+
+
निर्देशक मीन भामको अनुभव :

‘शाम्बाला’ हेरेपछि नवाजुद्दिन सिद्दिकी र किलियन मर्फीले मसँग काम गर्न मन छ भन्नुभयो’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १५:२९

‘केटी मान्छेले बाँसुली बजाउनु हुँदैन’ : म सानो छँदा एकजना बटुवाले भनेको यो कुरा मनमा गहिरोसँग गढेर बसेको थियो । यो जिज्ञासा यति गाढा भएर बस्यो कि त्यही कथामा ‘बाँसुली’मार्फत आफूलाई व्यक्त गरेँ । म सानो हुँदा हामीसँगै खेल्न आउने साथीसँग घर र समाजका अगाडि खुलेर खेल्न पाउँदिन थिएँ । अनि मेरो मिल्ने साथी मेरो घरभित्र आउन पनि नपाउने । कारण एउटै थियो, मेरो साथीको जात । सानै उमेरमा छुवाछुतको त्यो दुःखलाग्दो कहानीले लामो समयसम्म बत्ल्यायो । त्यो कुराले यति परसम्म बत्ल्यायो कि सन् २०१५ मा सिनेमाको कथामार्फत मैले मेरो पहिलो कथानक चलचित्र ‘कालो पोथी’ बनाउने मौका पाएँ ।

कर्णाली अञ्चलको मुगु जिल्लाको मेरो गाउँ, जहाँ म हुर्किंदै गर्दा बच्चाबेला मेरो घर, मेरो झ्याल, मेरो छत, मेरो आँगन, चारैतिरबाट यति सुन्दर हिमालहरु देखिन्थ्यो, जुन हिमालहरु देखेर सबै जना मोहित हुन्थे । तर बच्चाबेला मेरो दिमागमा एउटा कुरा यसरी गढेर आउँथ्यो कि ती सारा हिमालले मलाई थिचेर राखिरहेको छ । म जुन गाउँभित्र बसिरहेको छु, त्यो गाउँलाई हिमालले यसरी छेकिरहेको छ कि मलाई पारिको दृश्य केही पनि हेर्न दिएको छैन । या भनौं बसिरहेको गाउँभन्दा पारिको चीज थाहा पाउनबाट मलाई वञ्चित गरिरहेको छ । मलाई यस्तो लाग्थ्यो, म सुनको पिंजडाभित्र छु, चारैतिर देखिने मनोरम हिमालको दृश्यभित्र कैद रहेको एकजना बालक जो सानैदेखि अन्तर्मुखी स्वभावको थियो । र जहिल्यै चरा उडेको देख्दा मनमा कल्पना गर्थें कि म पनि कुनै दिन यो गाउँ छोडेर हिमालपारि के रहेछ भनेर हेर्न मन छ भन्ने ठूलो जिज्ञासा थियो ।

त्यहीबेला म ६ वर्ष उमेरको हुँदा बुवाले पहिलोचोटि गाउँमा सिनेमा घर खोल्नुभयो । भाग्यवश, जिन्दगीमा पहिलोचोटि टिभी पनि नहेरेको नदेखेको किताबमा मात्र चित्रको रुपमा देखेको बच्चाले पहिलोचोटि जिन्दगीमा सिनेमा हेर्ने मौका पाएँ र त्यो सिनेमाले मेरो बच्चाबेला भएको जुन हिमाल छोडेर मेरो गाउँ मेरो घर समाज छोडेर भागीजाने उत्कण्ठा यति गहिरोसँग जगायो कि मेरो गाउँ मेरो समाज, भाषा परिवेशभन्दा परको समाज पनि देख्न पाएँ ।

सिनेमामार्फत देख्न, हेर्न र महसुस गर्न पाएँ । तर म भाषाचाहिँ बुझ्दिन थिएँ किनभने म जुन गाउँमा बस्थेँ त्योबेला अहिले बोल्ने नेपाली भाषा मेरो मातृभाषा थिएन । म अरु नै भाषा बुझ्थे तर सिनेमाको दृश्य भाषाले मलाई यति मोहित ग¥यो कि, पहिलोचोटि गाउँमा सिनेमा हेर्दा मेरो सबै साथीभाइ सिनेमाको हिरो बन्ने रहर पाल्नुहुन्थ्यो, हिरोको नक्कल गर्नुहुन्थ्यो ।

