
२० जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ६ जेठमा नेपाली कांग्रेसमाथि लगाएका आरोपको जवाफ कांग्रेसले सरकारसँग खोजेको छ । गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुलाई लक्षित गर्दै अमर्यादित अभिव्यक्ति दिएको भन्दै रुष्ट कांग्रेसले त्यसको जवाफ प्रधानमन्त्रीसँग खोजेको हो ।
दुई हप्ता अघिको प्रसंगबारे आज संसदको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएको आरोपको जवाफ नपाए प्रधानमन्त्रीसँग ‘हिसाब किताब’ हुने बताए ।
गृहमन्त्रीले के भनेका थिए ?
सहकारीको रकम ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गरेर कांग्रेसले संसदमा प्रदर्शन गर्दा सदनको नियमित कार्यसूची प्रभावित भयो । गृहमन्त्री लामिछानेले बोल्न खोजे पनि कांग्रेसका कारण समय नपाएको बताए ।
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिन कांग्रेस ६ जेठमा तयार भयो । सदनमा बोल्ने क्रममा कांग्रेसका नेताहरुलाई विभिन्न प्रकरणमा जोडेर लामिछानेले आरोप लगाए ।
विदेशीलाई सूचना बेचेको, रातो पासपोर्ट दुरुपयोग गरेको, टिकापुर जग्गा हिनामिना प्रकरणमा मुछिएको लगायतका आरोप गृहमन्त्री लामिछानेले कांग्रेसमाथि लगाएका थिए ।
त्यसैदिन गृहमन्त्री पछि कांग्रेस सांसदहरुले बोल्न समय मागे पनि सभामुख देवराज घिमिरेले समय दिएनन् । १५ जेठमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लागेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्वाध सदनको कामकारबाही सञ्चालन हुन दिइरहेको छ ।
आज सदनमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोप रेकर्डबाट हटाउन माग गरे । अन्यथा प्रधानमन्त्रीसँग हिसाब किताब लिने उनको भनाइ छ ।
आरोप पुष्टि गर्न चुनौती
गृहमन्त्री बोलेको विषय सदनको गरिमासँग जोडिएको भन्दै कांग्रेस महामन्त्री थापाले सभामुख घिमिरेको ध्यानाकर्षण गराए । विषयवस्तुलाई सदनबाट बराल्ने कार्य यसपटकदेखि भएको भन्दै थापाले गृहमन्त्रीले लगाएका आरोप पुष्टि गर्न वा गृहमन्त्रीले बोलेको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
सदन चटक देखाउने ठाउँ नभएको उल्लेख गर्दै थापाले भने, ‘सबै मन्त्रीले यसैगरी भन्दै गए संसदको छबि के हुन्छ ? जुन कुरा यहाँ भनियो, सुनियो । कि प्रधानमन्त्रीले स्वामित्व लिनुस्, होइन भने प्रधानमन्त्री आएर भन्नुस् यसलाई रेकर्डबाट हटाउँछु भनेर । होइन भने प्रधानमन्त्रीसँग हिसाब किताब त लिइन्छ ।’
गृहमन्त्री के बोल्नुहोला भन्ने उत्सुकता भएपनि भुत्ते सुनिएको थापाले टिप्पणी गरे । ‘भन्दाभन्दै गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने एसेट छ भन्नुभयो,’ थापाले भने, ‘त्यसको पुष्टि गर्नुपर्दछ । सूचना बेच्ने सदनमा छ भने त त्यो देशद्रोही हो । त्यसलाई गिरफ्तार गर्नुपर्दछ । देशद्रोहको मुद्दा लगाउनुपर्दछ ।’
गृहमन्त्रीलाई सदनमा बोल्न दिन कांग्रेसले रोकेको भन्ने आरोपको पनि उनले खण्डन गरे । संसदमा को बोल्ने/नबोल्ने सभामुखले टुंगो लगाउने विषय भएकाले कांग्रेसको यसमा भूमिका नभएको थापाले दाबी गरे । नेपाली कांग्रेसका कारणले गृहमन्त्री लामिछाने बोल्न नपाएको भन्ने भाष्य गलत भएको थापाले दाबी गरे ।
