+
+

प्रतिपक्ष दलका नेताहरुलाई भेट्दा आत्तिन आवश्यक छैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १६:३५

२० जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एकीकृत समाजवादी पनि नेपाली राजनीतिको प्रमुख घटक भएकाले सबै नेतासँग छलफल चल्नु सामान्य भएको बताए । नेपाल बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका प्रतिपक्ष दलका नेताहरुको बैठकमा सहभागी भएका थिए ।

नेपालले विपक्षी दलका नेतासँगको भेटवार्ताका विषयमा सरकारमा कुनै असमझदारी नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए । ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौं । सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौं’ उनले भने, ‘अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यक छैन ।’

विपक्षी दलका नेतासँगको भेटवार्ताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सकारात्मक नै रहेको नेता नेपालको दाबी छ । ‘उहाँ (प्रधानमन्त्री)ले ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेन्ट फाइनल नगरिदिनुहोला भन्नुभयो’ उनले भने, ‘एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुई वटा नाउमा खुट्टा राखेर हिंड्दैनौं ।’

यद्यपि, सरकारमा बस्ने कि नबस्ने भन्नेमा अन्योल रहेको नेता नेपालले बताए । उनले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको पनि सुनाए । ‘सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकपछि टुंगो लगाउने नै छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?