+
+

‘लण्डन टु पेरिस’बारे निर्देशक लामिछाने : ‘गाउँको कथामात्र कथा होइन’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते २०:२३

काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित रोमान्टिक ड्रामा ‘लण्डन टु पेरिस’ प्रदर्शन तयारीमा छ । अघिल्ला फिल्मलाई ग्रामिण कथावस्तुमा बनाएका यी पोखरेली निर्देशकले यसपटक भने डायस्पोराको कथा उठाएका छन् ।

लण्डनमा छायांकन गरिएको यो फिल्म रोमान्टिक-रोड-ड्रामा पनि हो जसको कथावस्तु यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ । ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका लामिछानेले ‘लण्डन टु पेरिस’मा लण्डनको परिवेश उतारेका छन् ।

फिल्मको छायांकन लण्डनजस्तो वैभवपूर्ण थलोमा गरिएपनि यसको कथावस्तु भने नेपाली परिवेशकै रहेको तर्क उनको छ । ‘लण्डन टु पेरिस हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली युवाको कथा हो’ अनलाइनखबरसँग उनले भने ।

उनले गाउँको कथा मात्र कथा हुने ठम्याइबाट बाहिर आउन जरुरी रहेको बताए । ‘हामी शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौं । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो’, उनले भने, ‘मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो सिनेमा बनाएका हौं ।’

फिल्मका पात्रसँग दर्शक जोडिने उनी बताउँछन् । ‘पात्रसँग दर्शकले आफूलाई मजाले जोडिएको पाउनुहुनेछ । यो फिल्म अलिकति लार्जर देन लाइफ छ’ उनले भने, ‘अहिले हामी एउटै फ्लेभरका फिल्म हेरेर दिक्क भइसकेका छौं । त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ’, लामिछाने भन्छन् ।

समाज, संस्कृति, भूगोलसँग जोडिएर काम गर्दा आनन्द हुने उनको बुझाई छ । अझ राम्रो कलाकार र स्क्रिप्ट भएमा त्यसले आफूलाई खुलेर काम गराउने वातावरण दिने उनको बुझाई छ ।

‘राम्रो कलाकार र स्क्रिप्ट छ भने त्यसले मलाई चुनौती वा जोखिम दिँदैन । सही समयमा सही कास्टिङ गर्न सकियो भने चुनौति र जोखिम केही हुँदैन’, लामिछानेको बुझाई छ ।

कथानुसार नै साम्राज्ञी शाहलाई अनुबन्धित गर्न समय लागेको उनले बताए । ‘कथा अनुसार साम्राज्ञी फिट थिइन् । त्यसकारण केही समय पर्खिएर भए पनि हामीले उनलाई लियौं । कथामा प्रेम र धोका दुवै छ, तर त्यसको प्रस्तुतिकरण फरक छ’, उनी भन्छन् ।

पटकथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञीसहित निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । यो फिल्म जेठ २५ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?