका कारण गाउँमा यसको बजार छैन । यसले गर्दा पनि कृषक मर्कामा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?