+
+

३ जुन : हिमाल आरोहणको प्रस्थानबिन्दु

‘आरोहणको जेठो हिमाल’का रुपमा चिनिएको अन्नपूर्ण–१ (प्रथम)मा ७४ वर्षसम्मको अवधिमा हालसम्म ४०७ जनाले मात्रै सफल आरोहण गरेका छन् ।

विकास रोकामगर विकास रोकामगर
२०८१ जेठ २१ गते ११:३२

२१ जेठ, काठमाडौं । फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण–१ (प्रथम) हिमालको सफल आरोहण गरेको आज ७४ वर्ष पुगेको छ । हर्जोगले उनका सहयात्री लुई लिचेनेलले आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलोपटक आरोहण गरेका थिए ।

अन्नपूर्ण पहिलो (८०९१ मिटर)को सफल आरोहणपछिमात्रै विश्वमा अन्य ८ हजार मिटर उचाइका हिमाल आरोहण सुरु भएको थियो । त्यसकारण पनि आरोहणसम्बन्धी सरोकारवालाहरु जुन ३ लाई नै साहसिक पर्वतारोहणको प्रस्थानबिन्दु मान्दछन् ।

‘८ हजार मिटर उचाइभन्दा माथिको हिमालमा मानव पाइला नै नपुगेको अवस्थामा हर्जोग चढेर अन्नपूर्ण किताब नै लेखेका थिए’, नेपाल पर्वतारोहण संघ, गण्डकीका सचिव मनशान्त घिमिरे भन्छन्, ‘त्यसैलाई अहिलेको पर्वतारोहणको पहिलो आधार मान्न सकिन्छ ।’

अन्नपूर्णको आरोहण भएको ३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा मात्रै सर्वोच्च शिखर सगरमाथा (तत्कालीन उचाइ ८,८४८ मिटर)मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका थिए ।

आरोहणको हिसाबमा जेठो हिमाल अन्नपूर्ण भए पनि आरोहीको पहिलो रोजाइमा भने पर्दैन । सन् २०२३ को तथ्यांकअनुसार हालसम्म ४०७ जना आरोहीले मात्रै आरोहण गरेका छन् । जबकी अन्नपूर्णभन्दा पछि आरोहण अनुमति पाएका अन्य हिमालको तुलनामा यो एकदमै कम हो ।

अन्नपूर्ण हिमाल विश्वका ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये १०औं नम्बरमा पर्छ । ‘अन्नपूर्णलाई किलर माउन्टेनको रुपमा चर्चा गरियो । प्रतिशतको हिसाबले हरेक सय जनामा ३३ जनाले ज्यान गुमाएका छन्’, नेपाल पर्वतारोहण संघ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा भन्छन्, ‘एकदमै जोखिम मोल्ने र ज्यानकै प्रवाह नगर्नेले मात्रै यो हिमाल आँट्छन् ।’

शर्माका अनुसार अन्नपूर्ण तुलनात्मक रुपमा अन्य हिमालभन्दा बढी जोखिमपूर्ण छ । सगरमाथालगायत हिमालमा आरोहणको सिजनमा पहिल्यै डोरी तयारी अवस्थामा बाँधिएको हुन्छ । ‘तर, अन्नपूर्णमा जो आरोही हो, त्यही दलले आफैं डोरी बाँध्नुपर्छ । सुविधा पनि छैन र एकदमै खर्चिलो भएर पनि सबै आरोहीहरु रुचि देखाउँदैनन्’, उनले भने ।

प्रचारप्रसार हुन सकेन

अन्नपूर्णलाई स्थानीयको जीवनसँग जोड्न नसक्दा त्यसले गति लिन नसकेको शर्माको बुझाइ छ । ‘आरोहणले फेंदमा रहेका जनतालाई के दियो भन्ने हुन्छ । उनीहरुले अपनत्व लिनै सकेनन्,’ उनले भने, ‘हामी सरोकारवाला र सरकारले पनि त्यसमा ध्यान दिन सकेनौं । यो स्वीकार्नुपर्छ ।’

अन्नपूर्ण प्रथम हिमाल चढेर कीर्तिमान बनाएकी पूर्णिमा श्रेष्ठले पनि अन्नपूर्ण आरोहण अन्य हिमालको तुलनामा जोखिमयुक्त रहेको अनुभव सुनाउँछिन् । ‘सगरमाथालाई आफ्नो उचाइ नै आरोही तान्न प्लस प्वाइन्ट भइहाल्यो । तर, उस्तै उचाइका मनास्लु र अन्नपूर्णमा पनि धेरै फरक छ । मनास्लुमा पनि सगरमाथाजत्तिकै आरोहीको चार्म छ’, उनी भछिन्, ‘यो भनेको अन्नपूर्ण बढी जोखिम र गाह्रो भएर नै हो ।’

