+
+

सीबी लामा : ओभरसियरको जागिरदेखि सहकारीको ८ अर्ब अपचलनसम्म

८ अर्ब अपचलन पुष्टि गर्न प्रहरीलाई सीबीको चुनौती

कान्तिपुर सहकारीमा सीबी २४ वर्षसम्म अध्यक्ष थिए । उनले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीमा लगाएको आरोप छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ २० गते १५:०२

२० जेठ, काठमाडौं । दुइटा सहकारीको करिब ८ अर्ब रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामालाई प्रहरीले सार्वजनिक गरेको छ ।

चितवन भरतपुरबाट शुक्रबार पक्राउ परेका लामालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सार्वजनिक गरेको हो ।

काभ्रे तेमाल गाउँपालिका–५ घर भएका ४९ वर्षीय लामा ललितपुर बालकुमारीस्थित वेस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए ।

२० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका लामालाई भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनी पक्राउ पुर्जी जारी भएपछि भरतपुरमै फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

प्रहरीले लोकेसन थाहा पाउन सक्ने भन्दै उनले महिना दिनमै फ्ल्याट सार्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । पक्राउ परेका लामाबाट चार थान मोबाइल र ६ थान सिमकार्ड प्रहरीले बरामद गरेको छ ।

सहकारीको रकम अपचलन गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये कान्तिपुर क्रेडिट एन्ड कोअपरेटिभ्सले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयरपूँजी करिब ४० करोड छ ।

कान्तिपुरले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको बताइएको छ ।

कान्तिपुर सहकारीमा सीबी २४ वर्षसम्म अध्यक्ष थिए । उनले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीमा लगाएको आरोप छ ।

काभ्रे धुलिखेल र पनौती, भक्तपुर साँगा, काठमाडौं फर्पिङ, मकवानपुर चित्लाङ, मोरङ कानेपोखरी, खोटाङ हलेसी लगायत स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।

सहकारी विभागमा पेस गरेकै विवरणमा ३२ स्थानमा घरजग्गा छ, जसमध्ये केही सम्पत्ति ऋण लगानीन उठेपछि धितो सकारेको दाबी गरिएको छ ।

काठमाडौं फर्पिङमा २२ रोपनी, बूढानीलकण्ठ २ रोपनी बढी, थली–डाँछीमा १ रोपनी ११ आना, चपली भद्रकालीमा १ रोपनी १२ आना २ पैसा (घर समेत), टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा, साँखुमा ३ आनाजग्गा छ ।

चार वटा बैंकिङ कसुर मुद्दा

लामाविरुद्ध सहकारी अपचलनमात्रै नभएर चार वटा बैंकिङ कसुरको मुद्दा चलेको समेत पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी भट्टराईले बताए ।

‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) मा लामाको वैयक्तिक विवरण हेर्दा चार वटा बैंकिङ कसुर मुद्दा देखिएको प्रहरीको भनाइ छ । त्यसमध्ये तीनवटा बैकिङ कसुरकामुद्दामाउनी फरार रहेको देखिएको छ ।

‘जम्मा चार वटा बैंकिङ कसुर मुद्दा देखियो । जसमध्ये तीन वटामा फरार देखियो,’ एसएसपी भट्टराईले भने । बैंकिङ कसुरका सबै मुद्दा काठमाडौंमै रहेको खुलेको छ । रकम विवरण भने खुल्न बाँकी छ । जोहरी परेको प्रहरी कार्यालयसँग अपराध अनुसन्धान कार्यालयले विवरण मागकोे छ ।

सञ्चारकर्मीदेखि सहकारी ठगीसम्म

लामा सुरुमा सञ्चारकर्मी रहेको समेत अनुसन्धानबाट खुलेको छ । उनले ओसिन एड्भर्टिजमेन्ट मिडियामा २०४९ सादेखि काम गरेको खुलेको छ । प्रहरी समक्ष उनले त्यतिबेला आफू पत्रकार रहेको समेत दाबी गरेका छन् ।

