+
+

किम्फ सम्पन्न, कुन विधामा कुन फिल्मले अवार्ड जिते ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते २०:०४

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करण आइतबार सम्पन्न भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको महोत्सवमा क्लोजिङ फिल्मको रुपमा टासी ल्हाम्जोम निर्देशित ‘नो मोनास्ट्री नो भिलेज’ थियो ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए ।

‘इकोज अफ चेन्ज’ अर्थात् ’परिवर्तनको प्रतिध्वनि’ नारा बोकेको किम्फमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म देखाइयो । काठमाडौं महानगरपालिका सह-आयोजक रहेको महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैंगिकतालगायत विविधताले भरिएका फिल्म तथा वृत्तचित्र प्रदर्शन भए ।

महोत्सवमा नेपाल-दक्षिण कोरिया मित्रताको ५० औँ वर्षगाँठको अवसर पारेर दुई देशबीच समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्मको विशेष प्रदर्शन भएको थियो ।

नेपाल पर्यटन बोर्ड प्रवर्धक रहेको महोत्सवमा फिल्म प्रदर्शनबाहेक अन्तक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनजस्ता रचनात्मक गतिविधिले महोत्सवलाई रोचक र ज्ञानवद्र्धक बनाउन सघाएको अक्ष्यक्ष रम्यता लिम्बुले बताइन् ।

उनले भनिन्, ‘विभिन्न समूहसँग सहकार्य र संयोजन गर्ने उद्देश्यले भएका यस्ता गतिविधिमा फिल्म निर्माता, फिल्मप्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थिति रह्यो ।

स्टोरीटेलर्ससँगको सहकार्यमा ’माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ शीर्षकको प्रस्तुति, अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना गरिएको थियो ।

महोत्सवमा नेपाल, भुटान, दक्षिण कोरिया, भारतलगायत देशका फिल्ममेकर समेत दर्शकका रुपमा सहभागी थिए । निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) यसपटक निर्णायक मण्डलको रुपमा थिए ।

निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येबाट विजेता छनौट गरे ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरियो ।

नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपैयाँ प्राप्त प्रदान गरियो । दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गर्‍यो ।

किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेसनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ)को सदस्य पनि हो । उक्त संस्थामा २० देशका २८ संस्था सदस्य छन् । यी हुन् विजेता सूची :

नेपाल पानारोमा

स्पेसल मेन्सन्स : द मोंक एन्ड द रेबेल र हावाम्यान

जोइन्ट विनरः दुबिधा र नेपाली फिक्सन

नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री

स्पेसल मेन्सन्सः रोङफामु र वाग्गिङ टेल

विजेता : धेय ड्रिम्स

इन्टरनेसनल सर्ट फिक्सन

स्पेसल मेन्सन्स : नथिङ ग्रोज अन्डर द पाइन ट्रि र स्प्लिट इन्ड्स

विजेता : एड्जस्टेमन्ट

इन्टरनेसनल फिचर फिक्सन

अ चाइल्डलेस भिल्लेज

इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ

स्पेसन मेन्सन्स : इटर्नल फ्लेम र फरवार्ड

विजेता : क्लाइम्बिङ फर गोल्ड

फिचर डकुमेन्ट्रीतर्फ

स्पेसल मेन्सन्स : इन टु द हार्ट अफ माउन्टेन, यम्नुस्काः द र्‍याग्ड एज, क्विनडम र अगेन्स्ट द टाइड

विजेता : रिओ रोजो

अडियन्स च्वाइस अवार्ड : म अलप हुन चाहन्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?