अन्नपूर्ण आरोहणलाई तीनै तहका सरकारले पनि प्रचारप्रसारमा ध्यान दिन नसकेको फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले सुनाइन् । ‘अहिले पनि धेरैलाई अन्नपूर्णमा चढ्न पाइन्छ भन्ने थाहा छैन । मैले पनि धेरैपछि मात्रै थाहा पाएकी हुँ’, उनले भनिन्, ‘सरकारले नै अन्नपूर्णको जति प्रचार गर्नुपथ्र्यो, नगरेको हो कि भन्ने पनि लाग्छ ।’

नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत जिनेश सिन्दुराकार सगरमाथा विश्वकै अग्लो शिखर भएकाले आरोहीको संख्या बढी हुनु स्वाभाविक ठान्छन् । उनले सगरमाथा आफ्नो उचाइका कारण विश्वमै परिचित भएकाले अन्य हिमाल आरोहणको तुलना गर्न नसकिने सुनाउँछन् ।

‘संसारको अग्लो चुचुरोमा पुगूँ भन्ने सबैको चाहना हुन्छ । त्यही भएर पनि सगरमाथामा सबैको आँखा लाग्नु स्वाभाविक हो’, उनी भन्छन्, ‘सगरमाथालाई अन्नपूर्ण हिमालसहित अन्य साना हिमालसँग तुलना गर्न मिल्दैन भन्ने लाग्छ ।’

पर्यटन विभागका अनुसार अन्नपूर्ण प्रथममा सन् २०२२ मा सबैभन्दा धेरै ३० जनाले सफल आरोहण गरेका थिए । आवदेन दिएकामध्ये १८ जना चुुचुरोमा पुग्न सफल भएनन् । ‘अटम सिजन (शरद ऋतु)पछिको तथ्यांक संकलन गरिरहेका छौं । प्रमाणपत्र लिन आउनेका आधारमा हामीले तथ्यांक राख्ने हुँदा केही ढिलाइ हुन्छ’, पर्यटन विभागका निर्देशक राकेश गुरुङले भने ।

सबैभन्दा धेरै आरोहण सगरमाथामा

०७८ वैशाख २ गते पहिलो पटक नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको टोलीले अन्नपूर्णको सफल आरोहण गरेको थियो । गएको वैशाख २ गते कतार राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले कीर्तिमानी आरोही निर्मल पूर्जाहरुसँगै अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

‘अहिले त अन्नपूर्ण चढ्ने भनेको कुनै न कुनै कीर्तिमान बनाउनमात्रै चढ्ने हो, भन्ने जस्तो भइसक्यो । आरोहीहरुले पनि त्यसरी नै बुझ्न थाले’, शर्मा भन्छन्, ‘विश्वका ८ हजार मिटर अग्ला हिमाल चढ्नेहरुले मात्रै अन्नपूर्ण सम्झिन्छन् । अरुबेला यसको प्रचारप्रसार पनि हुन सकेन ।’

नेपालमा भएका ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा बढी आरोहीले आरोहण गरेका छन् । पर्यटन बोर्डको सन् २०२३ को तथ्यांकअनुसार सगरमाथामा ७ हजा ६२६ जना चढेका छन् । ‘यो सिजनमा ६ सय जना चढेको प्रारम्भिक अनुमान गरेका छौं’, विभागका निर्देशक गुरुङले भने ।

त्यस्तै, ८ हजार मिटरमाथिका हिमालमध्ये कञ्चनजंगामा ५ सय ५१, ल्होत्सेमा १ हजार १२१, येलुङकाङमा ५३, मकालुमा ६ सय ७३ जना सफल आरोहण गरेका छन् । चोयुमा १४, धौलागिरी हिमालमा ६ सय ३८ र मनास्लु २ हजार ७१६ जना चढेका छन् ।

अन्नपूर्ण आरोहण सम्झनामा दिवस

८ हजार मिटर उचाइभन्दा माथि मानव पाइला पुगेको दिनको सम्झनामा प्रत्येक वर्ष जुन ३ लाई अन्नपूर्ण ‘डे’ का रुपमा मनाउन थालिएको हो । अन्नपूर्ण दिवसको सम्झनामा गण्डकी प्रदेशमा आज विभिन्न कार्यक्रम गरिँदै आइएको छ ।

यही अन्नपूर्ण दिवसको पूर्वसन्ध्यामा आइतबार नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा विभिन्न ९ देशका राजदूतले माछापुच्छ्रे गाउँपालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म पदयात्रा गरे ।

पदयात्रामा अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत, दूतावासका उच्च अधिकारीसहित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिको अन्नपूर्ण डेको अवसरमा बर्सेनि म्याराथन प्रतियोगिता गर्दै आएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिता आयोजना गर्छ ।

अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नै नामाकरण गरेको छ । गण्डकीमा मात्रै अन्नपूर्णको नामबाट २ वटा पालिका छन् ।

 

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?