तर, मलाई भित्रभित्र के थियो भने यो सिनेमाको कलाकारलाई निर्देशित गर्ने कोही त्यस्तो मान्छे होला । भलै मलाई त्योबेला सिनेमा कोल्ले बनाउँछ केही पनि थाहा थिएन । तर मलाई मनभित्र यस्तो गहिरोसँग विचार गढेर आयो कि कुनै दिन म जीवनमा यी कलाकारलाई कसले सिकाउँछ होला, त्यही मान्छे म बन्छु भन्ने गहिरो प्रभाव म छ वर्षको उमेर हुँदा खेरी मनमा पर्‍यो ।

त्यहीबेला, संयोगवश त्यतिखेरको बडामहारानी रत्नराज्यलक्ष्मी बालदिवसको अवसरमा मुगु जानुभएको थियो । उहाँसँगै स्कुलको उत्कृष्ट विद्यार्थी भएको नाताले हेलिकप्टर सयर गर्ने मौका पाएँ पहिलोचोटि । त्यो हेलिकप्टर हिमालको माथिबाट यसो घुम्दैगर्दा मैले पहिलोचोटि मेरो गाउँलाई छेकेर बसेको मनोरम हिमालको माथिबाट ‘बर्ड आइ भ्यू’को त्यो दृश्य जुन देखेँ, जुन दृश्यमा परको समाज, गाउँ, क्षितिजपारिसम्मको समाज देखियो । त्यसले मेरो गाउँ समाजभन्दा पारि अरु केही चिज छ जहाँ म पुग्नुपर्छ । जुन चिज मैलै खोज्नुपर्छ भन्ने विचार झन् गढेर आयो ।

त्यसपछि म जीवनको सबैभन्दा कठिन मोडमा आइपुगेको थिएँ । त्यो कठिन मोड के थियो भने, म पढाइमा एकदमै राम्रो थिएँ । मेरो परिवारले मलाई साइन्स पढाउने विचार गर्दैगर्दा म मनमनै सिनेमा बनाउन काठमाडौं गएपछि घर परिवार र बुवाले भनेको भन्दा फरक विषय सिनेमा पढ्नु पर्छ, त्यसको लागि एउटै विकल्प म घर छोडेर भाग्नुपर्छ भनेर १४ वर्षको कलिलो उमेरमा म काठमाडौं भागेर आएँ ।

काठमाडौं आउँदा मैले एउटा मात्रै सपना, रंगीन सपना भन्छु म अहिलेचाहिँ, देखेको थिएँ कि म काठमाडौं तबसम्म बस्छु जतिबेलासम्म म व्यवसायिक रुपमा सिनेमा बनाउँदिन । काठमाडौं आइसकेपछि सबैभन्दा गाह्रो कुरा भाषा थियो । अहिले तपाईंहरुले बोल्ने आधिकारिक नेपाली भाषा वा अहिले मैले बोल्दै गरेको भाषा त्यतिखेर म बुझ्दा पनि बुझ्दिन थिएँ । बोल्न सक्ने कुरै भएन । भाषाको कारण संघर्षको कथा, नाटक, रंगमञ्च सिनेमा कोर्स हुँदै म दक्षिण कोरिया र जर्मनीमा फिल्मको तालिम लिने अवसर छात्रवृत्तिस्वरुप पाएको थिएँ ।

नजिकको देवता हेला भनेजस्तै मलाई पहिलोचोटि के रियलाइज भयो भने म जुन सारा चिज छोडेर काठमाडौं आएको थिएँ, काठमाडौंका मेरा सारा साथीभाइ मेरा शिक्षक यहाँ जति मान्छे भेटेँ उहाँहरु हिमाल जान यति लालयित हुनुहुन्थ्यो, त्यसको लागि जे गर्न पनि गर्न तयार हुनुहुन्थ्यो ।

