+

छालासम्बन्धी १०  भ्रम र सत्य

२०८१ जेठ  २० गते १८:३२ २०८१ जेठ २० गते १८:३२
छालासम्बन्धी १०  भ्रम र सत्य

छालालाई कसरी चम्किलो, सफा र मुलायम बनाउने ? सम्भवत: हामी सबैको मनमा उठ्ने साझा प्रश्न हुन् यी । शारीरिक सौन्दर्यको सबैभन्दा महत्वपूर्ण हिस्सा हो, छाला । यद्यपि छालाको चमक, नरमपना, समस्या आदिलाई लिएर थुप्रै भ्रम छन् ।

भ्रम : डण्डीफोर चिल्लो खाना वा जंकफुडको कारणले आउँछ ।

सत्य : डण्डीफोरले चिल्लो खाना वा जंकफुडसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन । डण्डीफोर आउने मुख्य कारण वंशाणुगत र हर्मोनको असन्तुलन हो । कुनै कारणवश एन्ड्रोजेन हर्मोनले चिल्लो उत्पादन गर्ने ग्रन्थीलाई उत्तेजित गरेर डण्डीफोर आउँछ । यसबाहेक तनाव र खानपानले पनि असर गर्छ ।

बजारीया गुलियो खानेकुरा र दुग्धजन्य खानेकुरा अत्याधिक खाँदा डण्डीफोर आउनसक्ने सम्भावना रहन्छ । गुलियो खानेकुरामा हुने अत्याधिक चिनी र दूधले एन्ड्रोजेन हर्मोनमा वृद्धि गर्न सक्छ । तर नभएको दूध सेवन गर्नेमा पनि डण्डीफोर बढेको देखिन्छ ।

भ्रम : डण्डीफोर रगत अशुद्ध भएर आउँछ ।

सत्य : रगत अशुद्ध भएर डण्डीफोर कदापि आउँदैन । तर धेरैले रगत अशुद्ध भएर डण्डीफोर आउँछ भनेर कतै सुनेको भरमा रगत शुद्ध पार्ने औषधि खाने र रगत परीक्षण गरेको व्यापक देखिन्छ । जुन आवश्यक हुँदैन । किनकि रगतको शुद्धता र डण्डीफोरसँग कुनै सम्बन्ध नहुने हुँदा रगत परीक्षण र शुद्ध गर्ने कुनै पनि विधि आवश्यक हुँदैन ।

भ्रम : पेट अस्वस्थ हुँदा चायापोतो बढ्छ ।

सत्य : उक्त भनाइमा सत्यता छैन । तर कुनै कारणवश पेटमा भएको सामान्य व्याक्टेरियाको सन्तुलन बिग्रियो भने एन्ड्रोजेन हर्मोनको मेटाबोलिजम पनि प्रभावित भई चायापोतो आउँछ भनिन्छ । तर यसबारे पनि ठोस अध्ययन भएको छैन । विशेषगरी हर्मोनल असन्तुलन, वंशाणुगत, थाइराइड गडबडी जस्ता स्वास्थ्य समस्या र घाममा बढी काम गर्ने, अनुहारमा जथाभावी क्रिम पर्‍यो भने चायापोतो आउने र बढ्ने हुनसक्छ ।

भ्रम : सनस्क्रिन घरभित्र, पानी पर्दा र बादल लाग्दा लगाउनु पर्दैन ।

सत्य : उक्त भनाइ मात्र एउटा भ्रम हो । घरभित्र, पानी पर्दा र बादल लाग्दा पनि सूर्यको हानिकारक विकिरण यूभीए र यूभीबीको मात्रा उत्तिकै रहने हुँदा छालालाई सुरक्षा दिन सनस्क्रिन लगाउनैपर्छ ।

भ्रम :  दुबी आएको मान्छेले अमिलो, दूध र माछा खानुहुँदैन ।

सत्य : गाँउघरमा एउटा भनाइ छ, दुबी आएको मान्छेले अमिलो, दूध र माछा खानुहुँदैन, झन् बढाउँछ । जुन गलत हो । माछामा हुने ओमेगा थ्रीले छालामा रङ दिने कोषिकालाई नष्ट हुनबाट बचाउँछ । त्यस्तै, अमिलोले भिटामिन सी जस्तो एन्टिअक्सिडेन्ट शक्ति बढाउँछ । जसले दुबी गराउने क्षमतामा ह्रास ल्याउनसक्छ । दूध सेवनसँग पनि दुबीको कुनै सम्बन्ध छैन ।