२०५२ सम्म ओसिन मिडियामा काम गरेका उनी त्यसपछि भने ओभरसियरका रूपमा काम गरेको खुलेको छ । २०५२ भदौमा उनी तत्कालीन स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा ८ महिनासम्म काम गरेको खुलेको छ । आठ महिना ओभरसियरका रूपमा काम गर्दै २०५३ वैशाखमा जागिर छाडेका थिए ।

त्यसको दुई वर्षपछि उनी सहकारीमा जोडिएको खुलेको छ । २०५५ देखि २०७६ पुस २४ सम्म उनी कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको अध्यक्ष रहेर काम गरेका थिए ।

लामा नेपाली कांग्रेस काभ्रेका पूर्वकोषाध्यक्ष हुन् भने २०७४ सालमा कांग्रेसबाट प्रदेशसभा सदस्यको टिकट पाएर चुनाव उठे पनि पराजित भएका थिए ।

नेपाल सरकारले एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष रहन नमिल्ने नियम लगाएपछि उनले कान्तिपुरबाट राजीनामा दिएर पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको अध्यक्ष बनेका थिए । त्यसअघि उनी २०५५ सालदेखि २०७६ सम्म भने दुवै सहकारी (कान्तिपुर र पशुपति) को अध्यक्ष थिए ।

सहकारीको रकमबाट अस्पतालदेखि कलेजहरूसम्म लगानी गरेका थिए । २०५९ सालमा उनले तीनकुनेमा कान्तिपुर अस्पताल खोलेका थिए । तीनकुनेमै कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स प्रालि नामको कलेज समेत स्थापना गरेका थिए ।

डेढ अर्बको उजुरी

लामाविरुद्ध सहकारीमा रकम जम्मा गरेका बचतकर्ताको ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ । कान्तिपुर सहकारीको ६ अर्ब र पशुपति सहकारीको २ अर्ब गरी ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि छ ।

१ अर्ब ६३ करोडको उजुरी मात्रै प्रहरीममा अहिलेसम्म आएको छ । कान्तिपुर सहकारीका ८ सय ५२ बचतकर्ताले प्रहरी वृत्त नयाँबानेश्वरमा जाहेरी दिएका छन् । उनीहरूको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाले पशुपति सहकारी विरुद्ध जाहेरी दिएका छन् । अहिलेसम्म उजुरी परेकाबाट १२ करोड रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।

आफूकहाँ आएको उक्त उजुरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ ।

८ अर्ब ठगी पुष्टि गर्न लामाले दिए प्रहरीलाई चुनौती

८ अर्ब ठगीको आरोप लागेका लामाले भने पुष्टि गर्न प्रहरीलाई चुनौती दिएका छन् । प्रहरीले सार्वजनिक गर्ने क्रममा उनले भने ‘मलाई ८ आठ अर्ब ठगी गरिएको आरोप लगाइएको छ । म पुष्टिगर्न चुनौती दिन्छु । कसरी मैले ८ अर्ब ठगी गरेँ ?’

यसबारे मिडियाले समेत सत्यतथ्य खोज्ने र आफूले न्याय पाउने आशा रहेको व्यक्त गरेका थिए । ‘हिजोसम्ममलाई ८ अर्ब खाएको आरोप लगाइयो । अब म उपस्थित भएको छु । कहाँ खाएँ मैले ८ अर्ब ? कसरी पुष्टि गर्नुहुन्छ, म पनि हेर्दै जानेछु,’ पत्रकार सम्मेलनमा लामाले भने ।

यत्रो रकम ठगी गर्नेलाई सबैले चिन्नुपर्ने बताउँदै उनले मास्क समेत खोल्न खोजेका थिए । तर, प्रहरीले मास्क खोल्न नमिल्ने भन्दै उनलाई रोकेको थियो ।

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?