त्यसले म मनमनै कल्पिँदै थिएँ कि कुनै दिन म छिट्टै सिनेमा बनाउँछु अनिमात्र म मेरो गाउँ फर्किन्छु । त्यो साराकुरा सकिएपछि मेरो दिमागमा गहिरोसँग एउटा कुरा के गढेर आयो भने जुन हिमाल, जुन परिवेश, संस्कृति, समाज मलाई बोझ लाग्थ्यो, जुन मलाई रमाइलै लाग्दैनथ्यो, ती सारा चिज छोडेर भागेर म सहर पसेको मान्छे । मेरो सिनेमाको अध्ययन वा मेरो अरु औपचारिक पढाइ सकेर पहिलो पटक सिनेमा गर्ने क्रममा मलाई अनुभूति के रह्यो भने यो सबैचिज भ्रम रैछ । जसरी हामी नेपालीमा उखान भन्छौं– नजिकको देवता हेला भनेजस्तै मलाई पहिलोचोटि के रियलाइज भयो भने म जुन सारा चिज छोडेर काठमाडौं आएको थिएँ, काठमाडौंका मेरा सारा साथीभाइ मेरा शिक्षक यहाँ जति मान्छे भेटेँ उहाँहरु हिमाल जान यति लालयित हुनुहुन्थ्यो, त्यसको लागि जे गर्न पनि गर्न तयार हुनुहुन्थ्यो ।

पैसाको कुरा, समयको कुरा सारा चिज हेर्दाखेरी हिमाल भनेको मनोरम दृश्य मात्र नभएर उहाँहरुको आशक्ति हिमालको संस्कृति, त्यहाँको परिवेश, रहनसहन कथा, त्यसको मार्मिकता, गहनता र त्यसको महत्व मैले जीवनमा पहिलोचोटि बुझ्न पाएँ । त्यसको उदाहरणस्वरुप, म रारातालको नजिक हुर्केको बच्चा, त्यहीँ हुँदा मलाई रारा एउटा सानो पोखरीजस्तो लाग्थ्यो । काठमाडौं बसेर फर्केर जतिबेला म सिनेमाको तयारी गर्दै थिएँ, त्यही रारा मलाई बडो सुन्दर र प्यारो लाग्न थाल्यो ।

त्यसपछि मैले संकल्प गरेँ कि मैले जीवनमा सिनेमा बनाउँदा मेरै गाउँतिर फर्किनु पर्छ र त्यहीँको पात्र टिप्नुपर्छ । त्यहीँको परिवेश टिप्नुपर्छ भाषा सबै मेरो सिनेमाको कथामार्फत आउनुपर्छ भन्ने लागेर पुनः म सिनेमा बनाउनलाई हिमालतिरको यात्रामा फर्किएँ । यो सन् २०१२ को कुरा थियो । म मेरो गाउँ फर्कें र केटी मान्छेले बाँसुली बजाउनु हुँदैन भन्ने हाम्रो गाउँको चलनमा आधारित आफ्नै गाउँको कथामा बाँसुल्ली बनाएँ ।

त्यसपछि म र मेरो समूहले ‘कालोपोथी’ हुँदै अहिले २०२४ मा ‘शाम्बाला’ बनाएका छौं । यी कथाहरु मेरो गाउँ, मेरो समाज र म हुर्केको हिमालको काखतिरै बनाउन पाएँ । त्यसपछि सिनेमाको कथाले गाउँठाउँ, समाज मात्र होइन मेरो देशको प्रतिनिधित्व पनि गर्न पाएकोमा आफूलाई एकदमै खुसी र भाग्यमानी मान्छु । त्यसको शृंखला कहाँबाट सुरु भयो भने सन् २०१२ मा म र मेरो समूहले बनाएको पहिलो सर्ट फिल्म भेनिस फिल्म भेस्टिभलमा मुख्य प्रतिस्पर्धामा पुग्यो ।

