+
+

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते ७:४६

२१ जेठ, हुम्ला । नेपाल ओलम्पियन एशोसिएसनले हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ ।

हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए ।

नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए ।

विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गर्दा पनि निरन्तर लगावका कारणले आफूले सफलता हासिल गरेको अनुभव सुनाए ।

त्यसैगरी ओलम्पियन देवु थापाले अभिभावकलाई विश्वास दिलाउन सके हरेक किशोर किशोरीलाई खेलतर्फ लाग्न कठिन नभएको बताइन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हरेक बालबालिका शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सानैदेखि खेलकुदमा अभिरुचि दिलाउन शिक्षक तथा अभिभावकलाई आग्रह गरे ।

तेक्वान्दोकी राष्ट्रिय खेलाडी सीता तामाङले जुम्बा प्रदर्शन गर्नुका साथै ओलम्पियन देवुले आत्मरक्षासम्बन्धि प्रशिक्षण गराएका थिए ।

नेपालकै अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्लामा महत्वपूर्ण कार्यक्रम गरेकोमा कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले नेपाल ओलम्पियन एसोसियसनलाई निरन्तर सघाउने प्रतिबद्धता जनाए ।

स्कुले किशोरकिशोरीलाई सानै उमेरदेखि खेलकुदमा अभिरुचि जगाउन नेपाल ओलम्पियन एशोसिएसनले स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गरेको हो ।

यसैक्रमा एशोसिएसनले कार्यक्रममा भाग लिएका विद्यालयलाई झण्डै एक लाख बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ ।

एशोसिएसनका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विद्यालय प्रतिनिधिलाई खेलसामग्री हस्तान्तरण गरेका थिए ।

महासचिव भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा आभार व्यक्त गरे ।

हुम्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले स्वागत गर्ने क्रममा ओलम्पियन खेलाडीहरुको अनुभव सुन्न र सुनाउन पाउनु हुम्लावासीको सौभाग्य भएको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?