गृहमन्त्री बोल्ने भए कांग्रेसले पनि आफ्नो धारणा राख्न पाउनुपर्ने माग मात्रै आफूहरुले गरेको उनले सुनाए ।
संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने कांग्रेसको मागमा सत्ता साझेदार नेकपा एमाले र रास्वपा तयार नभएपछि संसद अवरुद्ध हुँदै आएको थियो ।
‘समितिले जीबी होस् कि रवि होस्, उसलाई पनि बोलाउँछ’
सात सदस्यीय संसदीय छानविन समितिले चार वटा कार्यादेश पाए अनुसार समितिले गर्ने कार्यहरुको सबिस्तार चर्चा महामन्त्री थापाले गरे । सहकारीहरुमा संकटमा बहुसंख्यकले उदाहरणीय कार्य गरिरहेको उनले बताए । राम्रो काम गरिरहेका सहकारीलाई थप प्रोत्साहित गर्नुपर्ने आवश्यकता थापाले औंल्याए । संकट आइरहेका सहकारीका बारेमा समितिले अध्ययन गर्ने थापाले बताए ।
सहकारीमा गरेको बचत डुबेकाले नागरिकहरु सडकमा आउनुपर्ने अवस्था रहेको उनले सुनाए । ‘तिनको बचत रकम फिर्ता गराउनु पर्नेछ । बचत फिर्ता हुन्छ भन्नेमा आश्वस्त पार्नुपर्ने छ । रकम दिएर उनीहरुलाई घर पठाउनुपर्नेछ,’ थापाले भने, ‘त्यसको उपायबारे यो समितिले काम गर्छ ।’
थापाले संसदीय छानविन समितिले गर्ने कामको चर्चा गर्दै बचत फिर्ता पाउने भनी विगतमा छलफल भएपनि पाउन नसक्नुको कारणहरु समितिले पहिल्याउने थापाले बताए ।
छानबिन समितिले गर्ने कार्यमा गृहमन्त्री रवि लामिछाने माथिको विषय भएको उनले सदनमा सुनाए । गृहमन्त्रीको नाम कार्यादेशमा राख्न कांग्रेसले चाहेपनि सत्ता पक्ष तयार नभएको बताउँदै उनले भने, ‘सुन्न त हामीले अन्तर्राष्ट्रिय समिति नै बनाऔं भन्ने पनि सुनेकै हो । नाम राख्न बन्द कोठामा मान्नुभएन ।’
सहकारीबाट गोर्खा मिडियामा जति रकम गए पनि गैरकानुनी भएकाले प्रवाह भएको रकमको अध्ययन छानबिन समितिले गर्ने थापाले बताए । ‘यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ,’ थापाले भने, ‘खाता मात्रै पल्टाउँदैन । गोर्खा मिडिया सञ्चालन गर्ने जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् । उसलाई पनि बोलाउँछ ।’
थापाले गृहमन्त्री लामिछानेलाई समितिले अनुसन्धानको दायरामा ल्याइछाड्ने दाबी गरे । ‘कानुन बमोजिम कारबाहीको सिफारिस गर्छ । नखाएको विष लाग्नु हुँदैन भन्नेमा प्रष्ट छौं । समितिबाट बसेका साथीहरुबाट हामी त्यही अपेक्षा गर्छौं,’ थापाले भने ।
राप्रपा सांसद गीता बस्नेतका सन्दर्भमा नयाँ नजिर बसेजस्तै ठूला भनिएका ठगीमा पनि त्यही अनुसारको अनुसन्धान हुनुपर्ने थापाले जिकिर गरे । सहकारीको अर्बौं रकम ठग्ने ग्याङ र गिरोहलाई दण्डबाट उन्मुक्ति समितिले नदिने उनले आशा राखे । संसदीय समितिले महान्यायाधीवक्ता र प्रहरी प्रमुखसँग पनि सोध्नेमा कांग्रेस ढुक्क रहेको उनले सुनाए ।
संसदीय मर्यादा विपरीत संसद् बाहिर प्रतिक्रिया दिने सांसदहरुको उनले आलोचना गरे । खासगरी कांग्रेसले आत्महत्या गरे पनि संसदीय छानबिन समिति नबन्ने एमाले प्रमुख सचेतक महेश बर्तौला र समिति बन्दै बन्दैन भन्ने रास्वपा सांसद मनिष झाको बोलीको थापाले आलोचना गरे ।
‘सांसदहरु संसद् बाहिर पनि सांसदकै भूमिकामा देखिनुपर्दछ । हामीले सुन्यौं– आत्महत्या गरेपनि समिति बन्दैन । सभापतिले गल्ति गर्नुभएको रहेछ भने सबै सति जान्छौं,’ थापाले भने, ‘प्रमाण छैन भने के तिमी झुण्डिन तयार छौं, यस्ता असंसदीय भाषाहरु हामीले सुन्यौं ।’
प्रतिक्रिया 4