त्यो बेला पूरै एसियाभरिबाट जम्मा २ वटा फिल्ममा नेपालको फिल्म परेको थियो । त्यो नेपालबाट भेनिस पुग्ने पहिलो फिल्मसमेत भएकोले म र मेरो टिम पनि खुसी थियौं । सिनेमाको इन्टरनेसल फोरममा हामी कहाँ छौं, हाम्रो सामथ्र्य कहाँ छ भन्ने पनि पहिलोचोटि त्यहीबेला अनुभव गर्न पाएँ । त्यसपछि ‘कालोपोथी’ हुँदै अहिले ‘शाम्बाला’सम्म मैले आफ्नो गाउँठाउँ, समाज, भाषा, संस्कृति, सभ्यतामात्र नभइकन देशकै प्रतिनिधित्व गर्न पाएको त्यो क्षणमा मलाई पहिलोचोटि यस्तो महसुस गरायो कि अब मैले निर्देशकका रुपमा सिनेमा बनाउनेबाहेक साथीभाइ या नयाँ पुस्ताको चलचित्रकर्मीको सिनेमा निर्माण गर्न म स्वयं लाग्नुपर्छ भन्ने महसुस भयो ।

म आफैं एक्लै यो यात्रामा धेरै पर जान सकूँला नसकूँला, मैले निर्माताका रुपमा नयाँ पुस्तालाई सहयोग गर्नुपर्छ भनेर सन् २०१४ बाट म निर्माणको काममा धेरै लागेँ । जसले हिजोआज म निर्देशकका रुपमा भन्दा बढी अन्तर्राष्टिय चलचित्र महोत्सवमा सहभागी हुँदा बजार वितरणको सवालमा वा उहाँहरुले आम्दानी गर्नुभएको कुरा वा उहाँहरुले आफ्नो कथा संसारलाई भन्न पाउनुभएको त्यो क्षण जीवनमा मलाई पहिलोचोटि गर्व लाग्ने क्षण थियो ।

लकडाउनको बेला सबैभन्दा भाग्यमानी समय भन्छु म आफ्नो लागि । मैले हिमालको यात्रा यति धेरै गर्न पाएँ कि सगरमाथाको आधारशिविरदेखि मुस्ताङको हुम्लाको लेते–भ्यालीदेखि अप्पर–डोल्पासम्म नेपालको हिमाली जनजीवन तीन वर्षसम्म धेरै घुम्न पाएँ । सायद त्यो समय मेरो जीवनमा सबैभन्दा सुनौलो समय रह्यो । हिमालमै पहिला जन्मेहुर्केको मान्छे, सिनेमा बनाएर काम गरेको मान्छे तर कोभिडको त्यो क्षणमा पहिलोचोटि मलाई हिमालको अध्याँरो पक्ष हिमालमै बसेर गुजारा चलाउने मान्छेको भित्री कथाले गहिरोसँग प्रभाव पार्‍यो । केही साना उदाहरण पेश गर्छु ।

हामी सहरको आँखाले हिमाल हेर्छाैं । हिमाललाई धेरै नै रोमान्टिसाइज गर्दा रहेछौं । धेरै नै फेन्टासाइज गर्दा रहेछौं । सुन्दर दृश्य देखिन्छ । एक दुई दिन घुम्नलाई बडो रमाइलो लाग्छ । तर हिमालमै वर्षौं जीवन बिताउने मान्छेको गहिरो कथा सानो पेश गर्छु । कोभिडले बाहिर र भित्रको आन्तरिक यातायात ठप्प भएको बेलामा अप्पर–डोल्पाको गाउँमा एकजना बहिनी जो पहिलोचोटी सुत्केरी भएर थला पर्नुभएको थियो । उहाँको बच्चा र उहाँको जीवन मेरो आँखै अगाडि कसैले पनि बचाउन नसकेको त्यो कहालीलाग्दो क्षण । यातायात सारा ठप्प थियो । त्यसै गरी याक लिन हिमाल चढेका यात्रीको खुट्टा भाँचिएको कथा या कोभिडको बेला हिमालका मान्छे जो जाडो छल्न सहरतिर आउनुहुन्थ्यो, उहाँहरु घर फर्किन नपाउनुभएको पीडा या सहरको अरु मान्छेको कथा यति नजिकबाट बुझ्न पाएँ । हिमालका मान्छेको लागि हिमाल साँच्चिकै तपस्या हो, हिमाल धर्म हो, हिमाल साँच्चिकै घर हो ।