दुबीको समस्या भएकाले बार्नैपर्ने खानेकुरा भनेको प्रशोधित मासु, अत्याधिक बोसोयुक्त खानेकुरा, सोडा, ग्लुटिन बढी भएको मैदा हो । किनकि यी खानेकुराले त्यस्ता समस्या भएकाहरुमा ‘इन्फालमेटरी रेस्पोन्स’ बढाइदिन्छ । जसले दुबी थप बढाउँछ ।

भ्रम : एलर्जी भएका मान्छेले भिन्डी, कालो दाल र भ्यान्टा खान हुँदैन ।

सत्य : अर्को भ्रम के छ भने छालामा एलर्जीको समस्या हुँदा भिन्डी, कालो दाल र भ्यान्टाको तरकारी  खान हुँदैन । जसमा कुनै सत्यता छैन । संसारमा कुनै पनि खानेकुरा त्यस्तो छैन जसले सबैलाई एलर्जी गराउँछ । फरक मानिसलाई फरक चीजको एलर्जी हुनसक्छ । जुन अनुभवबाट मात्रै पत्ता लगाउन सकिन्छ । यदि कुनै खानेकुराले एलर्जी बढाएको शंका लागेमा त्यस्तो खानेकुरा खाएको दुईदेखि चार दिनसम्म एलर्जी भए नभएको आफैंले अनुभव गर्न पनि सकिन्छ ।

भ्रम : लेजर हेयर रिमुबल गरेपछि कहिले कपाल उम्रिदैन ।

सत्य : कुनै पनि प्रविधि यस्तो छैन जसले शतप्रतिशत कपाल नआउने बनाउन सकोस् । ८ देखि ९ चरणसम्म लेजरले कपाल निकालेपछि कपाल आउने प्रक्रियालाई ८० प्रतिशतसम्म रोक्न सक्छ । कपाल आए पनि पातलो र ढिलो आउने हुनसक्छ ।

भ्रम : कस्मेटिक क्रिम वा छालासम्बन्धी गरिने सौन्दर्य उपचार प्रक्रियाले कालान्तरमा अनुहार बिगार्छ ।

सत्य : धेरैमा कस्मेटिक क्रिम र सौन्दर्यका लागि गरिने पिलिङ, बोटक्स, फेसियलहरु गर्न छाडेपछि अनुहार विभिन्न उपचारले भविष्यमा बिगार्छ भन्ने सोच छ । जसमा कुनै सत्यता छैन । यदि चिकित्सकको परामर्श लिएर अनुहारअनुसारको उत्पादन लगाइरहनुभएको छ, समस्या भए उपचार पनि निगरानीमा भएको छ भने छाला बिग्रिने सम्भावना न्यून हुन्छ ।

भ्रम : सनस्क्रिन लगाउनेहरुमा भिटामिन डीको कमी हुन्छ ।

सत्य : सनस्क्रिन लगाएर बस्दा घामको किरणलाई छेक्ने कारण भिटामिन डी पाउँदैन भन्ने ठूलो भ्रम छ । सनस्क्रिनले सूर्यको प्रकाशबाट प्राप्त हुने भिटामिन डीलाई छेक्दैन । हाम्रो शरीरको अनुहारदेखि खुट्टासम्म क्रिम लगाएको वा नलगाएको जुनसुकै १५ देखि २० प्रतिशत भाग बिहान र बेलुकीको २० मिनेटसम्म घाममा पर्‍यो भने पर्याप्त भिटामिन डी ग्रहण हुन्छ । घाम नै नलाग्ने देशहरुमा भने घरभित्र बढी बसेर भिटामिन डीको कमी हुनसक्छ ।

भ्रम : बालबालिकाले सनस्क्रिन लगाउनुपर्दैन ।

सत्य : यो भनाइमा पनि पूर्ण सत्यता छैन । ६ महिनाभन्दा माथिका बच्चामा सनस्क्रिन लगाउनु हुँदैन । तर त्यसभन्दामाथिका बालबालिका खेल्ने कुद्ने र पढ्ने उमेरका हुन्छन् । जसकारण उनीहरुको छालाको सुरक्षाका लागि सनस्क्रिन जरुरी छ ।

६ महिना देखि १२ वर्ष उमेर समूहले एलर्जी र विकिरणको हानि कम गराउने भौतिक सनस्क्रिन लगाउन सक्छन् । जसमा जिंक अक्साइड र टिटानियम डाइअक्साइड जस्ता तत्व हुन्छन् । जसले घामबाट आएका विकिरणलाई प्रतिविम्बित गरी छालाको सतहबाट छिर्न दिंदैन ।

छालारोग डा. मोहन भुसाल स्वास्थ्य
डा. मोहन भुसाल
लेखक
डा. मोहन भुसाल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । डा. भुसालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३०७१ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

शिरोधारा के हो, किन गरिन्छ ?

शिरोधारा के हो, किन गरिन्छ ?