+
+

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते ८:४९

२१ जेठ, काठमाडौं । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन ।

सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।

बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।

गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो ।

आज बिहानको भूकम्पको धक्कालाई ५.९ मान दिइएको छ । यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।

भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको जापानका सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्य सार्वजनिक यातायातका सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।

जापानमा भूकम्पले धेरै क्षति किन हुँदैन ?

जापानमा भूकम्पको धक्का महसुस हुनु सामान्य मानिन्छ । सन् १९२३ मा जापानको राजधानी टोक्यो शहरमा भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो । बीबीसीका अनुसार त्यतिबेला १ लाख ४० हजार जनाको ज्यान गएको थियो भने टोक्यो शहर भग्नावशेष बनेको थियो ।

त्यसपछि जापानमा भूकम्प प्रतिरोधी संरचनामा जोड दिइयो । सन् २०११ को भूकम्पमा अग्ला गगनचुम्बी भवनहरू हल्लिए पनि भत्किएका थिएनन् । त्यतिबेला भूकम्पले नभई सुनामीका कारण धेरैको ज्यान गएको थियो ।

बीबीसीका अनुसार जापानमा नयाँ भवन निर्माण गर्दा जगमा नै ‘साइस्मिक आइसोलेशन’ भनिने भूकम्प प्रतिरोधी प्रविधि जडान गरिने भएकाले भूकम्पले धेरै क्षति पुर्‍याउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?