हाम्रो फिल्मको स्क्रिनिङ सकिइसकेपछि मैले तीनजनालाई सोधें । एकजना ‘ओपेनहाइमर’को मुख्य अभिनेता किलियन मर्फी । उहाँले हाम्रो फिल्म हेर्नुभएको थियो र फिल्मको जिज्ञासा लिने क्रममा मैले उहाँलाई सोधेँ । उहाँलाई हिमालको शक्ति दृश्यकोे रुपमा मात्र होइन कि हिमालमा जाने आशक्ति यति गहिरो रै’छ मलाई अर्को सिनेमामा हामी हिमालको कथामा काम गर्ने जिज्ञासा राख्नुभयो । अर्को अभिनेता बलिउडका नवाजुद्दिन सिद्दिकीले हाम्रो फिल्म हेरिसकेपछि आफैंले बोलाएर भन्नुभयो कि मलाई तपाईंसँग जीवनमा सँगै काम गर्न मन छ ।

सर्भाइभलसँग जोडिएको कुरा हो । तर हामी बाहिरबाट जाने मान्छे हिमाललाई रोमान्टिसाइज गर्छौ । हामी हिमालको महत्व पनि बुझ्दैनौं र हिमाललाई प्रदूषण गरेर मात्र आफ्नो रहर पूरा गरेर फर्किन्छौं । सारा चिज भोग्नुपर्ने हिमालमा बस्ने मान्छेको कथा जिन्दगीमा पहिलोचोटि नजिकबाट देख्न पाएँ ।

त्यसपछि संसारकै ‘हाइएस्ट ह्युमन सेटलमेन्ट’ डोल्पाको गाउँमा भर्खरै बनाएर सकिएको चलचित्र ‘शाम्बाला’ जो बनाउनु थियो । त्यो सिनेमा बनाउँदा मेरो जीवनमा पहिलोचोटि हिमाल भनेको दृश्यभाषा, सभ्यता, संस्कृति, नभनिएका कथा मात्र होइन कि ‘शाम्बाला’ बनाउँदा हिमालसँग आध्यात्मिक शक्ति भएको कुरा जीवनमा पहिलोचोटि भोग्न पाएँ ।

त्यसको स्वरुप हामीले भर्खरै बनाएको ‘शाम्बाला’को मुख्य पात्र पहिला पुरुष थियो । साँच्चिकै हिमाल धानेको र हिमालको विशुद्ध तत्व भनेको महिला रैछ । हिमालका पुरुषहरु त कोही व्यवसायको खोजीमा, कोही सुनौलो भविष्यको खोजीमा साराले हिमाल छोड्दै आइसकेको अवस्थामा मेरो कथाको प्रतिनिधित्व गर्नलाई महिला चरित्र नै सशक्त हुनेरैछ भन्ने रियलाइजेसन हुनु । त्यो महिलाको स्पिर्चुअल पावर, मेडिटेटिभ इनर्जीको कुरा महसुस भयो । ‘शाम्बाला’ भन्ने चलचित्र बनाउँदै हामीले बर्लिनसम्मको यात्रा गर्न पायौं जुन दक्षिण एसियाबाटै तीन दशकभन्दा बढीसमय पछि नेपाली चलचित्र छनोट भयो ।

नेपाली चलचित्र मैले जीवनमा कहिल्यै पनि नसोचेको निर्देशकमध्ये एक महान मार्टिन स्कोर्सेसीको फिल्मसँग हामी पनि प्रतिस्पर्धा गर्दै थियौं । मलाई गर्वभन्दा बढी खुसी केमा लाग्यो भने त्यो ठाउँमा अपर–डोल्पाको कथा, त्यहीँको भाषा, संस्कृति, कथा, कलाकार र त्यहीँको थिममा बनाएको फिल्म लिएर म पहिलोचोटि म २ हजारभन्दा बढी दर्शकको माझमा म मार्टिन स्कोर्सेसी र डोल्पाको गाउँको पात्र जसले बच्चाको रोल गर्नुभएको थियो, दुवै जनालाई हेर्दै बसिरहेको थिएँ ।

संयोगवश, हाम्रो फिल्मको स्क्रिनिङ सकिइसकेपछि मैले तीनजनालाई सोधें । एकजना ‘ओपेनहाइमर’को मुख्य अभिनेता किलियन मर्फी । उहाँले हाम्रो फिल्म हेर्नुभएको थियो र फिल्मको जिज्ञासा लिने क्रममा मैले उहाँलाई सोधेँ । उहाँलाई हिमालको शक्ति दृश्यकोे रुपमा मात्र होइन कि हिमालमा जाने आशक्ति यति गहिरो रै’छ मलाई अर्को सिनेमामा हामी हिमालको कथामा काम गर्ने जिज्ञासा राख्नुभयो । अर्को अभिनेता बलिउडका नवाजुद्दिन सिद्दिकीले हाम्रो फिल्म हेरिसकेपछि आफैंले बोलाएर भन्नुभयो कि मलाई तपाईंसँग जीवनमा सँगै काम गर्न मन छ ।

अर्को, डोल्पाको एकजना भाइ जो कहिले सहर आउनुभएको थिएन । उहाँलाई मैले सोधेँ, ‘तपाईंलाई डोल्पादेखि बर्लिनसम्मको मान्छेहरुसँगको भेटघाट यो अनुभव सबैभन्दा जीवनमा के चिज रमाइलो लाग्यो ?’

‘यहाँको गाडी, रेल, प्लेन चढेको एकदमै रमाइलो लाग्यो ।’

यो सबै देखेर सुनेर मलाई हिजोआज के महसुस भइरहेको छ भने, हामीसँग जुन कुरा साँच्चिकै छैन त्यो कुरा एकदमै महत्व लाग्नेरहेछ । सायद, यो मानव स्वभाव पनि होला । जे चिज हामीसँगै हुन्छ हामी त्यसको महत्व बुझ्दैनौं । हिजोआज नेपाल देशको सारा गाउँ खाली छ । हिमालमा त झन् मान्छे भेट्न गाह्रो छ । सबै सुखको खोजीमा हामी सहरको मान्छे विदेश जान्छौं । हामी भाग्ने क्रममा छौं ।

खासगरी पश्चिमेली पूर्वतिर आकर्षित छन् । हिमालको आशक्ति दृश्यमा मात्र होइन त्यहाँको खोज अनुसन्धान गर्नमात्र होइन त्यहाँको आध्यात्मिक शक्ति देखेर आउन खोजेको अवस्थामा हामी त साँच्चै भाग्दै रैछौं । जीवनको यो मोडमा के महसुस भइरहेको छ भने, कुनै दिन हिमालको सभ्यता, संस्कृति, भाषा, परिवेश, मान्छे, हिमाल आफैंमा दिक्कलाग्दो चिज भएको मान्छे, ती सारा झञ्झटबाट उन्मुक्ति खोजेर भागेर आएको मान्छे म ।

हिजोआज के महसुस भएको छ भने जीवनमा साँच्चिकै रिटायर्ड लाइफ हिमालमै विलीन हुन पाऊँ । हिमालको मनोरम दृश्यमै म मेरा जीवनका सारा कथा व्यक्त गर्न पाऊँ । हिमालमै सारा सिनेमा बनाउन सकूँ ।

यी सारा चिज फर्केर हेर्दाखेरी मभित्रको त्यही सानो बालक पात्र जो गाउँ छाडेर भागेर आयो । हिमालदेखि वाक्क दिक्क भएर भागेर आएको मभित्रको अहिले दोस्रो पात्र म आफूले यसलाई रुपान्तरण भएको रुपमा हेर्छु । जो पात्र फेरि हिमालकै काखमा गएर विलीन हुन पाउँ र त्यही हिमालमा गएर लीन हुन पाउँ भन्ने जीवनको यो यात्राको कथा यहीँ सक्छु ।

किम्फमा ‘माउन्टेन्स म्याटर : कल फ्रम द हिमालयज’ शीर्षकमा निर्देशक मीन भामले दिएको प्रस्तुतिको सम्पादित अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?